परम्परावादी धारको उदय

परम्परावादी धारको उदय


मोरङमा भएको कार्यक्रमको भिडलाई अङ्कित गर्दै मैले भनेको थिएँ- ‘यो कमल थापाको लागि आएको भिड हैन, एजेण्डाको निमित्त आएको जमात हो ।’ जवाफमा त्यसबेला उनले भनेका थिए- ‘यो कुरा मैले बुझेको छु ।’ तर व्यवहारले के प्रमाणित गरिदियो भने उनले यो कुरा बुझेका रहेनछन् ।
  • स्वयम्भूनाथ कार्की

नेपाली राजनीतिमा बहुदलीय व्यवस्थाको पुनःस्थापना भयो ०४६ साल चैत्र २६ गते । त्यसपछि पञ्चायतमा स्थान बनाएकाहरूले दल खोले । राजनैतिक दलको अवधारणासँग व्यवहारतः अपरिचित तर गुटगत राजनीतिमा पोख्त पञ्चहरू एक दलमा समेटिन सकेनन् । फलतः ०४७ सालको जेष्ट १५ गते एकै साइतमा चन्द र थापा नामको पेट बोकेर दुई राष्ट्रिय प्रजातन्त्र पार्टीको जन्म भयो । आरम्भमा आफ्नो पारम्परिक मान्यताको आधारमा जनतामा जाने आशा गरिएको थियो, तर त्यो भएन । विगत झण्डै ३० वर्षमा आफूले गरेको कामलाई विरोधिहरूले जस्तै नाकाम गरेको स्विकार गर्दै मौकामा चौका हान्न तल्लिन रह्यो । तर पनि परम्परावादी जनताले यसलाई आफ्नो धारको दलको रूपमा विश्वास गरिरहे । कुनै बेला त फेरि खुट्टा टेक्ला कि भन्ने आशमा रहेका जनता धर्मर नै रहे । बाटो बिराए पनि मित्र मानेर त्यसैमा संगठित रहे ।

तीन दशकभन्दा धेरै समयपछि बल्ल यो धारको उदय भएको छ । दक्षिणपन्थी नामको क्रान्तिकारी वामपन्थी धारले जडवादी अनि परिवर्तनविरोधि अर्थ लगाए पनि परम्परावादी धारले परिवर्तन अस्विकार गर्ने होइन । वामपन्थी धारले पुरानो भत्काएर नयाँ बनाउने मान्यता राख्छ । परम्परावादी धारले पुरानोमा सुधार गरेर समाजले पचाउन सक्ने गरेर क्रमैसँग परिवर्तन गर्ने मान्यता राख्छ । कुन सही कुन गलत भन्नुभन्दा पहिले नेपालले भोगेका परिवर्तनका सात दशकको अनुभव सम्झनु पर्दछ । यो कालखण्डमा नेपालले सात वटा त संविधान नै भोगिसकेको छ । यो बीचमा झण्डै तीन दशक परम्परावादी धारको स्थिर तर सहज परिवर्तनबाहेक अन्य समय भत्काउँदै बनाउँदै गर्नमै बितेको छ । परम्परावादी धारको नेतृत्व गर्ने भनिएका नेतृत्वको सत्ता-शक्तिको निमित्त तालमेलको नाममा गरिएको चाकरी पनि उजागर भयो । उपप्रधानमन्त्रीको लोभमा वामपन्थी नेता ओलीलाई राष्ट्रवादीको बर्को ओढाउने कमल थापा थिए ।

राप्रपामा रहेको सूबथा समुह नेपाली काङ्ग्रेसमा गएपछि पनि पार्टीमा खासै फरक परेन । पछिल्लो महाधिवेशनमा भएको आफ्नो प्राविधिक हारको दोष राजालाई दिएर अलग भएका कमल थापाले फरक पार्न सक्थे । गणतन्त्रको विपक्षमा चार मत खसाउने राप्रपा नेपालको अध्यक्ष भएको नाताले गणतन्त्र मन नपराउनेले उनप्रति आस्था राखेकै थिए । उनी अध्यक्षमा हार्दा रद्द भएको अधिकांश मत उनको नै थियो भनिन्छ । त्यो मत फरक परेको मतभन्दा धेरै थियो भन्ने कुरा चुहिएको पनि थियो । तर जुन स्तरको चुनौती उनले पाए त्यसले पार्टीलाई पहिले जस्तो रोकेर राख्न सम्भव थिएन, त्यसैले उनले अलग बाटो चुने । गणतन्त्रले उनलाई विश्वास नगर्ने अवस्था हुँदासम्म विपक्षमा रहेका उनले विश्वास जित्न कुनै कसर बाँकी राखेनन् ।

ओली मन्त्रिमण्डलमा परराष्ट्र र स्थानीय मामिला मन्त्रालय दुवै आफूले राख्दा धेरैको आशा थियो त्यो मौका उनले विदेशमा आफ्नो एजेण्डा बुझाउन र स्वदेशमा संगठन विस्तारको निमित्त उपयोग गर्ने छन् । तर उनको क्रियाकलापबाट समर्थकहरूले उनले बोकेको भनेको एजेण्डा केवल गणतन्त्रवादीहरूले आफूलाई विश्वास नगर्दासम्मको रहेछ भन्ने बुझे । स्वदेशमा संगठनको त कुन हविगत भयो भने चौथो शक्ति भएको दलले आफ्नो राष्ट्रिय दलको मान्यता पनि कायम राख्न सकेन । उनले अर्को राप्रपा नेपालमार्फत राजसंस्थाको एजेण्डा छोडेको घोषणा गरे, राप्रपाले एकाएक गति लियो । यो किन भयो भन्ने विवेचन गर्न ठूलो विज्ञताको आवश्यकता पर्दैन । नेतृत्वले यो वेग रोकेर राखेको रहेछ भन्ने बुझ्न कुनै कठिनाइ छैन । यो वेग उनको स्थानमा आएका लिङ्देनको व्यक्तिपूजा हैन । यो परम्परावादी धारमा लगाइएको बाँध फुटेको परिणाम हो ।

सायद विराटनगरको जेनियल होटेलको लवीमा पङ्क्तिकारसँग भएको वार्तालाप कमल थापालाई सम्झना होला । चारसिटे राप्रपा नेपालका अध्यक्षको मोरङमा भएको कार्यक्रमको भिडलाई अङ्कित गर्दै मैले भनेको थिएँ- ‘यो कमल थापाको लागि आएको भिड हैन, एजेण्डाको निमित्त आएको जमात हो ।’ जवाफमा त्यसबेला उनले भनेका थिए- ‘यो कुरा मैले बुझेको छु ।’ तर व्यवहारले के प्रमाणित गरिदियो भने उनले यो कुरा बुझेका रहेनछन् । यो कुरा परम्परावादी धार बोक्ने हरेक दल, हरेक समुहलाई पनि भन्छु, ‘परम्परावादी धारमा नेतापुजा हुन्न, धार छोड्ने नेतालाई समर्थक जनताले छोड्छन् !’

अन्तमा, नेतृत्व परिवर्तनको छोटो समयमै ‘के नापिस् त ?’ भन्ने शैलीमा सवाल गर्ने थापाभक्तहरूलाई ओठे जवाफ फर्काउन चाहन्छु- ‘कमल थापाले डेढ दशक नेतृत्व गर्दाचाहिँ के नापियो ?!’ फेरि राजसंस्थाको एजेण्डा छोड्नेहरूलाई ‘के नापियो ?’ सोध्न के खाँचो ? अभद्रता झल्कने शब्द प्रयोग गर्नुपरेकोमा पाठकसमक्ष क्षमायाचना छ ।