कांग्रेस डडेल्धुराका निवर्तमान सभापति मल्लले त्यागे प्रदेश सांसद पद

कांग्रेस डडेल्धुराका निवर्तमान सभापति मल्लले त्यागे प्रदेश सांसद पद


भने- ‘गगन थापालाई ट्युसन पढाउने ल्याकत राख्छु’

  • डम्बर निदाल, डडेल्धुरा

नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति कर्णबहादुर मल्लले प्रदेश सांसदको पद त्यागेका छन् । २०७४ सालको निर्वाचनमा काग्रेसबाट डडेल्धुरा जिल्लाको क्षेत्र ‘ख’ मा निर्वाचित भएका मल्लले सुदूरपश्चिम प्रदेशसभा सदस्य पद त्यागेका हुन् ।

बिहीबार गृहजिल्ला डडेल्धुरामा पत्रकार सम्मेलको आयोजना गरी मल्लले सांसद पद त्याग गरेको घोषणा गरेका छन् । ‘राणाकालमा तत्कालिन श्री ३ शासकहरूले गौणाका हाकिम हटाएझैँ नेपाली कांग्रेसको विधि-विधान कुल्चेर मलाई दोस्रो पटक नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी हटाइएको छ, मलाई यो पार्टीबाट प्रदेशसभाको निर्वाचित सांसद पदमा रहन नैतिकताले दिँदैन । त्यसैले आजदेखि म प्रदेशसभा सांसद नरहेको सञ्चारमाध्यमबाट घोषणा गर्दछु’- उनले भने ।

आसन्न स्थानीय निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरी मल्ल समुहले कांग्रेस बीपी पार्टीबाट डडेल्धुराका सातवटै पालिकामा उम्मेदवारी मनोनयन दर्ता गरेपश्चात केही दिनअघि उनलाई कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो ।

पार्टीबाट निष्काशन गर्न पनि कांग्रेसले न्यायोचित तवरबाट नगरेको उनको आरोप छ । पार्टीमा अनुशासन समिति नै नभएको र निष्काशन गर्दा स्पष्टिकरण सोधिनुपर्नेमा कुनै विधिसम्मत प्रक्रिया नपुऱ्याइ प्रजातन्त्रको पर्यायवाची भनिने कांग्रेस पार्टीको नेतृत्वले तानाशाही ढंगबाट निष्काशन गरिएको उनको आरोप छ ।

पत्रकार सम्मेलनकै क्रममा निवर्तमान प्रदेशसभा सदस्य मल्लले कांग्रेसका महामन्त्री गगन थापालाई ‘ट्युसन’ पढाउने सक्ने अभिव्यक्ति पनि दिए । बीपीले स्थापना गरेको घोषणापत्र र अहिलेको घोषणापत्र कहाँ मिल्छ भन्ने प्रश्न उठाउँदै मल्लले थापालाई ट्युसन पढाउने सक्ने बताएका हुन् ।

उनले नेपाली कांग्रेससँग बिपी कोइरालाले स्थापना गरेको मेनिफेस्टो अर्थात घोषणापत्र नै नभएको तर्क गरे । काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बालकोट पुगेर ट्युसन पढाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।

‘कांग्रेस यस्तो पार्टी हो, जोसँग बिपी कोइरालाले स्थापना गरेको मेनिफेस्टो नै छैन । केपी ओलीलाई बालकोटमा गएर ट्युसन पढाउँछु भन्ने महामन्त्रीजीलाई म ट्युसन पढाउन सक्छु,’ मल्लले भने ।

उनले ‘बीपीले स्थापना गरेको मेनिफस्टो र अहिलेको मेनिफेस्टो मिल्छ ?’ भन्ने सवाल गर्दै थापालाई ट्युसन पढाउन र बहस गर्न सक्ने दाबी गरे।

ज्ञातव्य छ, मल्ललगायतको समुहले काग्रेसको सातौँ जिल्ला अधिवेशन एवं १४औँ महाधिवेशनमा भाग लिएको थिएन । ४६० क्रियाशील सदस्यको नाम पार्टीले केन्द्रबाट हटाएको भन्दै उनको समुहले विवाद साम्य पार्न जिल्लाअधिवेशन सार्न माग गरेको थियो । तर देउवानिकटतस्थ पक्षले तोकिएकै मितिमा मल्ल पक्षलाई बाहिर राखी अधिवेशन सम्पन्न गराएपछि कांग्रेस डडेल्धुरा दुई खेमामा विभाजन भएको थियो ।

स्थानीय तहको निर्वाचनमा समेत मिल्न नसकेपछि मल्लको समूहले कांग्रेस बीपी पार्टी जन्माइ उम्मेदवारी मनोनयन दर्ता गरेको थियो । केन्द्रीय सभापतिले अनौठो इतिहास रच्दै जिल्लासभापतिलाई नै बाहिर राखेर जिल्लाको अधिवेशन अधिवेशन सम्पन्न गराउन निरङ्कुश शैली अपनाएको स्पष्ट गर्दै उनले स्थानीय तहको निर्वाचनमा पनि जिल्लाका काङ्ग्रेसजनको भावना बुझ्ने कोशिस नगरी कम्युनिष्ट पार्टीसँग गठबन्धन गरेर उम्मेदवारहरू तय गरेपछि बीपी कांग्रेस पार्टीबाट आफूहरूले उम्मेदवारी दर्ता गराएको जानकारी दिए ।

न्यायको लागि जनतासमक्ष जाने निर्णय भएकाले त्यहीअनुरुप आफूहरू अघि बढेको नेता मल्लको भनाइ छ ।