प्रधानमन्त्रीको गृहजिल्लामा रोचक र सकसपूर्ण बन्दै स्थानीय तहको निर्वाचन

प्रधानमन्त्रीको गृहजिल्लामा रोचक र सकसपूर्ण बन्दै स्थानीय तहको निर्वाचन


  • डम्बर निदाल, डडेल्धुरा

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा आसन्न स्थानीय तह निर्वाचनका लागि चहलपहल शुरु भएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा चुनावी सरगर्मी बढेसँगै स्थानीय तहअन्तर्गत ५२ वडाका लागि हुने आगामी स्थानीय तहको निर्वाचन रोचक हुने देखिएको छ ।

डडेल्धुरामा गठबन्धनलाई सत्तारुढ दलका जिल्ला-नेताहरूले सहज रूपमा लिए पनि सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दलबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएपछि मुख्य दलहरू चुनावी अभियानमा जोडतोडका साथ लागेका छन् ।

जिल्लामा चुनावी तालमेलका लागी गरिएको गठबन्धनको बैठक दुई चोटी बसेको भए पनि परिणाम निष्कर्षविहीन भएकाले पार्टीहरू आ–आफ्नै हिसाबले आन्तरिक छलफल गरी तयारी गरीरहेको कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले जानकारी दिए । साथै पार्टीभित्रको आन्तरिक विवादका बारेका समेत असन्तुष्ट पक्षसँग छलफल भइरहेको र छिट्टै समस्याको समाधान गरिने उनले बताए । मिल्न सक्ने जति मिल्ने नमिलेको ठाउँमा आ-आफ्नै ढंगबाट अगाडि बढ्ने बताइएको छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार १ लाख ३९ हजार चार सय २० जनसंख्या रहेको डडेल्धुरा जिल्लामा ९४ हजार ३ सय १४ जना मतदाता रहेका छन् । डडेल्धुरामा २ नगरपालिका र ५ गाउँपालिका गरी ७ स्थानीय तह रहेका छन् । जसमा काङ्ग्रेसले २०७४ को स्थानीय तहको निर्वाचनमा एउटा नगरपालिका र ३ गाउँपालिका गरी ४ वटा पालिकामा जितेको थियो भने २ वटामा एमाले र एक स्थानीय तहमा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेकोे थियो । तर, जिल्लाभरिको मतभारका आधारमा जिल्ला समन्वय समिति भने नेपाली कांग्रेसको एकल बहुमतमा गठन भएको हो ।

जिल्लाको सबैभन्दा बढी जनसंख्या रहेको परशुराम नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका र प्रधानमन्त्री देउवाको गृहपालिका गन्यापधुरा नेपाली कांग्रेसले जितेको थियो । कांग्रेस यी ४ स्थानीय तहमा प्रमुख–उपप्रमुख दुवैमा विजयी भएको थियो । नेकपा एमालेले अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिका आफ्नो पक्षमा पारेको थियो । एमाले अमरगढीमा नगरप्रमुख र उपप्रमुख तथा नवदुर्गामा गाउँपालिका अध्यक्ष जितेको थियो । नवदुर्गामा उपाध्यक्षमा कांग्रेसलेनै बाजी मारेको थियो ।

नेकपा माओवादी केन्द्रले अजयमेरु गाउँपालिकामा जितेको थियो । अजयमेरुमा माओवादीले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो । त्यतिबेला आलिताल र परशुराम नगरपालिकामा माओवादी केन्द्र झिनो मतअन्तरले हारेको थियो । कांग्रेसको गढ भनेर चिनिने अमरगढीमा एमालेले थोरै मतान्तरले बिजयी भएको थियो ।

स्थानीय निर्वाचनका लागि उम्मेदवारी दिन केही दिन र मतदान हुन २३ दिन मात्र बाँकी रहँदा पनि जिल्लामा कुनै पनि पार्टीले उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । स्थानीय नेताहरू जनता फकाउने भन्दा नेता फकाउने होडमा रहेका छन् ।

टिकटको विषय सबैभन्दा बढि नेपाली कांग्रेस डडेल्धुराभित्र पेचिलो र संकटग्रस्त अवस्थामा रहेको छ भने सत्तासिन पार्टीको गठबन्धन भए मुख्य प्रतिस्पर्धीको रुपमा रहेको नेकपा एमालेले पनि पार्टीको आधिकारिक उम्मेदवारी टुंग्याएको छैन । नेकपा एमालेले पनि आन्तरिक छलफलमै रहेको बताइएको छ ।

नेपाली कांग्रेसभित्र सम्मानजनक उम्मेदवारी नभए जिल्लाको सातौँ जिल्ला अधिवेशन र १४औँ महाधिवेशनमा एकपक्षीय रूपमा पार्टीको अधिवेशन गरि पाखा लगाइएका नेता–कार्यकर्ताहरू पनि स्थानीय निर्वाचनमा विकल्पसहित जनतामा जान तयार रहेकाले अन्तरपार्टी समस्या समाधान नभए प्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सभापतिका लागि प्रतिष्ठाको विषय मात्र नभई चुनौती र जोखिम उठाउनैपर्ने देखिएको छ ।

यस्तै, अन्य दलमा पनि कोही गठबन्धनका कारणले अन्योलतामा रहेका छन् भने कोही अरु प्रमुख दलमा उम्मेदवारी तय भएपछि आफूहरूले पनि उम्मेदवारी घोषणा गर्ने बताएका छन् । दलको प्रतिनिधित्व गर्ने व्यक्तिअनुसार आफूले पनि रणनीतिक रुपमा उम्मेदवार खडा गर्ने तयारी साना दलहरूको रहेको छ ।

यसअघि निर्वाचित जनप्रतिनिधिहरूबाट असन्तुष्ट आम सर्वसाधारणले पनि कतिपय स्थानमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । अमरगढी नगरपालिका वडा नं. १ मा केही महिनाअघि नै स्थानीय सामाजिक अभियन्ता युवा नेता सुरत तमोलीले वडाको नेतृत्वको लागि उम्मेदवारी घोषणा गरेर चुनाव लक्षित कार्यक्रम संचालन गर्दै आएका छन् भने अन्य स्थानमा पनि स्वतन्त्र उम्मेदवारीको संकेत देखिएको छ ।

अर्कोतिर अमरगढी नगरप्रमुखका उम्मेदवार आकांक्षी हरिप्रसाद भट्टले संघीय सरकार सत्ता समिकरणको प्रभाव स्थानीय तह निर्वाचनमा गठबन्धनको पक्ष–विपक्षमा जनता रहेका बेला आबद्ध दलबाट आधिकारिक उम्मेदवारी नपाए जनताको आग्रह र भावना समेटने गरी आवश्यक निर्णय गरिने बताएका छन् ।

उम्मेदवार छनौट गर्न दलहरू रस्साकस्सीमा लाग्दा डडेल्धुराका स्थानीय जनताको चासो भने राजनीति भन्दा विकासमा केन्द्रीत रहेकोले स्थानीय तह राजनीति गर्ने थलो नभएको भन्दै विकास गर्ने, भ्रष्टाचार नगर्ने, कार्यकर्तालाई नपोस्ने र सवैलाई न्यायोचित व्यवहार गर्ने व्यक्तिलाई जिताउनु पर्नेमा स्थानीय मतदाताको अभिमत रहेको छ ।

डडेल्धुरामा राष्ट्रिय दल मान्यता प्राप्त (थ्रेसहोल्ड मतभार पाएका) दलहरूमध्ये नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता प्रगतिशिल पार्टी गरि ६ दल र जनसमाजवादी पार्टी नेपाल, उन्नत लोकतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), मौलिक जरोकिलो पार्टी, नेपाली काङ्ग्रेस बीपी, नेपाल दलित पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, सामाजिक एकता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति र देशभक्त गणतान्त्रिक मोर्चा नेपाल गरी १२ वटा दलहरू पनि चुनावी प्रतिस्पर्धामा रहने जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ ।

विगतमा जनप्रतिनिधिहरूले जनतासँग बोलेका प्रतिबद्धताहरू पनि प्रत्यासीबाट वा निर्वाचित जनप्रतिनिधिबाट कति कार्यान्वयन भए वा भएनन्, के–कति काम गरे वा गरेनन्, यसको समीक्षा र लेखाजोखा पनि आममतदाताले सुक्ष्म ढंगले गरेका कारण परिणाम के होला ? जेठको पहिलो सातासम्म पर्खिनुको विकल्प छैन ।