कंगो शान्ति मिशनमा घाइते नेपाली शान्तिसैनिकको निधन

कंगो शान्ति मिशनमा घाइते नेपाली शान्तिसैनिकको निधन


संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफ्फामा कार्यरत नेपाली शान्ति सैनिक अनिल गुरुङको निधन भएको छ । ‘अप्रेसन बाली’का क्रममा घाइते भएका गुरुङको उपचारका क्रममा निधन भएको हो ।

अपरेशन ‘बाली’को दौरान मंगलबार (चैत २२) विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको फायरबाट घाइते भएपछि हेलिकप्टरमार्फत उपचारको लागि बुनियाँस्थित लेबल-२ अस्पताल लगिएको थियो । स्वर्गीय गुरुङ NEP QRF Company (शा.से.) पहिलो डफ्फा, कंगोमा कार्यरत थिए । नेपाली शान्ति सैनिक सुर्खेत जिल्ला, गुर्माकोट-१४ स्थायी घर भएका नेपाली सेनाका सिपाही गुरुङ्ग को मंगलबार नै निधन भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

शान्ति स्थापना जस्तो महान एवम् पवित्र कार्यमा संलग्न नेपाली शान्ति सैनिकको आफ्नो कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण भएकोमा निज शान्ति सैनिकप्रति प्रधान सेनापति प्रभुराम शर्माले समस्त नेपाली सेना परिवारको तर्फबाट सिपाही गुरुङको बलिदानीपूर्ण योगदानप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ । सिंगो नेपाली सेनालाई नै स्तब्ध बनाएको यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनप्रति नेपाली सेनाले समवेदना प्रकट गरेको छ ।