मन्त्री र राजदूतद्वारा संयुक्त रूपमा नयाँ विद्यालय भवन शिलान्यास

मन्त्री र राजदूतद्वारा संयुक्त रूपमा नयाँ विद्यालय भवन शिलान्यास


भारत सरकारको अनुदान सहायताअन्तर्गत उदयपुरको गाईघाट त्रियुगा नगरपालिका बोक्सेस्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन बन्ने

उदयपुरको गाइघाट त्रियुगा नगरपालिकास्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको शिलान्यास गरिएको छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय राजदूतावासका कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले निर्माणाधीन भवनको मंगलबार शिलान्यास गर्नुभएको हो ।

सामुदायिक विकास परियोजनाका रूपमा भारत-नेपाल विकास सहकार्यअन्तर्गत रु. ३ करोड ११ लाख भारत सरकारको अनुदान सहयोगमा उक्त परियोजना अघि बढाइएको हो ।

बालमन्दिर माध्यमिक विद्यालय उदयपुर जिल्लाकै एक पुरानो विद्यालय हो । निर्माण कार्य सम्पन्न भइसकेपछि उक्त विद्यालयलाई नयाँ परिसरमा सारिन बताइएको छ । विद्यालयमा हाल ११०० विद्यार्थी अध्ययनरत छन्, जसमध्ये करिब ७० प्रतिशत छात्रा रहेका छन् ।

नेपालका सातै प्रदेशमा विशेषगरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ तथा अन्य सार्वजनिक संरचनाहरुको निर्माण जस्ता विविध क्षेत्रमा सन् २००३ यता भारतले ५२३ भन्दा बढी उच्च प्रभावी सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ भने ४ सय ६७ वटा परियोजना सम्पन्न गरिसकेको छ । त्यसमध्ये उदयपुर जिल्लाका आठ निर्माण सम्पन्न परियोजना तथा निर्माण र कार्यान्वयनका विभिन्न चरणमा रहेका अन्य आठ परियोजनासहित ७१ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना प्रदेश १ मा रहेका छन् ।

भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय विकास सहकार्य रहेको छ जसले दुई मुलुकका जनताबीचको प्रगाढ सम्बन्धलाई प्रतिबिम्बित गरेको छ । मंगलबार आयोजित यस कार्यक्रमले शिक्षा जस्ता प्राथमिकताका क्षेत्रमा पूर्वाधार निर्माण गर्न नेपाल सरकारले चालेको प्रयासलाई सफल बनाउन भारत सरकार सदैव प्रतिबद्ध रहेको कुरालाई पुष्टि गरेको छ ।