विद्यालय जाँदै गरेकी छात्राको हत्या

विद्यालय जाँदै गरेकी छात्राको हत्या


उदयपुरमा १५ वर्षीया एक छात्राको हत्या भएको छ । बेलका नगरपालिका-३ मा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको हत्या गरिएको अवस्थामा शब फेला परेको प्रहरीले जनाएको छ ।

कोशी जनता माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत कविताको शव हत्या गरेर यशोदा खोलामा फालिएको अवस्थामा फेला परेको हो । घरबाट ट्युशन पढ्न निस्किएकी कविताको बाटोमै विभत्स तरिकाले हत्या गरेपछि खोलामा फालेको अवस्थामा फेला परेको उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहराले जानकारी दिए ।

उनको शव मंगलबार बिहान ७ बजे खोलाकिनारामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीको टोलीसमेत खटिएको छ ।

एसईईको परीक्षा नजिकिँदै गर्दा उनी ट्युशन पढ्न सधैँ बिहानै जाने गरेकी थिइन् । घटनास्थलबाट करिब सात सय मिटर पर विद्यालय छ भने उनको घर करिब दुई किलोमिटरको दूरीमा छ ।

घटनाप्रति विद्यालयले आपत्ति जनाएको छ । विद्यालयले विज्ञप्ति जारी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि सजायको माग गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक सूर्यनारायण शाहले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै आम नागरिक र विशेषगरी बालबालिकाको जीउ ज्यानको सुरक्षाको माग गरेका छन् ।