जन्मकै ठेगान नभएका नेपालका कम्युनिष्ट पार्टीहरू

जन्मकै ठेगान नभएका नेपालका कम्युनिष्ट पार्टीहरू


नेपालका कम्युनिष्टहरूमा स्वावलम्बन हराएको छ । खासगरी ०६३ को राजनीतिक परिवर्तनपछि केही माओवादी घटकहरूले पटक-पटक नेपाली काङ्ग्रेससँग कार्यगत एकता गरेका कारण अब काङग्रेस र कम्युनिष्ट भनेका एकै ड्याङका… भन्न थालिएको छ ।

  • डा. केशव देवकोटा

नेपालमा कम्युनिष्ट पार्टीहरूको शक्ति र जनमत सडक, सदन र सरकारसम्मै रहेको छ । नेपाल कम्युनिष्ट पार्टी कहिले जन्मियो भन्ने कुरामा विवाद छ भन्ने सुन्दा धेरैलाई आश्चर्य पनि लाग्न सक्छ, तर यो यथार्थ हो । नेपाल कम्युनिष्ट पार्टीको जन्म भारतमा भएका कारण यसलाई इस्वी सम्वत्मा गणना गर्ने गरिएको छ । कतिपयले नेकपाको जन्म १५ सेप्टेम्बर १९४९ मा भएको मानेका छन् भने कतिपयले २२ अप्रिल १९४९ मान्ने गरेका छन् । तर, सबैले आफूलाई वि.सं. २००६ मा जन्मिएको नेपाल कम्युनिष्ट पार्टीको विरासत भएको दाबी पनि गर्ने गरेका छन्, जसले गर्दा नेपालमा कम्युनिष्ट पार्टीको जन्मका बारेमा निरन्तर विवाद रहँदै आएको छ ।

अप्रिल २२ मा नेपाल कम्युनिष्ट पार्टीको जन्म मान्ने समूहहरूले यसपटक यही वैशाख ९ गते आआफ्नो समूहका तर्फबाट वक्तब्य सार्वजनिक गरेका छन् । वक्तब्य सार्वजनिक गर्नेहरूमध्ये पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नेकांसहितको पाँचदलीय गठबन्धनको रक्षा कसरी गर्ने र आगामी निर्वाचनमा कसरी विजयी भएर पदमा पुग्ने/पुऱ्याउने चिन्ता देखिएको छ भने क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यलाई केही कम्युनिष्ट समूहहरू दक्षिणपन्थी भाषमा फसेको र ठुल्ठूला राष्ट्रघात र जनघात कम्युनिष्टहरूकै नेतृत्वमा भएकोमा चिन्ता देखिएको छ । कतिपय कम्युनिष्ट पार्टीहरूले त पार्टीको जन्मदिनको समेत सम्झनागर्न छाडेको अवस्था पनि छ । जबकि नेपालमा खासगरी ०४६ सालको राजनीतिक परिवर्तनअघिसम्म नेपाल कम्युनिष्ट पार्टीको जन्मदिनलाई उत्सवका रूपमा मनाउने गरिएको थियो । त्यसैले नेपालका सबै कम्युनिष्ट समूहहरू एकैठाउँमा बसेर कमसेकम नेपाल कम्युनिष्ट पार्टीको जन्मदिनका बारेमा उठेका विवादहरूको निरुपण गर्न सक्नुपर्ने भएको छ ।

यतिबेला नेकपाका संस्थापकहरू मध्ये कोही पनि जिवित छैनन् । त्यसैले अब उहाँहरूसँग पार्टीको जन्म दिनलगायतका विषयमा अन्तर्क्रिया गर्ने सम्भावना छैन । नेकपाको जन्म दिनका बारेमा यो लेखकले जिज्ञासा राख्दा संस्थापक महासचिव पुष्पलालको तत्कालीन पार्टीको विरासत धान्दै आएका, हाल निर्वाचन आयोगमासमेत दर्तामा रहेको र हालै जनकपुरमा राष्ट्रिय सम्मेलन सम्पन्न गरेको नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले ‘२०१९ साल अघिको सिङ्गो पार्टीका दस्ताबेजहरू, मुखपत्रहरू, सभा-सम्मेलनहरूका पर्चाहरू र तत्कालीन निस्कने गरेका पत्रपत्रिकाहरू मात्रै होइन, त्यतिबेला सत्तामा रहेका विश्वका शक्तिशाली सोभियत संघ, चीन र भियतनामका कम्युनिष्ट पार्टीहरू र अविभाजित भारतीय कम्युनिष्ट पार्टीहरूले समेत नेपाल कम्युनिष्ट पार्टीलाई पठाउने गरेका शुभकामना सन्देशहरूमा ‘१५ सेप्टेम्बर १९४९’लाई उल्लेख गर्नेगरेको जानकारी दिए । उनले जोड दिँदै भनेका छन्- ‘पार्टीको कार्यक्रम नयाँ जनवादी र पार्टीको जन्मदिन १५ सेप्टेम्बर नै हो भनेर त धेरै दस्तावेजहरूमा प्रष्टसँग लेखिएको छ ।’

नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको झण्डै तीन दशकभन्दा बढी समयसम्म १५ सेप्टेम्बरलाई नै जन्मदिन मानिँदै आएको त्यतिबेलाका दस्तावेजहरूले देखाएका छन् । नेकपाको तेश्रो महाधिवेशनपछि पार्टीको स्थापना दिवस नै परिवर्तन गरिएको र त्यसमा डा. केशरजंग रायमाझीलगायतको भूमिका रहेको देखिएको छ । तर पछिल्ला दिनमा डा. रायमाझीका आलोचकहरूले पनि २२ अप्रिललाई नै स्थापना दिवसका रूपमा मनाउने गरेको पनि देखिएको छ ।

तेश्रो महाधिवेशनको विवाद र खिचातानीकै क्रममा पार्टीको स्थापनाको मितिलाई पनि विवादित बनाएको आशंका गर्न सकिन्छ । सन् १९४९ को अप्रिल २२ मा तयार भइ अप्रिल २४ मा तत्कालीन शासकहरूको विरोधमा विद्रोहको उद्घोष गर्दै पर्चा सार्वजनिक भएको थियो । तर त्यतिबेलासम्म नेकपाको घोषणापत्र र विधान सावर्जनिक गर्दै विधिवत पार्टी स्थापना भइसकेको थिएन । सो पर्चासमेत पुष्पलालले तयार गर्नुभएको र नारायणसविलाश जोशीले टाइप र लिथो गरी साबवजनिक गर्नुभएको भनिएकाले कतिपयले त्यसैलाई नेपाल कम्युनिष्ट पार्टीको जन्मदिन मानेको पनि हुन सक्ने देखिएको छ । तर पार्टीको जन्मदिनलाई नै विवादमा पार्ने काम भने राम्रो भइरहेको छैन । नेपालका कम्युनिष्ट समूहहरूले कि त नेपाल कम्युनिष्ट पार्टी स्थापनाको पहिलो दिनलाई बिवादरहित बनाउनु पर्दछ किचाहिँ पछिल्लो समयमा जन्मिएका पार्टीहरूले आआफ्नो समूहको स्थापना भएको दिनलाई नै पार्टीको जन्मदिन मनाउने परम्पराको थालनी गर्नुपर्दछ ।

नेपालका कम्युनिष्ट पार्टीमध्ये अधिकांश संसदीय राजनीतिको चास्नीमा डुकिसकेका छन् भने संसदीय राजनीतिमा भाग नलिएकाहरू पनि हल न चलको रक्षात्मक अवस्थामा पुगेको देखिएको छ । नेपालको समग्र कम्युनिष्ट राजनीति किन यो अवस्थामा पुग्यो भन्ने बारेमा मिहीन र बस्तुपरक ढङ्गले अध्ययन हुनुपर्ने खाँचो देखिएको छ । नेपालका प्रायः कम्युनिष्ट पार्टीहरूले वर्गसंघर्षको राजनीतिक अभ्यासलाई छाडिसकेका छन् । माओवादीहरूले वर्ग (आर्थिक, सामाजिक, साँस्कृतिक, जातीय र धार्मिकलगायतका जनजीवनको विविध पक्ष) संघर्ष छाडेर त्यसभित्रको एउटा अंश जातीय संघर्षलाई मात्र प्रमुखता दिएपछि नेपालको कम्युनिष्ट आन्दोलन र राजनीति नै भाँडिन पुगेको देखिन्छ । नेपालका कम्युनिष्टहरूले जनताका अन्तर्विरोधहरूको कसरी सही सञ्चालन गर्ने भन्ने कुरालाई पनि बिर्संदै गएका छन् । साम्राज्यवादी शक्तिसँगको संघर्षभन्दा आत्मसमर्पण बढेको छ । विश्वभर चलेका जनयुद्धका सिद्धान्त र नीतिहरूलाई नेपालमा विकृत बनाउने काम भएको छ । मार्क्सवादी साहित्यको रचना र अध्ययनमा कमी आएको छ । जनवादी केन्द्रियताको सिद्धान्तको उचित प्रयोग हुन छाडेको मात्र नभएर त्यसको नामसमेत लिन छाडिएको छ ।

पछिल्लो समयमा कम्युनिष्ट पार्टीका केन्द्रिय समिति र तिनका नेताहरू तानाशाही तथा तल्ला तहहरू तुलनात्मक रूपमा छाडा बन्दै गएका छन् । कम्युनिष्ट पार्टीको अनुशासन र आलोचना र स्वआलोचनाको सिद्धान्तको पालना हुन छाडेको छ । कतिपय अवस्थामा पार्टीका नेता तथा कार्यकर्ताहरूमा सांस्कृतिक विचलनका घटनाहरू देखिन थालेका छन् । मित्रशक्ति र शत्रुशक्ति छुट्याएर काम गर्ने कार्यनीतिमा ह्रास आएको छ । नेपालका कम्युनिष्टहरूमा स्वावलम्बन हराएको छ । खासगरी ०६३ को राजनीतिक परिवर्तनपछि केही माओवादी घटकहरूले पटक-पटक नेपाली काङ्ग्रेससँग कार्यगत एकता गरेका कारण अब काङग्रेस र कम्युनिष्ट भनेका एकै ड्याङका… भन्न थालिएको छ । पछिल्लो समयमा नेपालका कतिपय कम्युनिष्ट पार्टीहरू खुलेरै इन्डो-पश्चिमा शक्तिको छातामुनि देखिन थालेका छन् । वास्तवमा त्यो छाता भनेको विश्वमै कम्युनिष्टविरोधी हो ।

यसरी नेपालको समग्र कम्युनिष्ट आन्दोलन छरप्रष्ट हुँदै गएको देखिएको छ, जसको समाधानका लागि तीव्ररूपमा विचारधारात्मक सङ्घर्षको सञ्चालन गर्नुपर्ने र कम्युनिष्ट पार्टीहरू नयाँ ढङ्गले पुनर्गठन गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।

[email protected]