चुनावी गठबन्धनलाई लिएर काङ्ग्रेसमा आन्तरिक विवाद

चुनावी गठबन्धनलाई लिएर काङ्ग्रेसमा आन्तरिक विवाद


गठबन्धन बनाएर चुनाव लडेपछि सरकार पनि ‘गठबन्धन’कै बन्ने र छैठौँ पटक प्रधानमन्त्री हुने अवसर प्राप्त हुने आशा देउवाको छ । त्यसैले पार्टीका केही नेताहरूको चरम असहमतिका बाबजुद देउवा वर्तमान सत्ता गठबन्धनका घटकहरूबीच नै चुनावी तालमेल गर्ने कुरामा दृढ सङ्कल्पित छन् ।

दुई थरी नेताका अलग-अलग दाउ

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको काङ्ग्रेस पार्टीभित्र कम्युनिष्ट घटकहरूसँग चुनावी गठबन्धन गर्ने या नगर्ने भन्ने विषयलाई लिएर तनाव र विवाद उत्पन्न भएको छ । देउवाविरोधी कित्ताको नेतृत्व यतिबेला उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाले सम्हालिरहेका छन् । र, उनीहरूले काङ्ग्रेस कसैसँग चुनावी तालमेल नगरिकन एक्लै निर्वाचन लड्ने उद्घोष गरिरहेका छन् ।

चुनावी गठबन्धन गर्दा काङ्ग्रेसलाई पनि लाभ मिल्ने र त्यस्तो लाभको एकलौटी हकदार शेरबहादुर देउवा बन्न सक्ने चिन्ताले गुरुङ र थापा चुनावी गठबन्धनका विरुद्ध उभिएको बताइन्छ । गुरुङ र थापाहरूले देउवाको शक्ति र साख बढ्ने कुनै पनि कदममा सहयोगी बन्न नखोज्ने प्रवृत्ति दर्शाउँदै आएका छन् । गठबन्धन संस्कृति कायम रहेसम्म आफ्नो पालो नआउने बुझाइ उनीहरूको छ । काङ्ग्रेसले एक्लै बहुमत हाशील गर्न सकेको अवस्थामा मात्र आफ्नो भूमिका बढ्ने र गठबन्धन संस्कृति रहँदासम्म शेरबहादुर देउवाहरू नै हाबी भइरहने भएकोले थापा र गुरुङहरू चुनावी गठबन्धनका विरुद्ध उभिएका हुन् ।

प्रचण्ड र माधव नेपालको सहयोग लिएर आगामी संसदीय निर्वाचनमा कांग्रेसलाई संसद्को ठूलो दल बनाउने स्वप्न यात्रामा शेरबहादुर देउवा छन् । एक्लै चुनावी मैदानमा जाँदा काङ्ग्रेसले गत निर्वाचनमा भन्दा दोब्बर स्थानमा विजय हाशील गरे पनि कुल छयालीस स्थानबाट उकालो लाग्ने विश्वासमा देउवा छैनन् । जबकि नेकपा एमाले एक्लै चुनावी मैदानमा ओर्लिए पनि पचपन्नदेखि सत्तरी स्थानमा विजयी बन्ने अवस्था छ ।

काङ्ग्रेसलाई सबैभन्दा ठूलो पार्टीको हैसियतमा पुऱ्याउन कम मतान्तरबाट एमाले विजयी बनेका र बन्ने सम्भावना रहेका निर्वाचन क्षेत्रहरूको पहिचान गरी त्यस्ता निर्वाचन क्षेत्रहरूमा प्रचण्ड र माधव नेपालसँग तालमेल मिलाउँदा अधिकाङ्श स्थानमा काङ्ग्रेसका उम्मेदवार विजयी बन्ने विश्वासमा देउवा रहेका छन् । अर्कोतिर प्रचण्ड र माधव नेपालसँग आफूले चुनावी गठबन्धन नगरे उनीहरूसँग नेकपा एमालेले गर्ने त्रास पनि देउवामा रहेको छ । गत संसदीय निर्वाचन (२०७४ मङ्सिर)मा झैँ सबै कम्युनिष्ट घटकहरूबीच चुनावी तालमेल भयो भने उनीहरू पुनः संसद्को बहुमतमा पुग्ने निश्चित मानिन्छ । उनीहरूबीच त्यस प्रकारको चुनावी गठबन्धन बन्न नदिन पनि काङ्ग्रेसले प्रचण्ड र माधवलाई अल्झाएर राख्न सक्नुपर्छ भन्ने बुझाइ देउवामा रहेको भेटिन्छ ।

देश निर्माण र समृद्धिका विषयमा शेरबहादुर देउवा अनभिज्ञ र दूरदृष्टिविहीन भए पनि आफ्नो लाभ कहाँनेर छ भन्ने विषयमा उनी सर्वाधिक सचेत छन् र, देउवाले आफ्नो हित कम्युनिष्ट घटक (प्रचण्ड र माधव) हरूसँगको गठबन्धनमा देखेका छन् । त्यसैले जीवनभर हँसिया-हथौडा अङ्कित झण्डाका विरुद्ध सङ्घर्ष गर्दै आएका काङ्ग्रेससमर्थकहरू आगामी निर्वाचनमा पनि कम्युनिष्टकै चुनाव चिह्नमा मतदान गर्न बाध्य हुने देखिएको छ ।

आगामी संसदीय निर्वाचनमा प्रचण्ड, माधव र उपेन्द्र यादवका समूहबीच चुनावी गठबन्धन बन्ने प्रायः निश्चित छ । उक्त गठबन्धनसँग काङ्ग्रेसले तालमेल गर्दा मात्र एमालेलाई नराम्रोसँग परास्त गर्न सकिने विश्वास देउवाको हो । त्यसरी गठबन्धन बनाएर चुनाव लडेपछि सरकार पनि सोही गठबन्धनकै बन्ने र, छैठौँ पटक प्रधानमन्त्री हुने अवसर प्राप्त हुने आशा पनि देउवाको छ । त्यसैले पार्टीका केही नेताहरूको चरम असहमतिका बाबजुद देउवा वर्तमान सत्ता गठबन्धनका घटकहरूबीच नै चुनावी तालमेल गर्ने कुरामा दृढ सङ्कल्पित छन् ।

संसदीय निर्वाचनमा चुनावी तालमेल गर्न पनि स्थानीय निर्वाचनदेखि नै त्यसको अभ्यास हुनुपर्ने अवस्था छ र, खासगरी प्रचण्ड र माधव स्थानीय निर्वाचनदेखि नै काङ्ग्रेससँग चुनावी तालमेल गर्ने मानसिकतामा छन् । माधव नेपालले स्थानीय, प्रदेश र केन्द्र (संसद्) को निर्वाचन एकैपटक गर्ने धारणा राख्दै आएका छन् । उनले शीघ्र निर्वाचन (Early election) गरेर भए पनि तीनवटै तहको निर्वाचन एकैपटकमा सम्पन्न गर्नु उपयुक्त हुने सुझाव प्रधानमन्त्री देउवा र प्रचण्डलाई दिइरहेका छन् । कदाचित शीघ्र निर्वाचनको लागि अहिले परिस्थिति अनुकुल बन्न सकेन भने आगामी मङ्सिरमा एकैपटक तीन तहको निर्वाचन गराउने भन्ने माधवको भनाइ हो । माधव नेपालको भनाइमा प्रचण्डको समेत सहमति रहेको बताइएको छ ।

देश निर्माण र समृद्धिका विषयमा शेरबहादुर देउवा अनभिज्ञ र दूरदृष्टिविहीन भए पनि आफ्नो लाभ कहाँनेर छ भन्ने विषयमा उनी सर्वाधिक सचेत छन् र, देउवाले आफ्नो हित कम्युनिष्ट घटक (प्रचण्ड र माधव) हरूसँगको गठबन्धनमा देखेका छन् । त्यसैले जीवनभर हँसिया-हथौडा अङ्कित झण्डाका विरुद्ध सङ्घर्ष गर्दै आएका काङ्ग्रेससमर्थकहरू आगामी निर्वाचनमा पनि कम्युनिष्टकै चुनाव चिह्नमा मतदान गर्न बाध्य हुने देखिएको छ । यसै विषयलाई लिएर काङ्ग्रेस भित्र द्वन्द्व चर्किने सम्भावना नभएको होइन, तर वर्तमान काङ्ग्रेसका सबै आकार-प्रकारका नेताहरूको ‘अदृष्य मालिक’ एउटै भएकोले यो विषयलाई लिएर अन्तरद्वन्द्व चर्किने सम्भावना न्यून देखिन्छ ।

ज्ञातव्य छ, पश्चिमाहरू पनि कम्तिमा आगामी संसदीय निर्वाचनसम्म वर्तमान सत्ता गठबन्धनबीच नै चुनावी तालमेलको पक्षमा छन् । त्यसैले धनराज गुरुङ र गगन थापालगायतले जतिसुकै चर्का कुरा गरे पनि अन्ततः उनीहरू समेत ‘देउवाकै लाइन’मा पुग्ने विश्वास गरिएको छ ।