महँगीले भित्र अनि युद्धले बाहिरको संसार तताएको बेलायत

महँगीले भित्र अनि युद्धले बाहिरको संसार तताएको बेलायत


  • प्रकाश के.सी., लण्डनबाट

पूर्वतिरबाट विहानै हतारिएर उदाउने सूर्यमा शरीरलाई सर्लक्कै तताउन सक्ने क्षमता यो सालको अप्रिल महिनाको मध्यताका पनि आएको छैन, तरै पनि, लण्डनको बेडफोन्ट लेकको माथिल्लो भागमा भएको भियू पोइन्टमा राखिएको बेन्चमा बसेर एकजना बूढो कुइरे मस्तसँग घामको मज्जा लिइरहेको थियो । गोह्रो छालालाई घामको सुकुमार तापले बिस्तारै रत्याउँदै गरेको जसरी रापिएको लाग्ने अनुहारलाई पूर्वतिर पारेर आँखा चिम्लिएको उसलाई त्यतै छाडेर उसको पछाडि रहेको थुम्कोमा बसी म पनि उही घामको मज्जा लिँदै सोँच्न थाल्दछु, लम्पसार परेर पसारिएको पश्चिमी लण्डनको शान्त परिशरतर्फ आँखाहरुलाई फैलाउँदै । परपरसम्म अझै हिउँदे अवयवहरु यथावत देखिन्छन् । सिरेटो बिस्तारै घामको मन्द तापमा वाफिँदै आकासिँदै गरेको झलक्कै देखिन्छ । लण्डनका पुराना घरहरुका धुरीहरुबाट ब्वाइलरका धूँवाहरु चुलिएर आकासिएका देखिन्छन् । यताका यस्ता दृश्यहरुले नेपाली हिउँदे परिवेशको झझल्को दिन पटक्कै सक्दैनन् । तातिएर खल्तीभित्रै थन्किएका हातलाई बाहिर निकाल्न वाध्य भइयो, चेरीलाई काममा छोडेर विहानै सीधा यो डाँडामा आएको थिएँ, उसको फोन आयो…म कता पुगेँ भनेर जान्न खोजेकी रहिछन्, जसले गर्दा उक्त घामको मस्त ताप लिइरहेको कुइरेले फर्केर मतिर हेर्यो, मैले डिस्टर्ब गरेकोमा क्षमा मागेँ, उसले क्षमा दान गर्यो र मौसम साह्रै खुलेकोमा रमाइलो भएको भन्यो, मैले सहमति जनाएँ, ऊ कुरा गर्ने मूडमा देखियो र म उतिर गएँ ।

घाम लागेको दिन, बेलायतमा कुराको थालनी मौसमकै विषयलाई लिएर शुरु हुन्छ । …भनिन्छ, कसैसँग केही काम लिनु छ या केही माग्नु छ भने, राम्रो खुलेको दिन अर्थात् घाम लागेको दिन रोज्नुपर्दछ, त्यो पाइने वा सफल हुने सम्भावना धेरै हुन्छ अन्य दिनहरुको तुलनामा । …यो भेगबाट देखिने परसम्मको दृश्यहरु पचास साठी वर्षदेखि जस्ताको त्यस्तै छन् । यता समयहरु सर्सर्ती हेर्दा बिस्तारै चलेको लाग्दछ तर जीवन अनि जिउने शैलीमा भने व्यापक परिवर्तन भएको छ ।..स्टिभ रहेछन्, ७२ वर्षका, कार्पेन्टर रहेछन्, दुईतीन वर्षबाट अवकासप्राप्त जीवन बाँचिरहेका रहेछन् । अनुभवले गमदार बनाएको मुहारमा उनै अनुभवद्वारा अनुभूतिशील हुने क्रममा चिथोरिएका आभाहरु भरिएको लाग्ने गरी बुझक्की लाग्दथे । मलाई पनि बिस्तारै मिडल एज्ड क्राइसिसले छोएको छ कि क्या हो, यस्तै संगतमा रमाउन पो लाग्दछु । उसको नजिकै चाखपूर्ण उपस्थिति जनाउँदै बस्छु त्यसपछि । … ‘घरमा बसेर बूढ्यौलिएको शरीरलाई तताउनै महंगो पर्ने भयो, यतै बसेर शरीरलाई तताउँ भनेको घाममा ज्यादा ताप नै छैन ।’ …फिस्स हाँस्दै भन्यो स्टिभले, म उसको हाँसोमा केही पीडाजस्तो पन घोलिएको महशुस गर्दैथिएँ । अवकास प्राप्त खासगरी बेलायती स्थानीयहरुलाई तिनको आम यापनका वूढ्यौली भत्ताले पुग्दो नहुँदो रहेछ । मेरै छिमेकी स्यामुयलले एकपटक टेस्कोबाट मैले तरकारीको लागि कुरिलो किनेर ल्याउँदा उसले भनेको अझै याद आउँछ…’ती निक्कै महंगो हुन्छ, जुग बितेको छ मैले त्यो खाएको !’….. स्टिभ शरीरलाई तताउन घाममा पारिलो न्यानो खोज्दै हुन्छ भने भर्खरै समाचारमा पनि कुनै बूढोले भनेको थियो, ग्याँस तथा बिजुलीको बढेको मूल्यको सन्दर्भमा…’म दिनभरि सार्वजनिक बसमा घुमेर हिँड्छु, घरमा हिटर लगाएर बस्न नसकिने भयो अब ।’… (अवकासप्राप्त व्यक्तिहरुलाई बसमा यात्रा गर्दा भाडा तिर्नुपर्दैन ।)

यही महिनाको शुरुबाट बिजुली तथा ग्याँसमा ५४ प्रतिशत, नेसनल इन्सुरेन्समा १.२५ प्रतिशत, पेट्रोल तथा डिजेलमा लगभग ५ प्रतिशतलगायत ब्रेड, अण्डा, बस तथा रेलको भाडा, यअरपोर्ट शुल्क, बैंक इन्ट्रेस्ट रेट, काउन्सिल ट्याक्स, इन्टरनेट आदि विविध सेवा तथा साधनहरुमा यही महिनादेखि एकैचोटि मूल्य वृद्धि भएको छ । ६.१ प्रतिशतले यो मुद्रास्फिति भइरहेको बेलायतमा आम कामदारको तलव न्यूनतम ज्याला दर ४.८ प्रतिशतले बढे तापनि कतिऔं कम्पनीहरुले तदनुरुप कामदारहरुको ज्यालादर अझै बढाएको छैन । आम यापनमा पाउण्डको क्रेयशक्ति घटेको छ । यस्तो लाग्छ, बेलायतमा आम मानिसहरु जिइरहेका होइनन्, बाँचिरहेका छन्, श्वास धानिरहेका छन् । बेलायतमा कन्जर्भेटिभको सरकार आएदेखि सरकारी तर्फबाट बेलायती जनताहरुले विभिन्न विषयहरुमा पाइरहेका आर्थिक कतिऔं सुविधाहरु कटौती भएका छन् भने बिस्तारै मूल्य वृद्धि पनि सोही अनुपातमै भइरहेका छन् । विपक्षहरुले खासगरी यही विषयमा कन्जर्भेटिभ पार्टीको विरोध गर्ने गर्दछन् । विविध सुविधाहरुमा कटौती गरेको भए तापति कन्जर्भेटिभ पार्टी सन् २०१० देखि सरकारमा आएदेखि हरेक वर्ष डेफिसिट अर्थात् वार्षिक घाटा व्यहोरिरहेको छ । सन् २०१० देखि सन् २०२१ सम्म प्रकाशित कन्जर्भेटिभ बजेटहरुमा पूरा हिसाव राख्ने हो भने यो पार्टी सरकारमा जाँदा १,४४४ बिलियन पाउण्डको डेफिसिट भएको छ । हुन त कन्जर्भेटिभको सरकार भएकै पालामा कोभिड महामारी, अफगानी शरणार्थी स्थायीकरण, युक्रेनरसिया युद्ध आदिका कारण सरकारले बढी खर्च गर्नु परेको अवस्थालाई छुट्टै राखे पनि कुनै एक वर्ष छैन, जहाँ देशको आर्थिक वर्ष घाटामा गएको नहोस् । लेबरको सरकार भएको बेलामा उनै गोर्डन ब्राउन (जो तत्कालीन चान्सलर थिए) को पालो (सन् १९९९, २०००) मा बाहेक अरु वर्षहरुमा सरकारले घाटा नब्यहोरेको होइन, तर कन्जर्भेटिभहरुको जत्तिकोले धेरै पनि होइन । एउटा तथ्यांकचाहिँ बिर्सिनु हुँदैन, तथाकथित कटौतीलगायत अन्य पक्षहरुमा भएको आर्थिक वृद्धिले गर्दा देशको वार्षिक आम्दानी पनि धेरै माथि रहेको हो ।

खासगरी बेलायतको मुख्य शहरहरुका विशेष गल्लीहरुमा बितेको केही वर्षदेखि घरबारविहीनहरुलाई ससानो टेन्टमा वा कार्डबोर्डमा रात गुजारिरहेका देख्न सकिन्छ । लगभग सबै सुपरमार्केटहरुमा फ्री फुड (निःशुल्क खाने समांग्रीहरु) स्टलहरु राखिएका हुन्छन्, जुन चाँडै नै रित्तिने गरेका हुन्छन् र देशभरि फूड बैंक (निःशुल्क खाने सामांग्रीहरुको भण्डार)को प्रयोगमा दिनप्रतिदिन धेरैभन्दा धेरै नागरिकहरु आउन थालेको समाचारहरुमा उल्लेख गरिएका हुन्छन् तर यही बेला, अफगानिस्तान, सिरिया आदि देशहरुलगायत अन्य देशहरुबाट विविध कारणले बेलायतमा शरणार्थी अवस्थामा भित्रिनेहरुलाई भने काउन्सिलका विशेष घरहरुमा, विभिन्न होटेलहरुमा पर्याप्त खर्चहरु प्रदान गरी राखिएका हुन्छन् । महामारीको बेलामा महिनौं लगातार काम गर्नेहरुलाई अतिरिक्त मुनाफा दिइएन, तर तिनकै आम्दानीहरुबाट आर्जेको ट्याक्सले भत्ता दिनुपर्ने विविध समूहले योबेला पनि अतिरिक्त विषयमा अतिरिक्त आर्थिक सहयोगहरु हासिल गर्ने गरेका हुन्छन् । हालै बेलायतले युक्रेनलाई हतियारसहित आर्थिक सहयोगमा दिइरहेको उदारताको कुरा केही पछि राख्छु । यस्तै क्रममा स्टिभ, स्यामुयललगायतका अवकासप्राप्त वृद्धहरुदेखि आम नागरिकहरुमा अचानकै महंगो जीवनयापनको मारमा परेका छन्, त्यसप्रति सरकार खासै सम्वेदनशील नभएको प्रतिपक्षसहित सर्वत्र आरोप लागेको छ ।

तीन दिनअघि, लण्डनबाहिर कामकै शिलशिलामा जाँदा सन् २०१७ मा सँगै काम गरेको युक्रेनी साथी दिमित्रीसँग भेट भएको थियो । जाडोले कठ्याँग्रिने रातमा ऊ भने एक टीसर्टमाथि एक पातलो ज्याकेटमा सडकको एक पेटीमा हिँड्दै थियो । मुखबाट श्वास फेर्दा यसै नै चुरोट पिएर धूँवा निकालेजस्तो देखिने जाडोमा ऊ चुरोट तान्दै धूँवाको मुस्लो निकालेर हिँड्दै थियो । सन् २०१६ मा केही महिना नजिक्किएका भएकाले उसलाई देख्ना साथ खुशी भएर म गाडी साइडमा रोकी उसको बाटो छेक्दै अगाडि उभिएको थिएँ । ऊ खुशी भयो, भलाकुसारीहरु गरिए, तर उसको मुहारमा चहकिलो (मेरोजस्तो) खुशी देखिएको थिएन, जो उसको प्रकृतिविपरीत थियो । अचानकै याद आयो, ऊ त युक्रेनी हो, दम्बास क्षेत्रको, ऊ भन्ने गर्थ्यो…-“नेता भनेको त पुटिन हो, उसले डोनाल्ड ट्रम्पलाई अमेरिकामा राष्ट्रपति बनाएको हो, उसको अगाडि टेरेशा, डोनाल्ड, एन्जेला, फ्रान्क्वाइजहरु त उसका विद्यार्थीहरुजस्ता लाग्दछन् ।”… दिमित्री रसियन भार्षी युक्रेनी हो, जो, सोभियतसँघ टुटेपछि अनि युक्रेन स्वतन्त्र बनेपछि १८ वर्षको उमेरमा सन् १९९२ मा बेलायत भित्रिएको हो । उसमा उसको स्वभावअनुरुप चहक नदेखिएकोले सोधें…-“के भो ? तिम्रो पुटिनले त तहल्कै मच्याउँदै छन् त तिम्रो देशमा ?”… ऊ पहिले त फिस्स हाँस्यो, अनि चुरोटको एक लामो सूर्को तानेर ठूटोलाई भुईँमा फ्याली त्यसलाई निर्ममतापूर्वक कुचेलेर त्यस्तै लामो अनि बाक्लो धूँवाहरु कठ्याँग्रिएको साँझको चिसो आकाशमा फाल्दै भन्यो…-“भर्खरै पुटिनले फालेको बमको छिर्काले लागेर मेरो ठूलो बुबाको मृत्यु भयो डोनेस्कमा । पहिला पुटिन ठीक लाग्थ्यो, अहिले लाग्दैन त्यस्तो । डोनेस्क जानु पर्ने तर यहाँ घरमा श्रीमती तथा बच्चाहरुले दिँदैनन् जान । योपालि पुटिनले ठीक गरेनन्, वास्तविक रसियन भनेको त युक्रेनीयन नै हुन्, डटेरै लडेका छन् ।”… धेरै बेर यसै विषयमा कुराहरु भए उसँग । संसारमा खासगरी अमेरिकालाई सीधा टक्कर दिन सक्ने व्यक्तिको रुपमा पुटिनलाई प्रशंसा गर्ने दिमित्री, रसियाले युक्रेनीयनहरुमाथि गरेको हमलापछि पुटिनको विरोधी भएको छ । झलक्क हेर्दा हाम्रा तराईबासी नेपालीहरु जस्तै लाग्ने । खासमा तराईबासीहरुको झुकाउ स्पष्ट रुपमा भारततिर हुन्छ, त्यहाँ केहीअधि तराईलाई स्वतन्त्र गराउनुपर्छ भनेर आन्दोलन पनि केहीअघि राखिका थिए, (तत्कालीन उपप्राधानमन्त्री कमल थापा लण्डन आउँदा सो पर्यायका व्यानरहरु राखेर उनको विरोध तराई मूलका नेपाली बेलायती केही नागरिकहरुले गरेका थिए) तर, सिमानामा भारतीय आर्मी विरुद्धको जम्काभेटमा पक्का राष्ट्रवादी नेपाली बनी डटेर सामना गरेको विभिन्न भीडीयो फुटेजहरुमा देखिएका छन् । अचानकै पुटिनले युक्रेनमाथि गरेको युद्धपछि आम अनि सर्वसाधारण रसियनभार्षी युक्रेनीयनहरु पनि अचानकै राष्ट्रवादी बनेका छन् । अत्याचार सबैलाई अप्रिय लाग्दछ नै ।

स्टिभ, कागजमा सूर्ती राखेर त्यसलाई चुरोट बनाउँदै थियो । आकाशमा घाम बिहानको नौ बजे नै पूर्ण रुपले तिख्खारिएर छाएकोले अहिले मस्तको न्यानो भएको थियो । बेडफोन्ट लेकभरि टहल्ने मानिसहरु थपिएका थिए, यहाँबाट परपरसम्म देखिएका घरहरु स्पष्ट देखिएका थिए, आकाशमा हिथ्रोको पश्चिमतर्फबाट लाइनजस्तै गरेर हवाइजहाजहरु अवतरण हुँदै गरेको देखिन्थ्यो, समूलमा दिन मस्तको थियो र स्टिभ त्यसैले खुलेका थिए ।….”बेलायत सरकारले आफूलाई विश्वमा विशेष बनाउन चाहान्छ, अन्य देशहरुमा भएको अन्यायअत्याचारको विरोधमा बोल्छ, तिनको समस्यामा आर्थिक सहयोग गर्दछ तर आफ्नो देशमा खास गर्दैन । बेलायत वास्तवमा कम्युनिस्ट देश भने हुन्छ । जीवनभर काम गर्यो, चालीस प्रतिशत कमाइ सरकारलाई बुझायो, जीवनभरि कमाएर मोर्गेज तिर्यो, पछि त्यही कमाएको सम्पतिको पनि फेरि ट्याक्स तिर्यो । जता पनि ट्याक्स । वास्तवमा भन्ने भए, अहिले पूर्ण रुपमा रिटायर्ड लाइफ बिताउनेहरुका हकमा तिनको जीवन, शरणार्थीहरुको भन्दा तल्लो स्तरको छ । सरकारले त्यत्रो पैसा अन्य मुलुकलाई सहयोग गर्न भनी छुट्याउँछ, आफ्नो जनताहरुका लागि खोई ? तिमी यहाँ जन्मेका होइनौ भने, जीवन जिउनको लागि राम्रो देश चुनेनौ तिमीले यहाँ आएर । यहाँ जिइने होइन, निम्नतम रुपमा सुरक्षित प्राण धानिन्छ, वस् त्यत्ति हो ।”….जीवनको तिक्ततालाई मिल्काएजसरी चुरोटको लामो कस तानोर फूर्रर फाल्यो निमेषमा त्यसपछि ।

युक्रेनलाई रसियाको विरुद्धमा साथ दिने बेलायतको शौख होइन, जिम्मेदारी हो । सोभियत सँघ टुटेपछि, युक्रेन स्वतन्त्र भएको हो, सन् १९९१ मा, त्यतिबेला, न्युक्लियर हतियारहरुको भण्डार गर्नेमा युक्रेन तेस्रो ठूलो मुलुक रहेको थियो । युक्रेनको सुरक्षाको ज्ञारेन्टी लिखित रुपमा (बुडापेष्ट मेमोरान्डम) रसिया, अमेरिका अनि बेलायतले गरेपछि युक्रेनले आफ्ना सबै न्युक्लिएर हतियारहरु रसियालाई हस्तान्तरण गरेको थियो । आज त्यही तीनमध्ये एक सुरक्षाको ज्ञारेन्टी दिने मुलुक रसियाले युक्रेनलाई हत्याउनको लागि हमला गरेकोमा बेलायतलगायत अमेरिकाले तेस्रो विश्वयुद्ध नजगाउने गरी प्रशस्तै हतियारलगायत आर्थिक सहयोग गरी युक्रेनको आड बनेको हो । विश्वमा विद्यमान तत्कालीन व्यवस्थाले गर्दा इन्धनलगायतमा मूल्यवृद्धि भएको, कोरोना महामारीमा आम नागरिकहरुलगायत स्वास्थ्य विभागमा गरिएको खर्चहरुलाई उठाउन राष्ट्रिय विमाको दरमा वृद्धि गर्नु परेको वाध्यता सरकारले बताउँदै सरकारी तर्फबाट आम जनतालाई राहत दिने क्रममा पाँच पेन्स प्रतिलिटर छुट, वार्षिक १५० पाउण्ड काउन्सिल ट्याक्समा छुट दिएको ठूलो कुरा भएको बताउँदैछ, जब कि, महिनाको एक वा दुईपटक कारमा गरिने फूल ट्यांकमा मात्र दुईदेखि तीन पाउण्डको छुट, नयाँ बढेको काउन्सिल ट्याक्समा वार्षिक दिएको १५० पाउण्ड छुट भनेको सापोनापो बराबर भएको हुने भएको छ ।

स्टिभ फेरि अर्को चुरोट सल्काउन थाल्छ, निश्चय नै उसलाई हात अनि अँगालोभरि प्रशस्तै समयहरु प्राप्त भएका छन्, उनको अवकासप्राप्त जीवनमा उनको सामाजिक अनि पारिवारिक प्राप्ति के छन्, सोध्न सकिँन, किन सबैलाई थाहै छ, १८ वर्ष कटेपछि छुट्टिने बेलायती सन्तानहरुले दिने क्रिसमसमा एक भेट वा एक उपहार वा एक फोनकलबाहेक आम रुपमा तिनीहरु आफू सग्लो र सिँग्लो हुन्, वाह्र छोरा तेह्र नाति, बूढाको धोंक्रो काँधैमाथि । स्टिभले चिनजान गर्न पाएकोमा धन्यवाद दिँदै म घरतिर लाग्दछु, बेलुका जो काममा जानु छ, त्यसको लागि निन्द्रा पुग्दो गरेर सुत्नु जो छ ।