त्रिवि केन्द्रिय पुस्तकालय निर्माणका लागि भूमिपूजन समारोह

त्रिवि केन्द्रिय पुस्तकालय निर्माणका लागि भूमिपूजन समारोह



त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालयको निर्माणका लागि भूमिपूजन गरिएको छ । मित्रराष्ट्र भारतको सहयोगमा निर्माण हुन लागेको पुस्तकालयको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

भारत सरकारको ५० मिलियन अमेरिकी डलर अनुदानमा सो पुस्तकालयको निर्माण हुने बताइएको छ । शिलान्यास समारोहमा त्रिभुवन विश्वविद्यालयका वरिष्ठ अधिकारी, दूतावासका प्रतिनिधि, केन्द्रीय परियोजना कार्यान्वयन इकाइलगायत अन्य सरोकारवालाको उपस्थिति थियो ।

उक्त परियोजनाको कार्यान्वयनका लागि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र भारतीय राजदूतावासबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । कूल ३१ करोड ६९ लाखको लागतमा नेपाल सरकारले निर्धारण गरेको भूकम्पप्रतिरोधी पुनर्निर्माण मापदण्डअनुरुप उक्त पुस्तकालयको निर्माण हुनेछ । यसरी निर्माण हुने नयाँ तीनतल्ले भवनमा आधुनिक सुविधालगायत अतिरिक्त सुविधासहितको विभिन्न प्राज्ञिक शाखाहरू हुनेछन् । भूकम्पप्रतिरोधी पुनर्निर्माणको क्षेत्रमा काम गर्ने भारतको प्रमुख संस्था केन्द्रिय भवन अनुसन्धान संस्थान (सिबीआरआइ) ले पुस्तकालयको निर्माणका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ ।

ज्ञातव्य छ, भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले नेपाल सरकारलाई २५० मिलियन अमेरिकी डलर अनुदान प्रदान गर्ने प्रतिबद्धता गरेको छ । सो रकममध्ये ५० मिलियन अमेरिकी डलर शिक्षाको क्षेत्रमा खर्च हुनेछ । हाल नेपालका आठ जिल्लामा ७१ वटा शैक्षिक संस्थाको निर्माण भइरहेको छ जसमध्ये १४ वटाको निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ भने बाँकीको निर्माण कार्य अघि बढिरहेको जनाएइएको छ ।

हालको त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालय भवनको सन् १९६७ मा भारत सरकारको सहयोगमा निर्माण भएको हो । त्रिभुवन विश्वविद्यालयस्थित गान्धी भवनको निर्माण पनि भारत सरकारको सहयोगमा सन् १९७३ मा भएको हो ।

कार्यक्रममा बोल्दै राजदूत क्वात्राले यो परियोजना भारत र नेपालबीचको बहुपक्षीय एवम् बलियो विकास साझेदारीको प्रमाण भएको बताउनुभयो । वहाँले नेपालको सामाजिक एवम् आर्थिक विकासका लागि नेपाल सरकारसँग भारतले निरन्तर हातेमालो गर्ने जानकारी दिनुभयो । यस्तै, मन्त्री पौडेलले नेपालको शैक्षिक पूर्वाधार विकासमा भारत सरकारले पु¥याएको सहयोगका लागि आभार प्रकट गर्नुभयो ।