आर्थिक संकट समाधानका लागि एनआरएनएको आकस्मिक बैठक सम्पन्न

आर्थिक संकट समाधानका लागि एनआरएनएको आकस्मिक बैठक सम्पन्न


  • राजन घिमिरे

देशमा विदेशी मुद्रा (डलर)को कमीलाई के-कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने उद्देश्यका साथ एनआरएनएको आकस्मिक बैठक सोमबार (११ अप्रिल) संस्थाका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा संस्थाका दुई अध्यक्ष डा. बद्री केसी र रविना थापाको पनि सहभागिता रहेको थियो ।

आकस्मिक बैठकले विदेशी मुद्रा (डलर)को कमीलाई कसरी कम गर्न सकिन्छ भनेर एनआरएनए आइसीसीले अर्थमन्त्री, राष्ट्रबैंकका गभर्नर लगायतको उपस्थितिमा १३ अप्रिलमा जुममार्फत छलफल गर्ने कार्यक्रम तय गरेको छ । यसरी गरिने छलफलमा विदेशमा रहेका सबै गैरआवासीय नेपालीलाई नेपालका कुनै पनि बैंकमा डलर एकाउन्ट खोल्न अनुरोध गर्ने र उक्त एकाउन्टमा कम्तीमा एक हजार डलर सम्बन्धित देशको बैंकमार्फत पठाउन अनुरोध गर्ने छलफल भएको संघका प्रवक्ता सोम सापकोटा र शिव बरूवालले जानकारी गराएका छन् ।

यसैगरी छलफलले विदेशबाट अनलाइनमार्फत डलर एकाउन्ट खोल्दा आइपर्ने प्राविधिक समस्या, डलर डाइरेक्ट पठाउँदा, नेपालमा डलर एकाउन्ट खोलेर बचतमा रख्दा र आवश्यक परेको बेलामा उक्त रकम फिर्ता लग्दा देखिने समस्यालगायत अन्य गैरआवासीय नेपालीका लागि मौद्रिक नीतिमा भएका समस्याको बारेमा अध्ययन गरि उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल सरकारका प्रतिनिधिलाई प्रस्तुत गर्नको लागि उपाध्यक्ष भूषण घिमिरेको नेतृत्वमा सबै उपाध्यक्ष रहने गरि एक कार्यदल समेत गठन गरेको छ । छलफललाई मूर्तरूप दिन संघले दुई दिनभित्र कार्यक्रममा सबै राष्ट्रिय समितिमार्फत अधिकतम गैरआवासीय नेपालीहरुलाई कार्यक्रममा जोड्न प्रचारप्रसारको लागि महासचिवद्वय गौरी जोशी र डा. केशव पौडेलको नेतृत्वमा सम्पुर्ण उप महासचिव, सचिव प्रवक्ता रहने गरी प्रचारप्रसार समिति समेत गठन गरेको छ ।

आकस्मिक बैठकले कोषाध्यक्षहरुको नेतृत्वमा सबै सहकोषाध्यक्ष रहने गरी डलर एकाउन्ट खोल्नको लागि चाहिने कागज पत्र, प्रक्रिया र आर्थिक पक्षको अध्ययन गरी सबै गैरआवासीय नेपालीलाई जानकारी गराउने र एकाउन्ट खोल्न सहजीकरण गर्ने निर्णय पनि गरिएको जानकारी प्रवक्ता शिव बरूवाल र सोम सापकोटाले दिएका छन् ।