हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानद्वारा प्रबुद्ध नागरिक गोष्ठी सम्पन्न

हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानद्वारा प्रबुद्ध नागरिक गोष्ठी सम्पन्न


हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानले प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रमको आयोजना गरेको छ

कैलालीको धनगढीमा आयोजित गोष्ठीमा अभियानद्वारा अहिलेसम्म प्रकाशित साहित्यबारे जानकारी गराउँदै इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र नै रहेकोले अब समाजले यसलाई आफ्नो दायित्वको रुपमा स्वीकार गरोस् भन्ने आग्रह गरिएको थियो ।

गत भदौ ३ गते पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवालको संयोजकत्वमा यो अभियान सुरु भएको हो ।

प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली, अभियानका केन्द्रीय सदस्य तथा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण तिमल्सिना, हिन्दू स्वयंसेवक संघका जिल्ला संघचालक हिरा कँडेल र व्यवसायी तथा समाजसेवी गोपाल हमालसहितको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रताप बुढाद्वारा राखिएको थियो भने कार्यक्रमको संयोजकत्व कैलाश दाहालले गर्नुभएको थियो ।

स्वागत मन्तव्य दिँदै प्रताप बुढाले समाजको हरेक क्षेत्रमा असल व्यक्तिको आवश्यकता रहेको जनाउँदै राम्रो चरित्र र धैर्य धारण गर्न सके मात्र परिवर्तन सम्भव हुने बताउनुभयो ।

व्यवसायी तथा समाजसेवी गोपाल हमालले धर्मबारे गलत प्रचार बढी भएको बारे चर्चा गर्दै हिन्दुहरू संगठित हुनुपर्नेमा जोड दिनुभयो। यसैगरी, जिल्ला संघचालक हिरा कँडेलले समाजमा अझै पनि जातीय संकीर्णता कायम रहेको तथा धर्मबारे कुरा गर्दा आफु तल परिन्छ भन्ने गलत मानसिकता हाबी रहेको चर्चा गर्नुभएको थियो ।

पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण तिमल्सिनाले देउडा, गौरा जस्ता सास्कृतिक तथा धार्मिक पहिचान रहेको सुदूरपश्चिमले आफ्नो अखण्डता जोगाउन लागिपरेको जस्तै अहिले हिन्दुत्वका लागि लाग्नुपर्ने बेला आएको बताउनुभयो । शासन व्यवस्था जुनसुकै भए पनि हिन्दु राष्ट्र कायम हुनुपर्ने उल्लेख गर्दै उहाँले संविधानमा नलेखे पनि पहिचान र जनसङ्ख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दु राष्ट्र रहेको दाबी गर्नुभयो ।

प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले बाह्य प्रभाव र केही अज्ञानतावश नेपाल धर्मनिरपेक्ष भएको तर्क प्रस्तुत गर्दै यसैकारण अनेकौँ गल्ती भइरहेको बताउनुभयो । विश्वमा ११८ इसाई, ५७ इस्लामिक र ९ वटा बुद्धिस्ट राष्ट्र भए पनि ११० करोड आबादी भएको हिन्दु राष्ट्र खोई भन्ने प्रश्न गर्दै उनले बिन्ती र विद्रोह गर्न कसैले छेक्न नसक्ने दाबीसमेत गर्नुभयो ।

कार्यक्रमका संयोजक कैलाश दाहालले समाजका विभिन्न क्षेत्रबाट कार्यक्रममा सहभागिताका लागि आमन्त्रित अतिथि तथा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।