अब विदेशबाट पनि सहज रूपमा विद्मुतीय राहदानी बन्ने

अब विदेशबाट पनि सहज रूपमा विद्मुतीय राहदानी बन्ने


  • सनत आचार्य, बेल्जियम

नेपाल सरकारले राहदानीे सम्बन्धमा निर्माण गरेको पछिल्लो कानुनले सर्वसाधारणलगायत प्रवासमा रहेका नेपालीहरूलाई समेत विद्युतीय राहदानी लिन सजिलो हुने देखिएको छ ।

जसअनुसार राहदानी बनाउन इच्छुकले आफूलाई पायक पर्ने स्थानबाट htpp://nepalipassport.gov.np साइटमा गएर ‘प्रि इनरोलमेन्ट’ (पूर्व प्रत्यक्ष दर्ता) मा क्लिक गर्नुपर्छ ।

त्यसपछि उक्त साइटले मागेको सूचना तथा जानकारी प्रविष्ट गर्ने राहदानी कहाँबाट, कुन मितिमा, कुन विभाग/दूतावास, बाणिज्यदूत वा महाबाणिज्यदूतको कार्यालयबाट लिने भन्ने उल्लेख गर्नुपर्ने हुन्छ । यस प्रक्रिया अपनाएर विदेशबाट पनि सजिलै विद्युतीय राहदानी बनाउन सकिने छ ।

यसअनुसार निवेदकले आफूले राहदानी लिन चाहेको मिति र स्थानमा सम्पर्क गरेर आवश्यक सक्कल कागजात रुजु गराएपछि यो प्रक्रिया अन्तिम चरणमा पुग्नेछ । त्यसपछि यी कागजातहरू सम्बन्धित निकायले अनलाइनमार्फत तत्काल विभागमा समावेश गर्नेछ । यो प्रक्रियाबाट राहदानी बनाउन चाहने व्यक्तिको विवरण आन्तरिक प्रणालीमार्फत तत्काल विभागमा पुग्छ ।

बेनेलुक्स (बेल्जियम, नेदरल्याण्ड र लक्जम्बर्ग) का लागि नेपाली राजदूत गेहेन्द्रराज राजभण्डारीले सरकारले जारी गरेको पछिल्लो नियमअनुसार अब प्रवासमा रहेका राहदानी बनाउन इच्छुक सबै नेपालीले सहज तरिकाले अन्तर्राष्ट्रिय स्तरको राहदानी प्राप्त गर्न सक्ने बताउनुभयो । यो नियमले राहदानी लिने प्रक्रियालाई सरल र सहज तुल्याउने मात्र नभइ यो गुणस्तरयुक्त काम भएको समेत उहाँले बताउनुभयो ।

राजदूत राजभण्डारीले पहिले राहदानी लिन करिब तीन महिना लाग्ने गरेकोमा अब बढीमा डेढ महिनाभित्र राहदानी उपलब्ध हुनसक्ने जानकारी दिनुभयो । त्यस्तै, उहाँले पूर्व प्रत्यक्ष दर्ता भैसकेपछि राहदानी बनाउनेहरू स्वयम् दुतावासमा उपस्थित हुनुपर्ने भएकोले त्रुटीरहित तरिकाले राहदानी दिन सक्ने अपेक्षा रहेको बताउनुभयो ।

राजदूत भण्डारीका अनुसार ई-राहदानी पछिल्लो अन्तर्राष्ट्रिय मापदण्ड र प्रविधिमा आधारित भएकोले यो सबैका लागि विश्वसनीय रहेको जिकिर गर्नुभयो ।

त्यस्तै, बेल्जियम दूतावासका नियोग उप-प्रमुख तथा सुचना अधिकारी सुरेश अधिकारीले सरकारको यो निर्णयले प्रवासी नेपालीले सर्वसुलभ तरिकाले गुणस्तरयुक्त राहदानी छिटो प्रदान गर्न सकिने बताउनुभयो । अधिकारीले राहदानी लिनका लागि सरकारद्वारा जारी गरिएको पछिल्लो नियमले सेवाग्राहीहरू बढी लाभान्वित हुने र यसबाट विश्व समुदायसमक्ष नेपालको समेत प्रतिष्ठा बढ्ने देखिएको बताउनुभयो ।

नेपाली राजदूतावास बेल्जियमले यही वैशाख १४ मा जारी गरेको विद्युतीय राहदानी सेवासम्बन्धी सूचनामा यो नियम २०२२ अप्रिल २७ देखि लागु हुने बताइएको छ ।

उक्त जानकारीअनुसार बेनेलुक्स अर्थात् बेल्जियम, नेदरल्याण्डस् र लक्जम्बर्गमा पहिलो पटक राहदानी बनाउनु परेमा कम्युन वा सम्बन्धित निकायबाट जारी भएको जन्मदर्ता प्रमाणपत्र, बाबु र आमाको नागरिकता र राहदानीको फोटोकपी, आमा र बाबुको विवाह दर्ता प्रमाणपत्र लिइ प्रि इनरोलमेण्ट फारामभरी सोहीअनुसार उल्लेख गरेको मितिमा सक्कल कागजातहरू सहित दुतावासमा उपस्थित हुनुपर्ने जानकारी गराइएको छ ।

त्यस्तै, नेपाली राहदानीको नवीकरणका लागि नेपाली नागरिकता प्रमाणपत्रको अगाडि र पछाडिको छुट्टाछुट्टै पेजको फोटोकपी, १६ वर्षमुनिका बालबालिकाहरूको हकमा नाबालक परिचयपत्र, हालको राहदानीको अगाडि (फोटो भएको पेज) र पछाडिको ३० र ३१ नम्बर पानाको फोटोकपी, हालको राहदानी हराएको भए स्थानीय प्रहरीबाट जारी गरिएको राहदानी हराएको प्रतिवेदन आवश्यक रहेको जानकारी गराइएको छ ।

त्यस्तै, दूतावासले जारी गरेको सूचनामा नयाँ राहदानी वा नविकरण ३४ पेजका लागि १२० युरो, नयाँ राहदानी वा नविकरण ६० पेजका लागि १७० युरो, हराएको, च्यातिएको वा नष्ट भएको सट्टामा नयाँ राहदानी ३४ पेजको २४० युरो, हराएको, च्यातिएको वा नष्ट भएको सट्टामा नयाँ राहदानी ६० पेजको ३४० युरो लाग्ने पनि उल्लेख गरिएको छ ।