(फैसलाको पूर्ण विवरणसहित)
नाबालिगलाई करणी गरेको आरोपमा पक्राउ परेका कलाकार पल शाह (पूर्णविक्रम शाह) जेल चलान भएका छन् । तनहुँ जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि शाहलाई जेल चलान गर्ने आदेश दिएको हो ।
बलात्कार आरोपमा जाहेरी परेपछि शाह गत फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गर्दै जिल्ला प्रहरी कार्यालय, तनहुँमा उपस्थित भएका थिए ।
१६ वर्षभन्दा कम उमेरकी नाबालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म सजाय माग दाबी गर्दै जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको थियो ।
बुधबार सरकारी वकिल र जाहेरवालाको तर्फबाट १० जना कानुन व्यवसायीले बहस गरेका थिए । बिहीबार शाहको तर्फबाट पनि १० जना कानुन व्यवसायीले बहस गरेपछि अदालतले पुर्पक्षमा पठाउने आदेश दिएको हो ।
आदेशमा पलले पीडितलाई जबर्जस्ती करणी गरेको कुरामा पूर्णतः इन्कार गरेको भएता पनि उनले मौकामा गरेको बयान हेर्दा राति १२ बजे पीडितलाई म्यासेज गरी साथीहरुसँग खाइ बाँकी रहेको बियर लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई पलले स्वीकार गरेको पाइएको उल्लेख गरिएको छ ।
फैसालामा भनिएको छ, ‘एक्लै सुतेकी बालिकाको कोठामा राति १२ बजेतिर प्रवेश गर्नुपर्ने कुनै औचित्य प्रतिवादीले सावित गर्न सकेको पाइएन । यसरी राति पीडितको कोठामा प्रवेश गरेको भन्ने प्रतिवादीको स्वीकारोक्ति सोही राति निजले पीडतलाई जबर्जस्ती करणी गरेको तथ्यसँग मिल्न भिड्न आएको देखियो।’
पलले बालिकालाई मायाप्रेम गर्ने तथा विवाहको झुठो आश्वासन दिइ पहिला पनि पटक पटक जबर्जस्ती करणी गरेको भन्ने पीडितले मौकामा व्यक्त गरेको घटना विवरण काजबाट देखिने फैसलामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया