पुटिनद्वारा चान्सलरसँग हात मिलाउन पनि अस्वीकार !

पुटिनद्वारा चान्सलरसँग हात मिलाउन पनि अस्वीकार !


अष्ट्रियाका चान्सलर कार्ल नेहमारसँग रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हात मिलाउन र तस्बिर लिनसमेत अस्वीकार गरेको विषयले संसारब्यापी चर्चा पाएको छ । रसियाले युक्रेनमाथि हमला गरेको छयालिसौँ दिनमा अष्ट्रियाली चान्सलरले पुटिनसँग वार्तालाप गरेका हुन् ।

पुटिनसँग वार्ता गर्न नेहमार मस्को पुगेका थिए र, उक्त वार्ता मस्कोनजिकै रहेको पुटिनको आफ्नो एक गोप्य भिल्लामा सम्पन्न भएको थियो । करिब सवा घण्टासम्म चलेको बैठकमा नेहमारले पुटिनलाई युक्रेनी सार्वभौमिकताको सम्मान गर्दै युद्ध रोकेर संवाद र सहमति गर्न आग्रह गरेका थिए । नेहमारको कुरा गम्भीरतापूर्वक सुनेका पुटिन उनीसँग खुलेर संवाद गर्न इच्छुक नभएको बताइएको छ । भेटवार्तामा पुटिनले आफ्नो मुलुकको सूरक्षाका निम्ति जस्तोसुकै कदम चाल्न आफू पछि नहट्ने सङ्केत दिएको बुझिएको छ ।

अष्ट्रियाबाट सागर सुवेदीले गराउनुभएको जानकारीअनुसार रसियन सेनाले युक्रेनमा आमहत्या गरेको र यो विषय संयुक्त राष्ट्र सङ्घ तथा अन्तर्राष्ट्रिय अदालतसम्म पुगेको भन्दै नेहमारले पुटिनकै सामु उनको निन्दा गरेका थिए । सोमबार नेहमार र पुटिनबीचको वार्तालाप उपलब्धिमूलक रहेन । नेहमारले आफूलाई भेटेर आलोचना र निन्दा बाहेक केही गर्ने नठानेर नै हुनुपर्छ पुटिनले नेहमारसँग हात मिलाउन र सँगै तस्बिर लिनसमेत अस्वीकार गरेका थिए । तर आलोचना मात्र सुन्नुपर्ने जान्दाजान्दै पनि पुटिनले नेहमारसँग किन भेट गरे ? यो भने रोचक र रहस्यको विषय बनेको छ ।

हास्यकलाकारितामा अब्बल मानिएका जिलेन्स्कीले युक्रेनको सत्ता सम्हालेपछि उनले रसियालाई ‘छेडछाड’ गरेर युक्रेनी जनतालाई हसाउँदै आएका थिए । तर जब जिलेन्स्कीले नेटोमा सामेल हुने निर्णय लिए, उक्त निर्णय भने युक्रेनका निम्ति निकै महँगो सावित भएको छ । विजय हाशील नभएसम्म रसिया युक्रेनबाट फर्कने सम्भावना न्यून छ भने युरोपका नेटोसम्बद्ध मुलुक र अमेरिकाको आडभरोसा पाएका जिलेन्स्की अझै हार स्वीकार गर्ने मानसिकतामा देखिएका छैनन् । त्यसैले युक्रेन-रसिया युद्ध अझै लम्बिन सक्ने सम्भावना बढेको छ ।