राजनैतिक दल : आस्था र सिद्धान्त कि व्यक्तिपूजा ?

राजनैतिक दल : आस्था र सिद्धान्त कि व्यक्तिपूजा ?


बारम्बार विश्वास गुमाउन पुगेका दलहरूलाई जनता आफ्नो अधिकारको निमित्त हैन त्यो दलले पुऱ्याउन सक्ने आफ्नो व्यक्तिगत फाइदा हेरेर मत दिन वा समर्थन गर्न बाध्य छन् । जनता सङ्घर्ष गर्न तैयार छ, तर त्यो सङ्घर्षले स्थापना हुने विकल्पले भरोसा दिन सकेको छैन ।
  • स्वयम्भूनाथ कार्की

सामान्यतया राजनैतिक दलहरूलाई जनताले आफ्नो अधिकार उपभोग तथा कर्तव्य निर्वाहनको औजार भनेर मान्ने गरिन्छ । अझ बहुदलिय व्यवस्थामा त जनताको यो काम राम्रोसँग गर्ने अनि जनताप्रति उत्तरदायित्व निर्वाहनको प्रतिस्पर्धा हुन्छ भन्ने मान्यता राखिन्छ । तर यो मान्यता केवल विभिन्न विचारधारा स्विकार गर्ने पद्धतिको निमित्त मात्र हो । केही समयदेखि छलफलमा आउने गरेको बहुलवाद र बहुदलको आधारभुत भिन्नता पनि यसैमा रहेको छ ।

जब आस्था वा सिद्धान्त भन्दा दलहरूमा सर्वमान्य नेता, शीर्ष नेता आदि नामले व्यक्तिपूजा शुरु हुन थाल्छ तब बहुलवादको अन्त्य र केवल बहुदलको मात्र बर्चश्व हुन थाल्छ । दलको आधारभूत सिद्धान्त गौण हुन थाल्छ । समयको मागको बहानामा दलहरू जोडिन वा तोडिन लाग्छन् । अनि यो कुरा गर्ने नेतालाई यो सैद्धान्तिक विचलन हो कि हैन भन्ने प्रश्न हुँदैन त्यहाँ नै बहुलवादको मृत्यु हुन्छ र तानाशाहको बिजारोपण हुन्छ । उदाहरणको निमित्त नाजीको सर्वमान्य नेता हिटलर, फासिष्टको पुज्य नेता मुसोलिनीकै नाम पर्याप्त हुन्छ ।

‘क्याडरवेस’ दल एक पटक सदस्यता लिएपछि सजिलै छोड्न नमिल्ने किसिमको दल हो । ‘नोट अफ डिसेन्ट’ भनिने गरेको राय बझाउने पद्धति यस्तै दलहरूको हो जहाँ कुनै निर्णय सर्वसम्मत मात्र हुन्छ, चित्त नबुझे राय बझाउने सुविधा दिइएको हुन्छ । जो कि विद्रोह जन्माएर दल विभाजनमा कि आत्मसमर्पणमा समाप्त हुने गर्दछ । कुनै पनि हालतमा दलभित्र वैचारिक विविधता कायम रहन सक्दैन । जतिबेलासम्म रहन्छ गुटबन्दी रहने गर्दछ । यस्ता गुटहरूको सङ्घर्ष ‘प्रेम र युद्धमा सबै उचित छ’ शैलीको हुने गर्दछ । विना मनभेदको मतभेद यहाँ सम्भव नै हुन सक्दैन । यस्ता मनभेदको उपचार रक्तरञ्जित भएका उदाहरण पनि इतिहासमा छरपष्ट छन् । ‘मासवेस’ भनेर कुनै वर्ग समूहको प्रतिनिधित्व गर्ने दलमा यस्तो सर्वसम्मत सम्भव छैन, न कुनै नेताको व्यक्तिपूजा सम्भव छ । त्यसैले ‘मासवेस’ दलहरूको नेतृत्व यस्तै ‘क्याडरवेस’को आकर्षणमा जाँदैछ । त्यसैले धेरै दलहरूमा बैठक कुनै पर्व जस्तै हुन थालेको छ, त्यो पनि ‘जुठो’, ‘सुतक’ आदिले थुनिने किसिमको पर्व ।

जब सम्पुर्ण जनतलाई कुनै न कुनै दलमा आवद्ध हुनैपर्ने वातावरण पैदा हुन्छ त्यसबेला जति नै ठूलो स्वरले फलाके पनि जनताको अधिकार कुन्ठित नै रहन्छ । दलहरू जनताको अधिकार उपयोग गर्ने हतियार नरहेर जनताको अधिकारको ठेकादार बन्न पुग्छन् । आफ्नो सर्वोच्चता र सार्वभौम अधिकार दलहरूले प्रयोग गरेको टुलुटुलु हेर्न बाहेक अर्को विकल्प रहँदैन । केवल मतदान मात्र जनताको प्रजातान्त्रिक अधिकार हो भन्ने ब्याख्या हुन थाल्छ । अनि विस्तारै पोलपोट, इदी अमिन, चाउचेस्कु अवतरित हुन थाल्दछन् । वर्तमानमा नेपाल यही अवस्था भोग्दैछ । खाका स्पष्ट छैन, रूप पनि स्पष्ट छैन तर पोलपोट, इदी अमिन हुन सक्ने कच्चा पदार्थहरू प्रचुर मात्रामा देखिँदैछन् । जनताको कोखबाट जन्मेका यस्ता तानाशाहको मलजलको निमित्त हमेशा इतिहासलाई गाली गर्नु र त्यसलाई नकार्नु हुन्छ ।

नेपाली मनले न कुनै ‘क्याडरवेस’ दल खोजेको छ न ‘मासवेस’ नै । यस्ता दलहरूको कमी-कमजोरी औंल्याउनेवित्तिकै आफूलाई गद्धार भनिने छ भन्ने थाहा छ । ‘तँ फलानो समुदायको भएर फलानोको विरोध गर्ने, तँ गद्धार होस्’ भन्ने कुरा नेपाली समाजमा देखिन थालेका छन् । यो कुरा कुनै वर्गविषेशमा, कुनै समुदायविषेशमा वा कुनै जातिविषेशमा मात्र सीमित छैन । सबैमा कुनै न कुनै यस्ता स्वघोषित मालिक पैदा भएका छन् जो आफ्नो कुरा नमान्नेलाई मध्ययुगीन बर्बर प्रथाले जस्तै जातीच्यूत, वर्गच्यूत गर्न पछि पर्दैनन् ।

हुक्कापानी बन्द गर्ने यस्तो प्रचलनलाई विश्वले कुप्रथा मानिसकेको अवस्थामा पनि यसैको डर देखाएर आफ्नो वर्चश्व सावित गर्ने यस्ता ‘क्याडरवेस’, ‘मासवेस’ समुहहरू अब नेपालीका हुन सक्दैनन् । नेपालीलाई चाहिएको छ आस्थाआधारित, सिद्धान्तआधारित राजनैतिक समुह । समुहले आफ्नो आस्था सिद्धान्त कति मात्रामा बोकेको छ, यसको निर्णय त्यो दलले हैन कि जनताले गरेर छान्ने हो । नेपालीको दुर्भाग्य ! अहिलेसम्म यस्तो कुनै दल अस्तित्वमा आउन सकेको छैन । कुनै-कसैले आफू यस्तो हुँ भन्ने देखाउन खोजे पनि अलिकति मौका पाउने वित्तिकै उ पनि आफ्ना मतदाताहरूमाथि, आफ्ना सदस्यहरूमाथि स्वामित्व जनाउन नै खोज्दछ । यसरी बारम्बार विश्वास गुमाउन पुगेका दलहरूलाई जनता आफ्नो अधिकारको निमित्त हैन त्यो दलले पुऱ्याउन सक्ने आफ्नो व्यक्तिगत फाइदा हेरेर मत दिन वा समर्थन गर्न बाध्य छन् । घोर निराशामा अरु केही नभए पनि अलिकति व्यक्तिगत लाभ नै भए पनि लिन जनता पछि पर्न चाहँदैन । जनता सङ्घर्ष गर्न तैयार छ, तर त्यो सङ्घर्षले स्थापना हुने विकल्पले भरोसा दिन सकेको छैन ।

नेपालका हरेक आन्दोलनमा साथ दिएर जनताले धेरै अभ्यास गरिसक्यो, स्थायित्वले पैदा हुन सक्ने आफ्नो समृद्धि र सुखको बलिदान दिइसक्यो । विगतका आधा शताव्दिभरि अनगिन्ती आन्दोलन गरिसक्यो तर कुनैको पनि सुरक्षित अवतरण हुन सकेन । के यस्तोमा जनताको अधिकारको उपभोक्ता हैन जनतालाई अधिकार उपभोग गराउन तैयार आस्थाआधारित दलहरू निक्लेलान् ? ‘दल आस्था/सिद्धान्तको निमित्त हो, व्यक्तिपूजाको निमित्त हैन’ भन्ने कुरा कसैको मगजमा पस्ला ? प्रश्न अनुत्तरित छ ।