विदेशी सेना नेपाल आए गृहमन्त्री खाण अग्रपङ्क्तिमा बसेर लड्न तयार !

विदेशी सेना नेपाल आए गृहमन्त्री खाण अग्रपङ्क्तिमा बसेर लड्न तयार !


  • नारद कोहार, तौलिहवा

सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन समयमै हुने गृहमन्त्री बालकृष्ण खाणले बताएका छन् । नेपाली कांग्रेस बाणगंगा नगरसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले स्थानीय निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकार प्रयत्नशील रहेको जानकारी दिए ।

सबैको सहयोगले निर्वाचन सम्पन्न हुन्छ भन्नेमा सरकार विश्वस्त रहेको र निर्वाचनमा अहिलेसम्म भाग नलिएका दलहरुले पनि भाग लिने आशा आफूले गरेको उनको भनाइ थियो ।

गृहमन्त्री खाणले राष्ट्रिय राजनीतिको मूलधारमा नआएका दललाई पनि मूलधारमा आउन आग्रह गरे । लोकतन्त्रलाई सबल पार्ने, जनताको हक अधिकारलाई जनतामाझ पु्ऱ्याउन निर्वाचनको मूल दायित्व रहेको उनले बताए । स्थानीय निर्वाचनले नगरपालिका, गाउँपालिकाहरुको निर्वाचन र निर्वाचित हुने जनप्रतिनिधिले विकासलाई तीव्रता दिने अपेक्षासमेत प्रकट गरे ।

राजनीतिक रुपमा कतिपय मुद्दाहरुमा असहमति हुन सक्छ, आफ्ना फरक र पृथक धारणाहरु हुन सक्छन्, त्यसलाई नेपाली कांग्रेसले सदैव सम्मान गर्दैआएको छ उभन्दै उनले नेपाल बहुल भाषा, संस्कृति, जात, धर्म भएको देश भएकाले विविधतालाई एकताको केन्द्रविन्दुमा स्थापित गर्नुपरेको तर्क गरे ।

यस्तै, गृहमन्त्री खाणले अमेरिकी सहयोग परियोजना एमसीसी विकास आयोजना भएको तर्कगर्दै यो सम्झौता लागू हुँदैमा नेपाली भूमिमा अमेरिकी सेना नआउने दाबी गरे । अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको भन्दै उनले कुनै पनि देशको सेना आए आफू अग्रपङ्क्तिमा बसेर लड्नसमेत तयार रहेको धारणा राखे ।

कपिलवस्तुको वाणगङ्गा नगरपालिका जितपुरमा १२औँ कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रममा गृहमन्त्री खाणले एमसीसी परियोजना विद्युत् र सडकको परियोजना रहेको स्पष्ट गरे । जलस्रोतको धनी मुलुक नेपालमा ठूला र साना गरी ६ हजार नदी भए पनि पूर्णरूपमा जलविद्युत् उत्पादन गर्न नसकेको उनको भनाइ थियो ।

कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, प्रतिनिभिसभा सदस्य अभिषेक प्रताप शाह, अतहर कमाल, पार्टी सभापति अब्दुल कलाम खाँ, पूर्व पार्टी सभापति राजेश आचार्य, सुधाकर पाण्डेयलगायतको कार्यक्रममा सहभागिता थियो ।