अठार महिनापछि पनि बधाई पाएँ भने आफूलाई सफल ठान्नेछु : एनआरएनए महासचिव जोशी

अठार महिनापछि पनि बधाई पाएँ भने आफूलाई सफल ठान्नेछु : एनआरएनए महासचिव जोशी


अप्ठ्यारो परिस्थितिका बाबजुद समुदायको हितका पक्षमा काम गर्ने गौरी जोशीको प्रतिवद्धता

गैरआवासीय नेपाली संघका नवनिर्वाचित महासचिव गौरीराज जोशीले आफूले पाएको जिम्मेवारीलाई सहजताका साथ निभाउने सार्वजनिक प्रतिवद्धता जाहेर गरेका छन् । सामाजिक सञ्जालमार्फत जोशीले जनाएको प्रतिवद्धतामा लेखिएको छ- ‘प्राप्त भएको पद मेरो लागि महत्वपूर्ण विषय होइन, मैले निभाउने उत्तरदायित्व मेरो लागि महत्वपूर्ण हुनेछ । साथै, हामी मिलेर गैरआवासीय नेपालीहरुका महत्वपूर्ण मुद्दामा काम गर्नु आजको आवश्यकता हो ।’

संघका नवनिर्वाचित महासचिव जोशीको भनाइ जस्ताको तस्तै :

यसपटक केही असहज परिस्थितिमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को अधिवेशन र नेतृत्व चयन भएको छ । यो अधिवेशनले मलाई महासचिवको जो जिम्मेवारी प्रदान गरेकोछ, यो मेरा लागि अवसर र चुनौती दुवै हो ।

मेरो विचारमा पद लिनु मात्र महत्वपूर्ण होइन, पदीय जिम्मेवारीअनुसार विदेशमा बस्ने नेपालीको हकहितका लागि काम पनि गरेर देखाउनुपर्छ भन्ने पक्षमा म छु । म महासचिव रहँदा विदेशमा बस्ने नेपाली समुदायको हकहितका लागि मिहिनेतका साथ काम गर्नेछु भन्ने विश्वास यहाँहरुलाई दिलाउन चाहन्छु । मेरो काम हेरेर १८ महिनापछि यहाँहरुले मलाई पुनः बधाई दिनुभयो भने मात्र म आफैलाई सफल भएको मान्नेछु ।

विगत केही महिनायता एनआरएनएभित्र जे भयो त्यो हुन हुँदैनथ्यो भन्ने यहाँहरुको भनाइसँग म पनि सहमत छु । संस्था ठुलो हुँदै जाँदा एउटा कालखण्डमा विभिन्न धारणाहरु आउनु अस्वभाविक भने होइन । यसबाट पाठ सिकेर हामी विदेशमा बस्ने नेपाली एकजुट भएर अगाडि बढ्यौँ भने हाम्रो उद्देश्यप्राप्ति अझ सहज हुने छ भन्ने मलाई लागेको छ ।

विदेशमा बस्ने नेपालीका थुप्रै मुद्दाहरु छन् । विदेशमा मिहिनेत गरेर कमाएको पैसाले घरका लागि एउटा टेलिभिजन ल्याउँदा कति इन्च भनेर सोधिन्छ । विदेशमा कमाएको पैसा स्वदेशमा लगानी गर्न खोज्दा झमेलाहरु छन् । नेपाली नागरिकताको निरन्तरता हुदां देशलाई कुनै बेफाइदा छैन । फाइदा मात्र छ । यसबारेमा हामीले अझ राम्रोसँग बुझाउन सकेका छैनौँ ।

हाल नेपालका आर्थिक तथ्यांकहरुले संकट आउने संकेत गरिरहेका छन् । विदेशी मुद्राको सञ्चिति घटेको छ । यो संकटलाई कम गर्न हामीले सरकारसँग मिलेर काम गर्न सक्छौँ । विदेशमा बस्ने नेपालीको बचतलाई देशमा लगानी गर्ने उद्देश्यले स्थापना भएको १० अर्ब रुपैयाँको एनआरएनए लगानी कोषको काम अगाडि बढेको छ । यसलाई छिटो कार्यान्वयनमा ल्याउनुपर्ने चुनौती छ ।

हामीबीचको मजबुत सञ्जाल नै हाम्रो बल हो । मिलेर जाँदा हाम्रा मुद्दाहरु राख्न सहज हुन्छ । अब आग्रह र पुर्वाग्रह राखेर कसैलाई केही फाइदा छैन । गोलवद्ध भएर उत्साहका साथ अगाडि बढ्दै एनआरएनए अभियानलाई अगाडि लैजान म सधैँ सकरात्मक र तत्पर रहने छु ।

एनआरएनए अभियानमा लाग्नुभएका सबैको सहयोग, सुझाव र सल्लाहका लागि म अनुरोध गर्दछु । यसले मलाई महासचिवको जिम्मेवारी अनुसार काम गर्न अझ प्रेरणा र हौसला मिल्नेछ । मलाई साथ दिनुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

गौरीराज जोशी

महासचिव , एनआरएनए