जनता के चाहन्छन् ?

जनता के चाहन्छन् ?


प्रजातन्त्रमा निर्वाचन महत्वपूर्ण पक्ष हो तर उम्मेद्वारहरूले आफूले बोलेको बोलीको उत्तरदायित्व नलिँदा मानिसलाई निर्वाचनमा त ‘मान्छेले जे पनि भनिहाल्छन् नि’ भन्ने भएको छ । जनताले चाहने कुरा सामान्य छन् तर निर्वाचनका बेला बाँडिने सपना भने असामान्य प्रकारका हुने गरेका छन्
  • बबिता बस्नेत

स्थानीय निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू घोषणापत्र बनाउनमा तल्लिन छन् । यो राख्ने, त्यो राख्ने, गर्न सक्ने/नसक्ने कुरासँग खासै वास्ता नगरी सकेसम्म धेरै कुरा राख्ने होडमा छन् । कुन दलको घोषणापत्र राम्रो छ त्यहीअनुुरुप भोट बढी आउँछ भन्ने विगतको मान्यता अहिलेसम्म जारी छ । स्थानीय निर्वाचनमा उम्मेद्वार बन्ने मान्छे आफ्नै गाउँ-ठाउँका भएको र त्यहाँ उठ्ने एवम् भोट हाल्ने मान्छे पनि वरिपरिकै भएका कारण आफ्नो ठाउँमा के चाहिएको छ ? जनता के चाहन्छन् ? जनप्रतिनिधि बनिसकेका र बन्न चाहनेहरूलाई स्वतः जानकारी हुनुपर्ने हो तर थाहै नभए जस्तो गरी फूलबुट्टा भरेर घोषणापत्र नामको ‘सपना पत्र’ बनाउने काम भइरहेको छ । यो वर्ष घोषणापत्र बाँड्दै गर्दा पाँच वर्षअगाडिको घोषणापत्रमा उल्लेख भएका के-के कुराहरू पूरा भए ? के-के भएनन् ? भएनन् भने किन भएनन् ? पुराना जनप्रतिनिधिहरूले यस्ता कुराको जानकारी सर्वसाधारणलाई दिन सके विश्वासको वातावरण बन्न सक्छ । यदि पुराना प्रतिबद्धतालाई बेवास्ता गरेर अगाडि बढ्ने हो भने जनताले प्रतिबद्धताको चाङ मात्रै प्राप्त गर्नेछन् । जुन विगतदेखि अहिलेसम्म हुँदै आएको छ । उम्मेद्वारहरूले आफूले जितेपछि यो-यो काम गर्छु भनी किटेर घोषणा गर्ने तर कामचाहिँ नगर्ने गर्दा निर्वाचनकै बदनाम हुन थालेको छ । प्रजातन्त्रमा निर्वाचन महत्वपूर्ण पक्ष हो तर उम्मेद्वारहरूले आफूले बोलेको बोलीको उत्तरदायित्व नलिँदा मानिसलाई निर्वाचनमा त ‘मान्छेले जे पनि भनिहाल्छन् नि’ भन्ने भएको छ ।

पाँच वर्षअघिका घोषणापत्र हेर्ने हो भने अहिले मुलुकका धेरै शहरहरू ‘स्मार्ट’ बन्नुपर्ने हो । स्मार्ट सिटीको अर्थ के हो थाहा नपाई ‘स्मार्ट सिटी’ बनाउने भनी भाषण गर्नेहरूको सङ्ख्या ठुलो थियो । विद्यासुन्दरको पालामा काठमाडौंको हालत कसरी गुज्रियो सबैले भोगेकै छौँ । अन्य शहर र गाउँहरूमा पनि यदि जनप्रतिनिधिहरूले बोलेको कुरा पूरा गरेको भए अहिले अवस्था फरक हुन सक्थ्यो । शहर-बजारको हकमा जनताले चाहने फोहोरको उचित ब्यवस्थापनसहितको सफा शहर, खानेपानी, बिजुलीबत्ति, इन्टरनेट, शिक्षा र स्वास्थ्यको सुविधा, ट्राफिक जामको ब्यस्थापनलगायतका कुरा हुन् । गाउँको हकमा बाटोघाटो, पुलपुलेसा, बिउबिजन, मललगयत कृषिका लागि आवश्यक कुराहरू एवम् आफूले उत्पादन गरेका बस्तुको बजार ब्यवस्थापन । जनताले चाहने कुरा सामान्य छन् तर निर्वाचनका बेला बाँडिने सपना भने असामान्य प्रकारका हुने गरेका छन् ।

अहिले हामीकहाँ ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २७६ वटा नगरपालिका, ४६० वटा गाउँपालिका गरी ७५३ स्थानीय संरचना छन् । वडामा विभाजित गरेर हेर्दा जम्मा ६ हजार ७ सय ४३ वटा वडा रहेका छन् । यसरी हेर्दा वडा निकै सशक्त संरचना हो । जग बलियो भए घर बलियो हुन्छ भन्ने हाम्रो नेपाली भनाइ छ । ६,७४३ वटा वडाबाट हामीले उक्त वडालाई पुग्ने दुध, तेल, बेसार, अदुवा, तरकारीलगायतका भान्सामा प्रत्येक दिन आवश्यक पर्ने सामानसहित खाद्यान्न, लत्ता कपडा, जुत्ता चप्पल, साबुनलगायतका सामानहरू वडास्तरमै उत्पादन गर्न सकियो भने त्योभन्दा ठुलो विकास के होला ? घर-घरबाट अहिले युवाहरू वैदेशिक रोजगारमा गएका छन् । आफ्नै वडामा कपडा उद्योग, साबुन उद्योग, तेलको मिल, जुत्ता कारखाना, कृषि फार्म, बिउबिजनका दोकान, घिउ उत्पादन गर्ने डेरी, खसी बाख्रा, कुखुरा पालन, साथमा यी र यस्ता ब्यवसायका लागि सिपको तालिम । यस्ता उद्योग ब्यवसाय आफ्नै गाउँ-ठाउँमा स्थापित भए कुन युवा ऋण खोजेर विदेश जालान् ? यी गर्नै नसकिने काम पनि होइनन् ।

मतदाताहरूले बिनास्वार्थ राम्रा मानिसहरू हेरेर मतदान गरेमा निश्चय नै राम्रो नेतृत्व आउने छ । यस्तो नेतृत्व जसले आफ्नो सुविधाभन्दा जनताको सुविधालाई ध्यान देओस् । यस्तो नेतृत्व जसले कर्मचारीलाई बजेट मिलाउन नभइ सही ठाउँमा लगानी गर्न निर्देशन दिओस्, यस्तो नेतृत्व जसले आफ्नो गाउँ–ठाउँमै उद्योग ब्यवसाय स्थापना गर्ने सपना देखोस् र त्यसलाई ब्यवहारमा उतारोस् ।

गाउँ-गाउँ र शहरबाट अहिले हाम्रो ठुलो रकम चाइनिज र भारतीय कपडामा लगानी भइरहेको छ । हामीले लगाउने सारी, कुर्ता, सल, ओड्ने ओछ्याउने, सर्ट पाइन्ट, जुत्ता चप्पल सबै नै भारत र चीनबाट आउँछन् । यी सामानहरू बनाउने कच्चा पदार्थ के हो ? कसरी बनाउने हो ? सीप सिक्नका लागि सुरुमा हामी बाहिरबाट मानिस मगाउन सक्छौँ । तिनले सिकाएपछि सिक्नेहरूले सिकाउने ब्यवस्था गर्न सकिन्छ । हामीले नुहाउने साबुन, स्याम्पो र लुगा धुने सर्फमा ठुलो रकम बाहिरिन्छ । जुन कुरा हामीले वडास्तरमा सहजै गर्न सक्छौँ । यसले ब्यक्तिलाई रोजगारी मात्र दिँदैन मुलुकको आत्मनिर्भरता पनि बढाउँछ । यस्ता कुराहरूको सपना देख्ने र त्यसलाई पूरा गर्ने इच्छा शक्ति भएका वडाध्यक्षहरू अहिले हामीलाई चाहिएको छ । झट्ट हेर्दा मेयर या अध्यक्ष ठुलो देखिए पनि वडाध्यक्ष र सदस्यहरू निकै शक्तिशाली पद हुन् । जसलाई आ-आफ्नो स्थानमा राम्रो काम गराउन मेयर या अध्यक्षको ठुलो भूमिका हुन्छ ।

नेता र कर्मचारीले इमान्दारीपूर्वक काम गर्ने हो भनेँ हाम्रो जस्तो सानो देश बनाउन गाह्रो छैन । असल नेतृत्व छान्नका लागि भने एक मात्र भूमिका हामी जनताको छ । यसपटकको स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्दैछन् । मतदातामध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५३० जना महिला र १८३ जना अन्य रहेका छन् । यी सबै मतदाताहरूले बिना स्वार्थ राम्रा मानिसहरू हेरेर मतदान गरेमा निश्चय नै राम्रो नेतृत्व आउने छ । यस्तो नेतृत्व जसले आफ्नो सुविधाभन्दा जनताको सुविधालाई ध्यान देओस् । यस्तो नेतृत्व जसले कर्मचारीलाई बजेट मिलाउन नभइ सही ठाउँमा लगानी गर्न निर्देशन दिओस्, यस्तो नेतृत्व जसले आफ्नो गाउँ-ठाउँमै उद्योग ब्यवसाय स्थापना गर्ने सपना देखोस् र त्यसलाई ब्यवहारमा उतारोस् ।

स्थानीय निर्वाचनमा उम्मेद्वारहरूले विगतका गल्तीबाट पाठ सिक्नुपर्छ । सबै गल्ती आफैले मात्र गरेर साध्य छैन, अरुको गल्तीबाट सिक्ने नेतृत्व आओस् । गत निर्वाचनले स्थानीय तहमा ४१ प्रतिशत महिलाहरूको सहभागिता गरायो । हाम्रो जस्तो मुलुकमा यो निकै राम्रो सहभागिता हो । महिलासँगै अन्य लिङ्गीको पनि सहभागिता बढाउने अवस्था यो निर्वाचनमा हुनु आवश्यक छ । अहिले २.३९ प्रतिशत महिला मेयर र २.३९ प्रतिशत महिला अध्यक्षहरू रहेका छन् । स्थानीय निर्वाचनले राजनीतिमा महिलाको सहभागितालाई समानुपातिक प्रतिनिधित्वतर्फ अग्रसर गरिरहेको छ । महिला, पुरुष, अन्य लिङ्गी जोसुकै नेतृत्वमा आए पनि आफ्नो नगर र गाउँलाई आत्मनिर्भर बनाउन भन्ने चाहना सर्वसाधारणको छ । सबैले आ-आफ्नो वडा, गाउँ र नगरपालिकाहरूलाई आत्मनिर्भर बनाउने अठोट लिएर काम गर्ने हो भने मुलुक स्वतः आत्मनिर्भर हुन्छ । जनताले चाहेको यही आत्मनिर्भरता हो । काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा, लोसपा, जसपा, अन्य दल या स्वतन्त्र जो आए पनि मुलुक र जनता आत्मनिर्भरतातर्फ लाने नेतृत्व जनतालाई चाहिएको छ । जसले जे-जे सपना देखाए पनि अहिलेका लागि जनतालाई चाहिएको यत्ति नै हो ।