‘द कास्मिर फाइल’ले उजागर गरेको एउटा फरक पाटो

‘द कास्मिर फाइल’ले उजागर गरेको एउटा फरक पाटो


हिन्दु/शिखमाथि भएको सामुहिक कत्लेआमलाई सेक्युलरवादीले ढाकछोप गरेर इतिहासलाई कसरी धुलाम्य बनाएर राखेका रहेछन् भनेर खोज्न थाले । त्यसैको एउटा पहिलो अध्याय हो आजको कला क्षेत्रमा प्रवेश गरेको ‘द कास्मिर फाइल’ ! यो भारतिय फिल्म मात्रै होइन, यो कास्मिरको घटना मात्रै होइन, यो भोलि नेपालमा नै हुन सक्ने ‘पूर्वचेतावनी’ पनि हो ।
  • मोहन लामा रुम्बा

दोस्रो विश्वयुद्धपछि शीतयुद्धको दौरान विश्व दुई ध्रुवमा विभाजित थियो, अहिले पनि छ तर त्यतिबेला महाशक्ति सोभियत रुस निकै शक्तिशाली भएर विश्वमा एउटा सिङ्गै ध्रुवको नेतृत्व गर्दै थियो ।

तत्कालीन समयमा हाम्रो छिमेकी देशहरू पनि यिनै दुई ध्रुवमा विभाजित भएको थियो, श्रीलंका पाकिस्तान र चीन अमेरिकी ध्रुवमा गयो भने भारत सोभियत रुससँग २०वर्षे रक्षा-सम्झौता गरेर रसियाको ध्रुवमा गएको थियो ।

सोभियत संघको ध्रुवमा गएको भारतलाई अमेरिकाले काउन्टर गर्न पाकिस्तानलाई हातहतियार सैन्य उपकरण दिएर मजबुत पार्दै लगिरहेको थियो भने भारतलाई रसियाले अत्याधुनिक हातहतियार दिएर सैन्य क्षमता बिस्तार गर्दै गइरहेको थियो । पाकिस्तान र भारतको दोस्रोपटकको युद्ध चलिरहेको बेला पाकिस्तानलाई हातहतियार मात्रै होइन प्रत्येक्ष सैन्य सहयोग नै गर्न भनेर अमेरिकाले जंगी जहाज लिएर आएको थाहा पाएपछि सोभियत रुसले पनि आणविक मिसाइलसहितको जंगी जहाज लिएर आयो र त्यो युद्ध रोक्नुपरेको थियो ।

यसैताका अमेरिकाले श्रीलंका सरकारसँग अमेरिकी सैन्य अखडा राख्न बन्दरगाह (पोर्ट) दिने एउटा सम्झौतामा हस्ताक्षर गरे । यस घटनाले भारतको मात्रै होइन रसियालाई पनि सुरक्षा चुनौती थपिदियो ।

श्रीलंकालाई अमेरिकासँग गरेको सम्झौताबाट पछाडि हटाउन सोभियत रुस र भारत यी दुवै मिलेर श्रीलंकामा ‘लिट्टे’ नामक उग्रवादी जन्माए । एलटीटीई (जनबोलीमा लिट्टे) नामक उग्रवादी जन्माएर श्रीलंकालाई दशकौँसम्म गृहयुद्धको चपेटामा पारियो र, अन्ततः श्रीलंकालाई झुक्न बाध्य बनाएर अमेरिकासँग गरेको सम्झौता खारेज गरेपछि उक्त अध्याय समाप्त हुन पुगेको थियो । खासमा लडाइँ अमेरिका र रसियाको थियो, भारत र श्रीलंका त उपयोग मात्रै भएका थिए, किनभने रसियन पानीजहाजको अन्तर्राष्ट्रिय आवागमन श्रीलंकाको सामुन्द्रिक रुटबाट हुनुपर्ने हुन्छ । त्यहीँ अमेरिकी सैन्य अखाडा रह्यो भने रसियाको ब्यापारिक र सामरिक सुरक्षा चुनौती हुन पुग्थ्यो, त्यसैले रसियाले आफ्नो गुटको भारतलाई प्रयोग गरेर श्रीलंकामा लिट्टे उत्पादन गरेको थियो ।

यता भारतलाई आधार बनाएर लिट्टे उत्पादन गरी अमेरिकालाई चुनौती दिएको बदलामा अमेरिकाले पनि पाकिस्तानलाई बेस क्याम्प बनाएर भारतको पश्चिम-उत्तर क्षेत्रमा रहेकोे जम्मु कास्मिरमा ‘जेकेएलएफ’ (जम्मु कास्मिर लिबरेसन फ्रन्ट) उग्रवादी तयार गऱ्यो भने उत्तर-पुर्वी भारतको आसाम मणिपुर मेघालयतिर भने अमेरिकाले चीनमार्फत बर्मालाई बेस क्याम्प बनाएर उल्फा ‘युएलएफए’ (युनाइटेड लिबरेसन फ्रन्ट अफ आसाम) तयार गरेर भारतमा असी/नब्बेको दशकमा आम नरसंहारको खेल सुरु भयो ।

सन् १९८०/९० को दशकमा उल्फाको आतङ्कमा परेर उत्तर-पूर्वी भारतबाट त्यतिबेला लाखौँ नेपालीहरू विस्थापित हुन पुगेका थिए, त्यसको कथा-ब्यथा कहेर अहिले भनीसाध्ये छैन । त्यस्तै, भारतको उत्तर-पश्चिम जम्मु-कास्मिरमा पाकिस्तानी बेस क्याम्प बनाएर सुरु गरेको उग्रवादी मुस्लिमबाट धार्मिक आधारमा गरेको मानव नरसंहार रुवाण्डामा भएको हुतु र तुत्सीको भन्दा कम थिएन ।

लाखौँ कास्मिरी हिन्दु पण्डितहरू आफ्नै मातृभूमिमा बिस्थापित हुन परेको थियो । दिनदहाडै गाउँमा आएर उग्रवादीहरूले निहत्था गाउँलेहरू एकै ठाउँमा भेला गरेर मुस्लिमलाई अलग्याएर हिन्दुलाई लाइनमा राखेर मेसिनगनले मकै भुटेको जसरी भुटेर सामुहिक नरसंहार गरेको थियो । हिन्दु महिला बालबालिकामाथि खुलेआम बलात्कार हत्या हिंसाको चपेटामा परेर आफ्नो ज्यानधन जोगाउन पुस्तौनी मातृभूमि छोडेर सबै हिन्दुहरू कास्मिरबाट विस्थापित भएर आफ्नै देशमा आन्तरिक शरणार्थी बन्न विवश हुनपरेको थियो । कास्मिरमा मुस्लिम आतंकवादीबाट हिन्दुको नरसंहार हुनुअगाडि हिन्दुको जनसंख्या ६ लाख हाराहारीमा थियो भने अहिले सन् २०१६ को गणनाअनुसार जम्मा ६ हजार मात्रै रहेकोे छ ।

नब्बेको दशकमा छानी–छानी हिन्दुहरूमाथि भएको यो जातीय नरसंहारलाई दिल्लीमा बस्ने सत्ताधारीहरूले लुकाएर ‘पाकिस्तानी आतंककारीले भारतीय नागरिकमाथि गरेको हत्या’को रूपमा ब्याख्या गरेर राष्ट्रवादको खोल ओडाएर समाचार दिने काम गरे ता कि दक्षिणमा बस्ने बहुसंख्यक हिन्दुहरू जागरुक नहोउन् ! हिन्दुहरू संगठित भएर आवाज बुलन्द नहोस् भनेर घटनाको वास्तविकता लुकाएर राख्ने काम गरे सेक्युलरवादीहरूले ।

कास्मिर घाटीबाट हिन्दु शिखको पलायन भारत-पाकिस्तान विभाजनपछिको ठूलो मात्रामा धार्मिक विभाजनको भयावह रूप थियो, तर यसलाई कुनै मानवअधिकारकर्मीले मुद्दा बनाएर उठाउन जरुरी ठानेनन् । कुनै बम्बैमा बस्ने वलिउड सिने-निर्माता/निर्देशकले यी कथाब्यथा पर्दामा उतार्न जरुरी ठानेनन् !

समयको चक्र एकनास हुँदैन । आज डिजिटल युगमा प्रवेश गरेपछि सूचनाको पहुँच अब राज्यको नियन्त्रणमा मात्रै सीमित रहेन ! आजका पिँढी जाग्न थाले, बुझ्न थाले, कालो इतिहास पल्टाएर हेर्न थाले । लाखौँ आफ्ना स्वजातीय हिन्दु-शिख वंशविनासको खाल्डाहरू खोतलेर हेर्न थाले ! हिन्दु/शिखमाथि भएको सामुहिक कत्लेआमलाई सेक्युलरवादीले ढाकछोप गरेर इतिहासलाई कसरी धुलाम्य बनाएर राखेका रहेछन् भनेर खोज्न थाले । त्यसैको एउटा पहिलो अध्याय हो आजको कला क्षेत्रमा प्रवेश गरेको ‘द कास्मिर फाइल’ ! यो भारतिय फिल्म मात्रै होइन, यो कास्मिरको घटना मात्रै होइन, यो भोलि नेपालमा नै हुन सक्ने ‘पूर्वचेतावनी’ पनि हो । अस्तु ।