अष्ट्रेलियामा नेपाली युवाले पाए सांसदको टिकट

अष्ट्रेलियामा नेपाली युवाले पाए सांसदको टिकट


  • राजन घिमिरे

पछिल्लो समय प्रबासको मूल राजनीतिमा नेपालीहरूको उपस्थिति बाक्लिँदै गएको छ । प्रबासलाई कर्मभूमि बनाइरहेका नेपालीहरूको यस्तो उपस्थिति र आबद्धताले प्रबासमा नेपालीहरूलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउन थालेको छ । यो समग्र प्रबासी नेपाली र नेपालका लागि सकारात्मक सन्देश पनि हो ।

यसै क्रममा अष्ट्रेलियाको संघीय संसदीय निर्वाचनमा अष्ट्रेलियाका प्रबासी नेपाली युवा विनोद पौडेललाई अष्ट्रोलियाको सत्तारूढ दलले केन्द्रीय सांसदको निर्वाचन लड्न टिकट दिने भएको छ । यस समाचारले अष्ट्रेलिया मात्र नभइ नेपाल र प्रबासमा छरिएर रहेका नेपालीहरूमा सुखद् तरङ्ग पैदा गरेको छ ।

आगामी मे महिनामा हुने चुनावका लागि चितवनमा जन्मिएका र हाल अस्ट्रेलिया बस्दै आएका नेपाली मूलका विनोद पौडेललाई अष्ट्रेलियाको सत्तारूढ दल लिवरल पार्टीले सांसदको चुनाबको उम्मेदवार बनाएको छ । पौडेलले माकार्थर क्षेत्रमा सांसदको उमेदवारको रूपमा चुनाब लड्ने छन् ।

१५ वर्षअगाडि विद्यार्थीका रूपमा अस्ट्रेलिया पुगेका विनोद पौडेल अष्ट्रेलियाको सिड्नीमा समाजिक अभियन्ता र सामाजसेवीका रूपमा पनि चिनिन्छन् ।

‘ममाथि विश्वास गरेर सत्तारूढ दलले सुम्पिएको यो जिम्मेवारीको सकारात्मक परिणाम ल्याउन सक्ने आत्मविश्वास छ’, विनोदले बताए– ‘नेपालीलगायत अन्य देशमा नागरिकहरूबाट पनि पाएको साथ र समर्थन नै मेरो आत्मविश्वास हो’, उनले भने । विनोद विगत १० वर्षदेखि यो पार्टीमा आवद्ध रहँदै आएका छन् भने उनको जुझारूपन र क्रियाशीलताको प्रशंसा हुने गरेको छ ।

विनोद आफूले टिकट पाएको क्षेत्रमा आप्रवासीको सङ्ख्या बाक्लो रहेको जानकारी दिँदै चुनाव जितेपछि आफू आप्रबासीहरूको न्याय र अधिकारका लागि लड्ने कुरा बताए । उनले अगाडि भने– ‘प्रबासमा एउटा नेपाली युवाले पाएको यो अवसरलाई मुर्तरूप दिन म सबैमा हार्दिक अपिल गर्दछु । यो सम्पूर्ण नेपालीहरूको शान, मान र गौरब हो । यो गौरबलाई सही बनाउन सबैको साथ र हातको आवश्यकता छ ।’