किन अस्वीकार भयो न्यायाधीश पद !?

किन अस्वीकार भयो न्यायाधीश पद !?


सामान्यतया ‘इगो’ले मानिसलाई उन्नति-प्रगतितर्फ लैजाने विश्वास गरिन्छ, तर ‘इगो’ले नै कैयन मानिस अवसरहरूबाट अलग पनि भइरहेका हुन्छन् । सर्वोच्च अदालतका मूख्य रजिष्ट्रार लालबहादुर कुँवर पनि ‘इगो’कै कारण उच्च अदालतको न्यायाधीश पद परित्याग गर्ने निर्णयमा पुगेका छन् । गत साता न्यायपरिषद्को निर्णयअनुसार उच्च अदालतको न्यायाधीश नियुक्त लालबहादुर कुँवरले न्यायाधीश पदको शपथ लिन अस्वीकार गर्दै आफू मूख्य रजिष्ट्रारकै रूपमा पूरा कार्यकाल बिताउने बताएका छन् ।

प्राप्त जानकारीअनुसार कुँवरले उच्च अदालतको मूख्य न्यायाधीश पाउँदा मात्र मूख्य रजिष्ट्रार छोड्ने जानकारी गराएका छन् । तर अहिले नै कुँवरलाई मूख्य न्यायाधीश बनाउन सकिने स्थिति छैन । यसअघि रामकृष्ण तिमिल्सिनाले पनि मूख्य न्यायाधीश पाए मात्र जाने भन्दै पूरा कार्यकाल रजिष्ट्रारका रूपमा बिताएका थिए । हाल उनी कानून कलेज सञ्चालन गरेर बसिरहेका छन् र, केही अघि मात्र उनलाई सरकारले समावेशी आयोगको अध्यक्ष बनाइदिएको छ । तर तत्कालिक मूख्य रजिष्ट्रार राजन भट्टराईले भने उच्च अदालतको न्यायाधीश पद ग्रहण गर्दै रजिष्ट्रार पद त्यागेका थिए । तथापि मूख्य रजिष्ट्रार रहेका नहकुल सुवेदी र नृपध्वज निरौलालाई भने न्यायपरिषदले मूख्य न्यायाधीश नै बनाइदिएको थियो ।

सुवेदी उच्चको मूख्य न्यायाधीश हुँदै सर्वोच्च अदालतको न्यायाधीश पनि बनिसकेका छन् । नृपध्वज निरौला उच्च अदालत पाटनको मूख्य न्यायाधीश रहेकोमा अहिले उनको काजफिर्ता गरेर डोटी उच्च अदालतमा पठाइएको छ । लालबहादुर कुँवरले पनि नहकुल सुवेदी र नृपध्वज निरौलाझैँ मूख्य रजिष्ट्रारबाट मूख्य न्यायाधीशमा नियुक्त हुने चाहेका थिए । तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएर उनी निलम्बनमा रहेका बेला भएको न्यायपरिषद बैठकले कुँवरलाई मूख्य न्यायाधीश बनाउन चाहेन । त्यसैले कुँवरले पनि न्यायाधीश पद अस्वीकार गरिदिएका छन् ।