लोसपा अध्यक्ष ठाकुरको स्वास्थ्य अवस्था सुधारोन्मुख

लोसपा अध्यक्ष ठाकुरको स्वास्थ्य अवस्था सुधारोन्मुख


लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

मेडिसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा. जयेन्द्र बज्राचार्यका अनुसार ठाकुरको स्वास्थ्यस्थिति स्थिर र सुधारोन्मुख छ ।

श्वासप्रश्वासमा समस्या आएपछि ठाकुरलाई बुधबार दिउँसो हेलिकप्टरबाट उद्धार गरेर काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पताल लगिएको थियो ।

पार्टी कार्यक्रमका लागि भैरहवामा रहेका अध्यक्ष ठाकुरलाई छाती दुख्ने, ज्वरो आउनेजस्ता समस्या देखिएपछि उपचारका लागि बुधबार नै भैरहवाको भीम अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि उनलाई काठमाडौं ल्याइएको हो ।

ठाकुरलाई निमोनिया देखिएको र उपचार जारी रहेको अस्पतालले जनाएको छ ।