कूटनीतिक जिम्मेवारीमा शर्मिलालाई मिलेको सफलता

कूटनीतिक जिम्मेवारीमा शर्मिलालाई मिलेको सफलता


  • राजन घिमिरे

अवसर पाउनु नै महत्वपूर्ण कुरा होइन, प्राप्त अवसर वा जिम्मेवारीलाई कुशलताका साथ निर्वाह गरी सकारात्मक परिणाम हासिल गर्नु ठूलो कुरा हो । कामको अरुले प्रशंसा र चर्चा गर्छ भने त्यो नै सफलताको द्योतक पनि हो ।

हात परेको अवसरलाई सदुपयोग गरी काम देखाउनेले पछि पनि त्यो भन्दा राम्रो अवसर पाउन सक्छ । त्यसो त, इमान्दारितापूर्वक कर्म गर्दै गइयो भने सम्बन्धित निकायबाट त्यसको मूल्याङ्कन भइरहेको हुँदोरहेछ भन्ने यथार्थलाई पनि भूल्न मिल्दैन । मतलब, कर्म गर्दै जाँदा त्यो कर्मले उच्च सम्मान र कदर अवश्य पाउँछ ।

माथि उल्लेखित कुराको गतिलो उदाहरण बनेकी छन् ओमानका लागि पूर्व नेपाली राजदूत शर्मिला पराजुली ढकाल । ओमानका लागि राजदूत रहँदा उनले निर्वाह गरेको भूमिका र कुटनीतिक सक्रियताको चौतर्फी चर्चा एवम् प्रशंसाकै कारण उनी नेपाल सरकारको नजरमा परिरहेकी थिइन् । ओमानबाट राजदूतको कार्यकाल सकाएर नेपाल फर्केको केही महिनामा नै उनलाई नेपाल सरकारले स्पेनको राजदूतको लागि सिफारिस गरेको छ । नेपाल सरकारको यो सिफारिसले शर्मिलाको कर्मको प्रतिफल अनि उनको क्षमता वा दक्षताको सरकारले सही मूल्याङ्कन गरेको रहेछ भन्ने चर्चा पनि यतिबेला चलेको छ ।

‘कोभिड महामारीको समयमा शर्मिलाले ओमानको राजदूतको पद सम्हाल्दा नेपाल र नेपालीका लागि गरेको कार्य साँच्चै सह्राहनीय थियो । यो बाहेक पनि ओमानका प्रवासी नेपालीहरूको दुःख र पीडामा मल्हम लगाउन सफल मानिन्छिन् उनी’– ओमानका प्रवासी नेपालीहरू शर्मिलाको यसरी प्रशंसा गर्ने गर्दछन् । आफ्नो कार्यकालमा ओमान सरकारसमक्ष नेपाल र नेपालीको आवाज पुर्याएर सकारात्मक परिणाम निकाल्ने शर्मिलाको कार्यशैलीको जति प्रशंसा गरे पनि कम हुन्छ ।

विदेशी भूमिमा एउटा कूटनीतिज्ञले निर्वाह गर्नुपर्ने जिम्मेवारीलाई प्रतिफल आउने गरी शर्मिलाले दृढतापूर्वक निर्वाह गर्दा त्यसबाट उनी आफैंको मात्र हैसियत बढेको नभइ नेपाल र नेपालीको शान पनि बढाएको छ ।

शर्मिलाजस्तै अन्य महिला पनि विभिन्न मुलुकमा राजदूत नियुक्त नभएका होइनन्, तर अपवादबाहेक भन्नुपर्दा धेरैले खÞाली ठाउँ मात्र भर्ने काम मात्र गरे भन्दा फरक नपर्ला । मूलुककै प्रतिनिधित्व गर्दै राजदूत भएर विदेश पुग्दा र थुप्रै अवसर हात पर्दा पनि सिन्को भाँच्न नसकेर ‘गुमनाम’ हुनुको अर्थ के ? निस्क्रिय राजदूतले न देशको न त प्रवासमा रहेका नेपालीको हितमा काम गर्न सक्छ । यसकारण धेरै राजदूतहरूले शर्मिला र केही अन्य राजदूतहरूबाट धेरै कुरा सिक्न सक्छन् भन्न सकिन्छ ।

शर्मिला पराजुली ढकालले ओमानको राजदूत रहँदा देखाएको लगनशीलता, कर्तब्यनिष्ठता र मुलुकले आफूलाई सुम्पिएको जिम्मेवारीलाई धर्म नछोडी पूरा गरिन् । त्यसकारण पनि सरकारले उनलाई नयाँ मूलुकको राजदूतको रूपमा सिफारिस गरेको बुझिएको छ । ओमनको राजदूत हुँदा उनले कामका कारण कमाएको शान, मान र इज्जत स्पेनको राजदूत बनेर झनै बढाउने अपेक्षा नेपाली कूटनीति क्षेत्रले लिएको छ । शर्मिलाको अघिल्लो कार्यकालको पर्फर्मेन्सका आधारमा ढुक्क हुन सकिन्छ कि उनले स्पेनका लागि नेपाली राजदूतका रूपमा जिम्मेवारी निर्वाह गरेर आफ्नो मूलुकको गरिमा बढाउने छिन् ।