सम्बन्ध विस्तारमा राजा : निकट भविष्यमै हुँदैछ पूर्व श्री ५ को भारत भ्रमण

सम्बन्ध विस्तारमा राजा : निकट भविष्यमै हुँदैछ पूर्व श्री ५ को भारत भ्रमण


हालै भारत हुँदै नेपाल आउनुभएका चीनका विदेशमन्त्रीले ‘नेपालको सन्दर्भमा भारत र चीनको धारणा समान हुन नसके पश्चिमा मुलुकहरूले खेल्न सक्ने’ विचार मोदीसँग राख्नु र राजाको भारत भ्रमण हुनु संयोग मात्रै भए पनि नेपालमा एउटा स्थिर शक्तिको आवश्यकता दुवै मुलुकले महसूस गरेको बुझ्न गाह्रो पर्दैन ।
  • बबिता बस्नेत

भारतको साधु समाजले ‘पूर्व राजा’लाई ‘नेपाल नरेश’ र ‘नेपाल सम्राट’ सम्बोधन गर्दै छिमेकी मुलुक नेपालका राजाकै हैसियतमा उच्च सम्मान दिएको एक वर्षपछि पूर्व श्री ५ ज्ञानेन्द्रको भारत भ्रमण हुने भएको छ । प्राप्त जानकारीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक भारत भ्रमणको लगत्तै पूर्व श्री ५ ले भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ । भारतीय जनता पार्टीका विभिन्न नेतासँग पटक-पटक भेटघाट गर्नुभएका राजा ज्ञानेन्द्रको यसपटकको भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट हुने श्रोतले जनाएको छ ।

पूर्व श्री ५ र प्रधानमन्त्री मोदीको भेटघाट आचार्य महामण्डलेश्वरमार्फत हुन लागेको बुझिएको छ । आचार्य महामण्डलेश्वरको निमन्त्रणामा राजाले सन् २०२१ को अप्रिल महिनामा भारतको उत्तराखण्डमा पर्ने हरिद्वारको भ्रमण गर्नुभएको थियो । आफ्नै देशका मन्दिर जाँदा पनि नेताहरूबाट विभिन्न प्रश्न र आक्षेप खेप्दै आउनुभएका राजालाई भारतमा नेपाल नरेशका रूपमा भब्य स्वागत गरिएको थियो ।

यही २०७८ साल चैत्र ११ गते झापा पुग्नुभएका राजा ज्ञानेन्द्र अहिले पूर्व बडामहारानी कोमल र छोरी प्रेरणाका साथ झापाको दमकमा हुनुहुन्छ । झापामा रहँदा उहाँले विभिन्न क्षेत्रका मानिसहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । वि.सं. २०७९ को नयाँवर्ष उहाँहरूले झापामै मनाउने कार्यक्रम रहेको छ । झापाबाट सिलगुढी हुँदै उतैबाट नयाँ दिल्ली भ्रमण हुने बुझिएको छ । पत्राचारहरू भए पनि मिति भने तय भइसकेको छैन । हालै भारत हुँदै नेपाल आउनुभएका चीनका विदेशमन्त्रीले ‘नेपालको सन्दर्भमा भारत र चीनको धारणा समान हुन नसके पश्चिमा मुलुकहरूले खेल्न सक्ने’ विचार मोदीसँग राख्नु र राजाको भारत भ्रमण हुनु संयोग मात्रै भए पनि नेपालमा एउटा स्थिर शक्तिको आवश्यकता दुवै मुलुकले महसूस गरेको बुझ्न गाह्रो पर्दैन । चीन सधैं नेपालमा स्थायी शक्तिको पक्षमा रहँदै आएको छ भने भारतले पनि यसबीचमा भूराजनीतिक चलखेल र उतारचढाव देखिसकेको छ । राजा ज्ञानेन्द्र र प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटघाट भए पनि निकट भविष्यमै कुनै परिवर्तन भइहाल्ने सम्भावनाचाहिँ न्युन छ । तथापि, यो भ्रमणले पृष्ठभूमि भने तय गर्न सक्छ ।

भारतको सन्त समाजले नेपालमा राजसंस्थाको पुनःस्थापनाको माग गर्दै आएको छ । गत वर्ष हरिद्वारमा आयोजित कुम्भमेलाको प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिनुभएका राजा ज्ञानेन्द्रलाई नेपाल सम्राट भनी सम्बोधन गरिएको थियो । भारतीय मिडियाले आफ्ना सामाग्रीका हेडलाइनमा ‘नेपालका राजा ज्ञानेन्द्र’ भनी उल्लेख गरेका थिए । उत्तराखण्डका मुख्यमन्त्री तीर्थसिंह रावतले नेपालका राजालाई स्वागत गर्न पाउनु अहोभाग्य भनेका थिए ।

‘नेपाल किङ्ग ज्ञानेन्द्र रिचेज हरिद्वार टु पार्टीसिपेट इन कुम्भ’, ‘किङ्ग अफ नेपाल भिजिट हरिद्वार’लगायतका शीर्षकमा हिन्दुस्तान टाइम्स, टाइम्स अफ इन्डिया, लोकमत ग्रुप आदि अखबारहरूले समाचार छापेका थिए । टेलिभिजन च्यानलहरूले पनि ‘किङ्ग अफ नेपाल’को संज्ञा दिँदै कुम्भमेलासम्बन्धी रिपोर्टिङ गरेका थिए । कतिपय टेलिभिजनले त ‘नेपाल एकमात्र हिन्दुराष्ट्र भएको र त्यहाँका सम्राट नारायणका स्वरुप मानिने’ सम्म भनेका थिए । केही मिडियाले नेपाल-भारत सम्बन्धका सेतु राजा ज्ञानेन्द्र भनी उल्लेख गरेका थिए ।

२०६२ सालमा भारतीय सरकारको दूत बनेर आएका करण सिंहपछि भारतले नेपालको राजसंस्थासँग कुनै पनि औपचारिक सम्बन्ध राखेको छैन । नेपाल र भारतबीचको साँस्कृतिक सम्बन्धमै खलल पुग्न थालेपछि नेपाललाई माया गर्ने भारतीय ठुलो तप्का आफ्नो सरकारकारले अवलम्बन गरेको नीतिसँग असहमत देखिएको पाइएको छ । आचार्य महामण्डलेश्वरलगायतले भारत सरकारलाई नेपालप्रतिको नीति परिवर्तन गर्नका लागि पटक-पटक आग्रह गरेका छन् । हिन्दु धर्म-संस्कृतिसँग जोडेर गरिएको नीति परिवर्तनको मागमा राजसंस्थाको पुनःस्थापना स्वतः पर्छ भन्ने सम्बन्धित पक्षको दाबी छ । आचार्य महामण्डलेश्वरलगायतका महासन्तले नेपाल-भारत सम्बन्धको सेतु राजसंस्था हो भनेका छन् । भारतले नेपालका लागि अपनाएको धर्मनिरपेक्ष कुटनीति फापेन भन्ने सन्त समाजको तर्क छ । सोही निष्कर्षसहित आचार्य महामण्डलेश्वरले नेपालका राजा र भारतका प्रधानमन्त्रीको भेटघाट गराउन लागेका हुन् ।