वृहत्तर लुम्बिनी विकासमा सघाउन नौ देशका विज्ञजन तिलौराकोटमा

वृहत्तर लुम्बिनी विकासमा सघाउन नौ देशका विज्ञजन तिलौराकोटमा


  • कपिलवस्तु प्रतिनिधि

नौ देशसम्मिलित अन्तर्राष्ट्रिय विज्ञ समूह (थिङ्क ट्याङ्क)ले कपिलवस्तुस्थित प्राचिन तिलौराकोटको अवलोकन गरेका छन् । बृहत्तर लुम्बिनी क्षेत्रको समग्र विकासका लागि सुझाव दिन गठित थिङ्क ट्याङ्क समूह लुम्बिनी हुँदै तिलौराकोट आएका हुन् ।

समूह लुम्बिनीमा तीन दिन कार्यशाला सम्पन्न गरी तिलौराकोट पुगेको हो । युनेस्कोको हेडक्वाटरका प्रोफेसर रोलान लीनलको अगुवाइमा टोलीले तिलौराकोट र चेत्रादेइमा भइरहेको उत्खनन्स्थलको अनुमगन र निरीक्षण गरेको छ । टोलीमा जापानिज विश्वविद्यालयका प्रोफेसरहरू, अमेरिका, फ्रान्स, श्रीलंका, भारत, म्यानमार, अष्ट्रेलिया इटली, थाइल्यान्डलगायत देशका विज्ञहरू छन् ।

टोलीलाई बेलायतस्थित दुर्हम विश्वविद्यालयका प्रोफेसर रविन कनिङ्घमले तिलौराकोट क्षेत्रमा विगत १० वर्षदेखि गरिएको उत्खनन, उपलब्धि, ऐतिहासिक पृष्ठभूमि, प्रगतिलगायतका विषयमा जानकारी गराएका थिए ।

तिलौराकोटको पूर्वी, पश्चिमी, उत्तर र दक्षिण क्षेत्रमा गरिएको उत्खनन्, भेटिएको प्रमाणहरूले विज्ञ टोलीहरू उत्साही भएको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले बताए । विज्ञहरूको टोलीले अध्ययन-अनुसन्धानपछि वृहत्तर लुम्बिनी विकासमा के-कस्तो कार्य गर्न सकिन्छ भन्नेबारे सुझाव दिने उनको भनाइ छ । टोलीको आमगनले विश्व सम्पदा सूचीमा सूचीकृतको प्रक्रियामा रहेको तिलौराकोट क्षेत्रको विकासमा समेत मद्दत मिल्ने उनले बताए ।

सम्पदाको उत्खनन्, संरक्षण गर्दै उत्कृष्ट शान्तिधाम बनाउन विज्ञ समूहको तिलौराकोट आगमनसमेत महत्वपूर्ण रहेको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिए । विज्ञ समूहले तिलौराकोटसहित वृहत्तर लुम्बिनी क्षेत्रमा परेका सम्पदाहरूको पुरातत्व, संरक्षण गर्न योजना र सुझावहरू सुझाउने उनले बताए । लुम्बिनी क्षेत्रमा संरक्षणको मुल्य-मान्यता राख्दै विकास गर्न सरकार, पुरातत्व विभाग, युनेस्को नेपाल र लुम्बिनी विकास कोषले स्वदेशी/विदेशी विषेशज्ञसम्मिलित विज्ञ समूह बनाएको हो । यो थिङ्क ट्याङ्क समूह हो ।

समूहलाई वृहत्तर लुम्बिनी क्षेत्रका सम्पदाको संरक्षण, वैज्ञानिक अध्ययन अनुसन्धान र शान्तिधामको विकासका लागि सुझाव दिने कार्यादेश छ । विश्व सम्पदास्थलको नेचुरल स्याण्डस्क्यापिङ संरक्षण गर्ने, सम्पदाको मूल्य-मान्यताअनुसार काम भए-नभएको अनुगमन गर्ने र एक वर्षका लागि गर्ने कामका विषयमा रायसुझाव दिनेछ ।

विश्वसम्पदा सूचीमा बुद्धस्थल तिलौराकोटलाई सूचीकृत गर्न विज्ञ समूहको आगमनले मद्दत मिल्ने लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानी राईले बताए । तिलौराकोट र रामग्राम सन् १९९६ मा युनेस्को टेन्टेटिव लिस्टमा परेका छन् । पूर्ण रूपमा पर्न बाँकी छ ।