हेडक्वाटर

हेडक्वाटर


  • देवकी तिमल्सिना ‘समीक्षा’

तिम्रो हेडक्वाटरको आदेशले
म कम्युनिस्ट भएकी होइन
तिम्रो मूल ढोकामा पुग्दा
मेरो अभिवादनको वास्तै नगरी
तिमी सुटुक्क भित्र छिऱ्यौ
देखेनौ कि भनौँ भने
आँखा जुधेकै थियो ।
बिहानीको रोलकल सकेर
जब एकैसाथ मुट्ठी कसेर
गाएको अन्तर्राष्ट्रिय गीत
के साँच्चै तिमीले
छातीमा हात राखेर भन्न सक्छौ ?
म अन्तर्राष्ट्रिय जाति भएँ भनेर ।
हिजो बाँडेका सपनाहरू
मुसुक्क मुस्कुराएर दिएको खुसी
भन कमरेड ! के साँच्चै
यो चलिरहेको सत्ता – सर्वहारा वर्गकै हो त ?
सङ्घर्षका दिनहरू सम्झेँ
हामीले सँगै लगाएका थियौँ नारा
वर्ग, जाति, क्षेत्र र लिङ्गबीचको विभेद
छिट्टै नामेट हुन्छ भनेर
तर आज, उल्टो गंगा बगाउँदै छौ ।
छरपस्ट छरिएका छन्- विचारहरू
बरु निर्वाध पस्छन्
तिम्रो हेडक्वाटरमा दलालहरू
खै ! कहिले हाँस्छन्
ती काखका मुना गुमाएका आमाहरू ?
रगत र पसिना बगाएर तिमीलाई
यहाँसम्म पुऱ्याउने तिम्रा सहयात्रीहरू ?
ती इमानदार र स्वाभिमानीहरू ?
कहिलेकाहीँ आउँछु तिम्रो हेडक्वाटरतिर
अत्तरको गन्धले हैरान हुन्छु
तैपनि, एक छेउमा उभिएर हेर्छु
तिम्रो हेडक्वाटरका झ्याल-ढोकाहरू
अनि, आसेपासे धुपौरेका चहलपहल
पत्याउनै गाह्रो हुन्छ
सम्झन्छु सङ्घ्रर्षका दिनहरू
सत्य हो कि दृष्टिभ्रम !
छुट्याउनै गाह्रो भो ?
तिम्रो हेडक्वाटरमा फर्फराउने रातो झण्डा
हाम्रो रगतले लत्पतिएको छ कि
रातो रङ्ले ?
तिम्रो हेडक्वाटर ठडिएको
इँटाले हो कि हाम्रो हड्डीले
तिम्रा गमलाका फूलहरू पानीले हैन
हाम्रो पसिनाले मुस्कुराएका हुन् ।
मनभरि प्रश्नैप्रश्न उठेर हैरान छु
उत्तर दिन भ्याउँदिनँ म
खाली पेट आएकी छु
लालाबाला कतै राखेर
के सोचिरहेका छौ कमरेड !
अब भन,
विश्वास दिन्छौ कि धोका ?