खबरदार…! आत्मघाती चुनावी तालमेल नगरियोस् !

खबरदार…! आत्मघाती चुनावी तालमेल नगरियोस् !


नेपालमा अहिले कम्युनिस्टको नाम जप्ने तर पुँजीपति वर्गसँग हमेसा साँठगाठ गर्ने द्वैध चरित्र भएका नयाँ वर्गका कम्युनिस्टको जगजगी छ । यिनीहरूमा कहीँ-कतै कम्युनिस्ट चरित्र देखापर्दैन । ब्यक्तिगत स्वार्थ र पुँजीपति बन्ने हुटहुटीले भित्रभित्रै कम्युनिस्ट पार्टीहरू खोक्रो बन्दै गएका छन् ।
  • सुन्दर शर्मा

यतिबेला चुनावी तालमेल गरेर निर्वाचनमा जाने कि एक्लाएक्लै भन्ने बहसले नेपाली समाजमा सरगर्मी बढाएको छ । माहोल तातेको छ । राजनीतिक बजारमा तालमेलकै चर्चा बढी सुनिन्छ ।

काङ्ग्रेसभित्र पनि स्थानीय निर्वाचनमा दलहरूबीच गठबन्धन वा तालमेल गरी जानुपर्छ भन्ने कुराको ब्यापक आलोचनात्मक टिप्पणी भइरहेको छ । प्रधानमन्त्री देउवा जसरी हुन्छ प्रचण्ड र माधवलाई रिझाइ सत्तामा टिकिरहन चाहान्छन् । यसको विपरीत स्थानीय काङ्ग्रेसी नेता र कार्यकर्ताचाहिँ चुनावी तालमेल नगरी एक्लै लड्नुपर्छ भन्नेमा दृढ़ देखिन्छन् । विभिन्न जिल्लाका काङ्ग्रेसी कार्यकर्ताको जनमत चुनावी तालमेलको पक्षमा छैन । स्थानीय शक्तिका आधारमा उम्मेदवार तय गर्ने हो भने काङ्ग्रेसले सजिलै जित हासिल गर्नेमा दुई मत रहन्न ।

करिब ८ लाख क्रियाशील सदस्य रहेको काङ्ग्रेसको २३ लाख हाराहारीमा मतदाता छन् । नेतृत्वले ती २३ लाख मतदातालाई अर्को दलको चुनाव चिह्नमा भोट खसाउ भन्न कसरी सक्छ ? यसपटक पनि केन्द्रले अर्को दललाई भोट हाल्न लगाउने हो भने पार्टीको सङ्गठन नै ध्वस्त हुनेछ । काङ्ग्रेसी मतदाता स्वतन्त्र छन् । यसपटक कुनै पनि हालतमा अर्को दलको चुनाब चिन्हमा भोट हाल्ने छैनन्, बरु आफ्नो भोट बदर गर्नेछन् काङ्ग्रेसजनले ।

अहिले करिब ३७ लाख नयाँ मतदाता थपिएका छन् । ती मतदातालाई काङ्ग्रेसमा आबद्ध गराइ रुख चिह्नमा भोट खसाल्ने वातावरण बनाउनुको साटो गठबन्धन या तालमेलको नाममा आफ्नै मतदाता चिढ्याउने काम बन्द गरोस् काङ्ग्रेस नेतृत्वले !

केही ब्यक्तिगत स्वार्थमा लिप्त भएका, पार्टीको विकास र स्थायित्व नचाहने ‘डेटस्पाएर’ नेताको कुरा सुनेर चुनावी तालमेल गर्नु घातक सावित हुनेछ । जहिले पनि निर्वाचनमा गठबन्धन वा तालमेल गर्ने हो भने छुट्टै दल खडा गर्नुको औचित्य के त ? केको लागि छुट्टाछुट्टै दल दर्ता गर्ने ? एक्लै स्वतन्त्र रूपमा चुनाबी मैदानमा जाने आँट नगर्ने दलले कति दिन जनतालाई उल्लु बनाउदै अस्थिर राजनीति गर्ने ?

सरकार गठबन्धनबाट निर्माण भयो भन्दैमा विचार र सिद्धान्त नमिल्ने दलसँग काङ्ग्रेसले चुनावी तालमेल गऱ्यो भने भारतको काङ्ग्रेस आईको हालत हुने पक्का छ । काङ्ग्रेसको आफ्नै स्वतन्त्र र ऐतिहासिक सिद्धान्त छ । बीपीद्वारा निर्देशित काङ्ग्रेसी सिद्धान्तमा खोट लाउने कतै ठाँउ छैन । सत्ता-स्वार्थले गर्दा अहिले केही काङ्ग्रेसी नेताहरूमा सैद्धान्तिक र वैचारिक कुराको खडेरी पर्दै गएको स्पष्ट देख्न सकिन्छ । त्यसैले यो अवस्थामा नेतृत्वले बुद्धिमतापूर्र्वक कार्यकर्ता तथा जनतामाझ आफ्ना कुरा उचित समयमा उचित ढङ्गले प्रष्ट पार्न सक्यो भने कसैसँग चुनावी गठबन्धन वा तालमेल गर्नुपर्ने आवश्यकता नै पर्दैन । तालमेल गर्दैमा जितिन्छ भन्ने भ्रममा नपर्न नेतृत्वलाई पङ्क्तिकारको विनम्र अनुरोध छ ।

नेपाली काङ्ग्रेस केही थान नेताको सत्ता-स्वार्थको लागि मात्र स्थापना भएको पार्टी पक्कै होइन होला । २०-२५ थान नेताको कुर्सी जोगाउन र शेरबहादुरजीलाई छैटौँ पटक प्रधानमन्त्री बनाउन सिङ्गो काङ्ग्रेस पार्टी नै बलीको बोको बनिदिनुपर्ने किन ? केही दोहोरिइरहने अनुहारलाई सत्तामा पुऱ्याएर पुँजी र पावरको बलमा रजाइँ गर्ने उद्देश्यले काङ्ग्रेसले अवैधानिक र अनैतिक कदम चाल्छ भने आममतदाता त्यसको विरुद्धमा उभिने छन् । यस्ता सत्ता-स्वार्थीहरूलाई कसरी ठेगान लाउनुपर्छ भन्ने मतदाताले राम्ररी बुझेका पनि छन् ।

काङ्ग्रेसभित्रका विभिन्न विचारधारालाई समेट्दै र एकीकृत गर्दै आफ्नो नीति तथा सिद्धान्तमा टेकेर एकआपसमा मेलमिलाप गर्नु जरुरी छ । तर अन्य दलसँग चुनाबी गठबन्धन गर्न आवश्यक छैन । देश विकासको एजेन्डामा सहकार्य र राष्ट्रिय एकतामा मेलमिलाप र तालमेल गर्नु जरुरी छ, तर चुनावी तालमेल किमार्थ आवश्यक छैन ।

नेकपा फुटेर तीन टुक्रामा विभाजित छ, एमाले फुटेर दुई टुक्रा भएको छ । यस्तो बेलामा पनि काङ्ग्रेसले एक्लै चुनाव लड्ने साहस गर्दैन भने आम काङ्ग्रेसी मतदाताले नेतृत्वलाई कडा चुनौती दिनैपर्छ । नेतृत्वले गठबन्धन या तालमेल जेसुकै गर, तर आम काङ्ग्रेसी मतदाताले रुखभन्दा अन्यत्र भोट दिने छैनन् यसपटक ।

निर्वाचन भनेको त कामको आधारमा जनताको मन जित्ने एक स्वस्थ प्रतिस्पर्धा हो । विगत पाँच वर्षमा विभिन्न दलले गरेको काम र आउँदो पाँच वर्ष अवधिमा गर्न सक्ने विकासका योजनाबद्ध खाका तयार गरी घोषणापत्ररूपी प्रश्नपत्र लिएर उत्तर खोज्न जनतामा जाने माध्यम हो निर्वाचन । दलको घोषणापत्र भनेको बकपत्र हो । त्यसमा उल्लेख गरिएका कामकुराहरू पूरा भए कि भएनन्, त्यसैको आधारमा जनताले भोट दिने हो । कुन दलले जनताको मन जित्ने र विकासात्मक काम गर्न सफल भए, उम्मेदवार ब्यक्तिगत रूपमा पनि कति लोकप्रिय छ र उसको पक्षमा कति जनसमर्थन छ भनेर जाँच्ने कडी हो निर्वाचन ।

सधैं अर्काको बुइ चडेर चुनावमा जाँदा आफ्नो दलको स्वतन्त्र अस्तित्व कसरी जोगाउने ? चुनावमा हारजित त प्रजातन्त्रको सुन्दर प्रक्रिया हो । उम्मेदवार विकासप्रेमी र जनप्रिय छन् भने दशौँ पटक पनि जित्न सक्छन्, अन्य दलसँग तालमेलको आवश्यकता नै पर्दैन । चुनाव जित्नको लागि अन्य दलसँग तालमेल गरेर मात्र कहाँ हुन्छ र ! आफ्नो दललाई विश्वासका साथ एक ढिक्का बनाएर लैजानु जरुरी छ । नेतृत्वले उम्मेदवारका आकाङ्क्षीलाई अन्य दलसँगको तालमेलका नाममा बागी उठ्न बाध्य नपारोस् । चुनावी तालमेल भएकै स्थानमा बागी उम्मेदवार खडा भएमा यसको जिम्मेवारी पनि नेतृत्वले नै लिनुपर्नेछ ।

नेपालमा सिद्धान्तका आधारमा दुई फरक धारका पार्टी छन् । कम्युनिस्ट वा बामपन्थी र अर्को काङ्ग्रेस वा प्रजातान्त्रिक दृष्टिकोणवाला । बाम दृष्टिकोण अँगाल्ने एमाले, माओवादी, जनमोर्चा, नेमकिपा, एकीकृत समाजवादी आदि छन् भने अर्कोतर्फ काङ्ग्रेस, राप्रपा, साझा विवेकशील, मधेसी दल आदि ।

कम्युनिस्ट–कम्युनिस्टबीच चुनावी गठबन्धन कुनै ठुलो कुरा होइन । किनकि तिनीहरूका प्रायः सिद्धान्त र नीतिमा फरकपन हुँदैन । एउटा कम्युनिस्टले अर्को कम्युनिस्टका लागि भोट माग्नु खासै ठुलो आश्चर्य पनि होइन । तर काङ्ग्रेसले कम्युनिस्टका लागि र कम्युनिस्टले काङ्ग्रेसका लागि चाहिँ के भनेर वा कसरी भोट माग्ने ? यस्तो अवस्थामा एक सच्चा काङ्ग्रेसी मतदाताले कसरी कम्युनिस्टलाई भोट दिने र एक सच्चा कम्युनिस्टले कसरी काङ्ग्रेसलाई भोट दिने ? यो त आ-आफ्नो पार्टीको सैद्धान्तिक पतन भएन र ? केही झुण्ड नेताको सत्ता-स्वार्थको लागि के पार्टीकै नीति तथा सिद्धान्तलाई तिलान्जली दिन मिल्छ ?

निर्वाचन नजिकिँदै जादा प्रत्येक दलले आ-आफ्ना नीति तथा सैद्धान्तिक एजेण्डासहितका घोषणापत्र सार्वजनिक गर्छन् । त्यसैका आधारमा जनतासँग भोटको अपिल गर्छन् ।

यस्तो अवस्थामा तालमेलबाट चुनावमा जाँदा एउटा दलको नेताले आफ्नो लागि नभइ अर्को फलानो दललाई भोट देउ भनेर मतदातासँग कसरी भन्ने ? अर्को दलको लागि भोट माग्नु बहुदलीय लोकतन्त्रको चरित्रविपरीत भएन र ? देश विकासको निम्ति होइन कि सत्ता-स्वार्थको लागि मात्र अर्को दलको लागि भोट माग्दा मतदातामाथि बेइमानी भएन र ? हामी स्वतन्त्र रूपमा चुनावमा जान असक्षम भयौँ, त्यसैले गठबन्धन वा तालमेल गर्न बाध्य भयौँ भन्न खोजिएको हो भने त कुरा बेग्लै हो !

चुनावी गठबन्धन वा कुनै दलको लागि पनि हितकर हुँदैन । यदि मतदाताको इच्छाविपरीत गरिन्छ भने त्यो आत्मघाती सिद्ध हुनेछ । कठोर जनयुद्ध लडेर आएको माओवादीले आफ्ना मतदातालाई कसरी भन्न सक्छविपरीत ध्रुवको काङ्ग्रेसलाई भोट हाल भनेर । त्यस्तै प्रजातन्त्र र बहुदलीय ब्यवस्थामा विश्वास राख्ने काङ्ग्रेस पार्टीका मतदाताले कसरी माओवादीलाई भोट देलान् ।

नेपालमा अहिले कम्युनिस्टको नाम जप्ने तर पुँजीपति वर्गसँग हमेसा साँठगाठ गर्ने द्वैध चरित्र भएका नयाँ वर्गका कम्युनिस्टको जगजगी छ । यिनीहरूमा कहीँ-कतै कम्युनिस्ट चरित्र देखापर्दैन । ब्यक्तिगत स्वार्थमा लिप्त, आपसी कलह, पुँजीपति बन्ने हुटहुटीले भित्रभित्रै हाम्रा कम्युनिस्ट पार्टीहरू खोक्रो बन्दै गएका छन् ।

अन्तिममा, यो स्थानीय निर्वाचनमा सबै दलले स्वतन्त्र रूपमा भाग लेउ । जित्नु मात्र राजनीति होइन । कहिलेकाहीँ हारमा पनि जितको अनुभव हुन्छ । जति सिट जितिन्छ त्यसैका आधारमा सबैले आ-आफ्नो दललाई मजबुत बनाउनेतर्फ लाग ! सरकार बनाउँदैमा तिमीहरू महान् हुने होइन । अहिलेसम्म सरकारमा बसेर हामीले जनतालाई के दियौँ भनी ठण्डा दिमागले सोच त… जवाफ आफै मिल्नेछ ।

अर्बौंको धनराशि खर्चेर भ्यु टावर बनाउन सक्ने तर आफ्नै किसानले आफ्नो उत्पादनको मूल्य प्राप्त गर्न तराईबाट काठमाडौं आएर आन्दोलन गर्नुपर्ने ? ती पीडित किसानको पक्षमा कुनै दलले चुइँक्कसम्म बोल्न नपर्ने ? छि ! कस्तो घिनलाग्दो राजनीतिको विकास गऱ्यौ ए नेताहरू !?

एमालेलाई हराउनकै लागि पनि गठबन्धन वा तालमेल अति आवश्यक छ भन्दै प्रचण्ड-माधवहरू कुर्लिएको देखियो । दम छ भने एक्लै लडेर एमाले हराउ । अनि बल्ल फाइँफुइँ सुहाउँछ । एमाले त एक्लै लड्छु भनिरहेको छ । तिमीहरू सत्ता कब्जा गरी बसेका सिंहहरूलाई एमालेसँग केको डर ? स्वतन्त्र रूपमा चुनावमा जाँदा थाहा हुनेछ कुन दल कति जनप्रिय या लोकप्रिय रहेछ भन्ने !

तिमीहरू एक्लै चुनावमा जान नसक्नुको कारण एउटा मात्र छ, त्यो हो- जनताका सरोकारसँग जोडिएका तमाम समस्यालाई अनदेखा गरेका छौ । जनताका कारुणिक ब्यथाका चित्कारहरू नसुने झैँ गरी बसेका छौ । अनि कसरी जित्छौ त चुनाव ? काङ्ग्रेस नभइ प्रचण्ड र माधवको पार्टी चल्नै सक्दैन भने काङ्ग्रेस पार्टीमै गाभिए हुँदैन र ? आखिर एमालेमा गाभिएकै हो क्यारे ! ‘काङ्ग्रेस-बाम साझा पार्टी’ नाममा पालैपालो सत्ता कब्जा गर्ने, आत्मरतिमा रमाउने ?! यसैगरी बरु साझा पार्टीकै रूपमा शासन गर तर यो गठबन्धन र तालमेलको जाली पासोमा मतदातालाई नबल्झाउ, एकआपसमा नलडाउ । चुनाबी तालमेलको कोकोहोलो गर्नुभन्दा स्वतन्त्र रूपमा चुनाबमा होमिँदा सबै दलको इज्जत र भलो हुनेछ । अस्तु ।