नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा नेपाली सेनाबाट निवृत्तिभरणमा रहेका भूपू सैनिक तथा तिनका एकल महिलाहरुको सहभागितामा ‘भूतपूर्व सैनिक सम्मेलन-२०७८’ कार्यक्रम बुधबार (९ चैत) प्रधानसेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा दिपायलस्थित श्री नं. ५ बाहिनी अड्डामा शुभारम्भ भएको छ ।
कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृतबाट स्वागत मन्तव्य तथा प्रधानसेनापति शर्माबाट दीप प्रज्ज्वलन गरी समुद्घाटन गरिएको सम्मेलनमा डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ्ग, बैतडी र दार्चुला गरी जम्मा सात जिल्लामा बसोबास गर्ने करीब ६५० जना नेपाली सेनाका भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता रहेको नेपाली सेनाले जनाएको छ ।
उक्त सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्न अवकाशप्राप्त अग्रज सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गर्नुभया । भूपू सैनिक तथा तिनका एकल महिलाहरुको सर्वपक्षीय समुन्नति र प्रगति, नेपाली सेनाको बलियो आधार स्तम्भ रहेको उहाँको भनाइ थियो ।

नेपालमै बसेर परिश्रम गरे सफल भइन्छ भन्ने सन्देश दिनुहुँदै उहाँले ‘Welfare Vision 2030’ अनुरुप हिताधिकारीहरुको असिमित चाहना र आकांक्षाहरुको सम्बोधन गर्दै कल्याणकारी कोषलाई थप दिगो, मितव्ययी र पारदर्शी बनाउने लक्ष्य रहेको जानकारी गराउनुभयो ।
सम्बोधनकै क्रममा उहाँले हाल संचालन भइरहेका कल्याणकारी कार्यक्रम तथा सेवा सुविधाहरुका सम्बन्धमा संक्षिप्त जानकारी गराउँदै नेपाली सेनाको श्रोत, साधन र क्षमताले भ्याएसम्म यस किसिमका सेवा सुविधाहरु भविष्यमा थप विस्तार तथा अभिवृद्धि गर्दै लगिने विश्वास समेत दिलाउनुभएको थियो ।

कार्यक्रममा दिपायल सिलगढी नगरपालिका वडा नं. ५ निवासी जेष्ठ भूतपूर्व सैनिक ८४ वर्षका जमदार लक्षिमन भण्डारी (अप्रा) र श्री कालीजंग गणबाट अवकासप्राप्त स्वर्गीय हुद्धा जय राना (अप्रा)की श्रीमती केआई सिंह नगरपालिका वडा नं. ५ निवासी ८६ वर्षीया जेष्ठ एकल महिला श्रीमती खिमादेवी रानालाई सम्मान गरिएको थियो भने सर्वोत्कृष्ट उद्यमी व्यवसायीहरुलाई प्रशंसापत्र एवं पुरस्कार वितरण गरिएको थियो । उक्त समारोहमा, चार वा सोभन्दा बढी सन्ततिहरुलाई नेपाली सेनामा सेवा गर्न अभिप्रेरित गर्ने ४ जना आमा तथा बुबाहरुलाई सम्मान, फरक क्षमता भएका तथा अशक्त दुई जनालाई व्हिल चेयर, बैसाखी तथा आर्थिक सहयोग प्रदान गरिनुका साथै लघुबित्त कार्यक्रम एवं महिला उद्यमशिलता कर्जा प्राप्त गर्ने व्यक्तिहरुलाई चेक हस्तान्तरण गरिएको थियो ।
भू.पू. सैनिकहरुको तर्फबाट प्रादेशिक रथीबृन्द प्रतिनिधि तथा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका सभापतिबाट मन्तव्य एवं बलाध्यक्ष रथी सरोज प्रताप राणाको मन्तव्य सहित समापन भएको उक्त सम्मेलनमा, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द तथा अधिकृतहरु, कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत, नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत, बहालवाला एवं अवकाशप्राप्त सैनिक तथा परिवारहरु र अन्य आमन्त्रित अतिथि तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त सम्मेलनमा भू.पू. सैनिक तथा तीनका एकल महिलाहरुको तर्फबाट प्लेकार्ड सहितको मार्चपाष्टलगायत नेपाली सेनाद्वारा स्थान विशेषको झाँकी, संस्कृति झल्किने नांच, खुकुरी ड्रिल, तेक्वान्दो पिटी, मास पिटी र सैनिक व्याण्डको प्रस्तुती प्रदर्शन गरिएको थियो ।

यस सम्मेलनलाई लक्षित गर्दै यही चैत ०७ देखि ९ गतेसम्म नेपाली सेनाका मेडिकल टोलीद्वारा राजपुर ब्यारेक, दिपायलमा स्वास्थ्य शिविर संचालन गरि GOPD, MEDICINE, SURGERY, OBS/GYN, PAEDIATRICS, EYE, ENT, DENTAL, RADIOLOGY, PHARMACY, PATHOLOGY, ORTHOPEDIC लगायतका स्वास्थ्योपचार सेवा प्रदान गर्नुका साथै COVID-19 Vaccine नलगाएकाहरुको हकमा Vaccine को ब्यवस्था गरिएको थियो । यसका साथै, स्वास्थ्य शिविरमा आंखा चेकजाँच गराउने सहभागीहरुलाई आवश्यकता अनुसार निस्शुल्क चस्मा समेत वितरण गरिएको थियो ।
यसप्रकारको सम्मेलनले अवकाशप्राप्त सैनिक व्यक्तिहरूको अवकाशपछिको जीवनमा थप उर्जा र शक्ति प्रदान गर्नुको साथै समाजमा सम्मानित जीवन यापन गर्दै सेनाप्रति सकारात्मक सोचको विकास एवं राष्ट्रिय एकतामा टेवा दिन थप उर्जा तथा हौसला मिल्ने विश्वास नेपाली सेनाले लिएको जनाइएको छ ।
प्रतिक्रिया