आजदेखि पशुपति क्षेत्रमा तीन दिन हरसिद्धिको नाच प्रस्तुत गरिने

आजदेखि पशुपति क्षेत्रमा तीन दिन हरसिद्धिको नाच प्रस्तुत गरिने


पशुपति क्षेत्रमा आज शुक्रबारदेखि तीन दिनसम्म ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक महत्वको हरसिद्धिको नाच प्रदर्शन गरिने भएको छ । श्री श्री श्री हरसिद्धि (जलद्योः) नाच मूल समितिले तीन दिनसम्म नाचसहित परम्परागत नाटक प्रदर्शन गर्न लागिएको जानकारी दिएको हो ।

जात्राका लागि हरसिद्धि मन्दिरस्थित ललितपुर महानगरपालिका वडा नं २८ बाट १०० जना देवगण आउने जानकारी गराइएको छ । देवगणलाई चावहिलको गोल्डेन लाइट पार्टी प्यालेसमा बस्ने, खाने व्यवस्था गरिएको मूल समितिका संयोजक दिलीप वैद्यले बताए ।

हरसिद्धि नाच राजा विक्रमादित्यका पालामा सुरु भएर उनकै पालामा रोकिएको थियो । विसं ११३३ मा अमर मल्लले यो नाचलाई निरन्तरता दिएको तथ्य विभिन्न भाषा वंशावलीमा पाइने पशुपति क्षेत्रको संस्कृतिका ज्ञाता मुकुन्दराज वैद्यको भनाइ छ ।

अमर मल्लले सुरु गरेपछि पनि बीचमा यो नाच रोकिएको थियो, जसलाई राजा प्रताप मल्लले फेरि सुरु गर्नुभएको हो । विसं २०६६ अघि पनि करिब आधा शताब्दी जात्रा लोप भएको थियो ।

हरसिद्धिका स्थानीयवासी धर्मगोविन्द महर्जन पञ्चायतकालमा गुठी संस्थान, पशुपति र हरसिद्धि क्षेत्रका स्थानीयवासीबीच समन्वय हुन नसक्दा जात्रा रोकिएको बताउँछन् । तीनै वटा पक्षको समन्वयमा ५० वर्षपछि ऐतिहासिक महत्वको नाचसहितको यो जात्रा फेरि सुरु भएको हो ।

जात्रा सुरु भएको इतिहासअनुसार करिब दुई हजार वर्षअघिदेखि नै नेपालमा गीति नाटक परम्परा रहेको पुष्टि हुने पनि संस्कृतिविद् वैद्यले बताए । जात्रा चैत २५ गते पशुपति आई २७ गते बिदा हुने जनाइएको छ ।