२७ वर्षअघिको भ्रष्टाचार ब्यूँत्याउँदै अख्तियार
२०५१ सालको बैशाख ११ गते तनहुँस्थित शुक्लागण्डकी नगरपालिका १६ को हिमाली प्राविको विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर सार्वजनिक जग्गा बिक्री गरिदियो ।
साविक ढोरफिर्दी गाविसमा रहेको जग्गा विभिन्न ब्यक्तिलाई घरसारको कागज बनाइ गैरकानुनी रुपमा जग्गा बेचेपछि समितिविरुद्ध उजुरी पर्यो ।
समितिका तत्कालीन अध्यक्ष यामबहादुर बानिया, सदस्यसचिव (प्रधानाध्यापक) यामबहादुर ठकुरीसहित ७ जनाविरुद्ध उजुरी परेको थियो । समितिका सदस्यहरु घनश्याम बानिया, हरि कुमारी महत, धुनबहादुर पुलामी, ज्ञानबहादुर बानिया र खड्कबहादुर बानियासहितले १ लाख ६९ हजार रुपैयाँ लिएर सरकारी जग्गा भोगचलन गर्ने गराउने गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
बिक्री भएको जग्गाको १ लाख ६९ हजार बिगो कायम गरेर उनीहरुविरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गरिएको हो । आरोपितमध्ये यामबहादुर, धुनबहादुर, ज्ञानबहादुर र खड्कबहादुरको मृत्यु भइसकेको छ । मृत्यु भए पनि उनीहरुले भ्रष्टाचार गरेको देखिएकोले उनीहरुसँग मागदाबी लिइएको छ ।
सार्वजनिक जग्गालाई घरसारको कागजातहरु बनाइ आफैंले घडेरी नम्बर कायम गरेर भोगचलन गरेको आरोपमा खरिद गर्नेहरुलाई समेत अख्तियारले आरोपी बनाएको छ । सन्तबहादुर सिंजालीमगर, तिलुदेवी बराल, डोलराज आचार्य, डिलबहादुर आले, विष्णुमाया थापा, विष्णुप्रसाद लम्साल, शरणबहादुर बिक, बलराम बानिया, बुद्धिमाया बिक, बाबुराम बानिया, लोकबहादुर माकिम, पूर्ण बहादुर बिक र धनबहादुर बिकले विद्यालय व्यवस्थापन समितिलाई पैसा दिएर जग्गा भोगचलन गरेका थिए ।
उनीहरुलाई मतियारको रुपमा कारबाही माग गरिएको छ । भोगचलन गरिरहेकाहरुबाट जग्गाको भोग हटाइ जफत गर्न माग गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । भोगचलन गरेकामध्ये लोकबहादुर, डोलराज र धनबहादुरको मृत्यु भैसकेको छ ।
प्रतिक्रिया