डडेल्धुरामा बीपी कांग्रेस र एमालेको सयुंक्त चुनावी सम्पर्क कार्यालय स्थापना

डडेल्धुरामा बीपी कांग्रेस र एमालेको सयुंक्त चुनावी सम्पर्क कार्यालय स्थापना


  • डम्बर निदाल, डडेल्धुरा

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन प्रचारप्रसारका लागि नेपाली कांग्रेस (बीपी) र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अमरगढीमा सम्पर्क कार्यालय स्थापना गरेका छन् ।

डडेल्धुरा जिल्ला सदरमुकाम तुफानडाँडास्थित बैंक अफ काठमाडौंको अघिल्तिर दुवै पार्टीका नेता-कार्यकर्ताको उल्लेख्य उपस्थितिमा नेपाली कांग्रेसका निवर्तमान जिल्लासभापति कर्णबहादुर मल्लले रिवन काटेर कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुख (मेयर) पदका उम्मेदवार कांग्रेस बौद्धिक नेता हरिप्रसाद भट्टले नगरवासी मतदाता तथा आम सर्वसाधारणलाई स्थानीय तहको निर्वाचनमा नगरवासी जनताको मुक्ति, स्वतन्त्रता, न्याय र लोकतन्त्रको अनुभूतिका लागि सयंक्त अपिलपत्र पढेर प्रतिबद्धता व्यक्त गरे ।

मेयरका उम्मेदवार भट्टले भने- ‘विशिष्ट परिस्थितिमा डडेल्धुरा जिल्लामा हामी नेपाली कांग्रेस (बी.पी.) र नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले राजनीतिमा आएको विकृति र विसंगति अन्त्य गर्न दुवै पार्टीबीच चुनावी समीकरण गरि जनतामाझ जाने निधो गरेका छौँ । यसै सन्दर्भमा अमरगढी नगरपालिकाका निमित्त म हरिप्रसाद भट्टले नेपाली कांग्रेस (बी.पी.) बाट चुनाव चिन्ह करुवा लिएर नगरप्रमुख (मेयर) र यज्ञराज अवस्थीले नेपाल कम्युनिस्ट पार्टी (एमाले) को चुनाव चिन्ह सूर्य लिएर नगरउपप्रमुख (उप मेयर) का उम्मेदवार तथा नगरपालिकाका सबै वडाहरूमा हाम्रा साथीहरू यही समीकरणको माध्यमबाट वडाअध्यक्ष र वडा सदस्यका सबै पदमा करुवा र सुर्य चिन्ह लिएर जनता माझ जाँदैछौँ ।’

अपिलपत्रमा अमरगढीलाई समृद्ध नगरपालिका बनाउने आफूहरूको सपना रहेको जनाइएको छ । वर्षौंदेखि ‘गाउँको शासन गाउँलेबाटै-गाउँको विकास गाउँबाटै’ र ‘आफ्नो गाउँ आफै बनाऔँ’ भन्ने मूल नारालाई सार्थक रूप दिन र अमरगढी नगरपालिकालाई सबै अट्ने, सबैलाई समेट्ने नगर निर्माण गरि कृषि, भूमि सुधार, सिँचाईं तथा जलाधार, खानेपानी, पुर्वाधार निर्माण, सडक, शिक्षा, स्वास्थ्य, खेलकुद, प्राकृतिक श्रोतको व्यवस्थापन, स्थानीय विकास र सुशासन, युवालक्षित विशेष कार्यक्रम, राजश्व संकलन र आन्तरिक तथा वाह्य श्रोतको परिचालनबाट अमरगढीवासीको चाहनाअनुरुप काम गर्ने अवसरका लागि जनताको प्रत्यक्ष सुझाव सल्लाह, मार्गदर्शन र सहयोगबाट पूरा गर्ने बाचा गर्दै हामीबाट यस विषयमा कहीँ पनि जालझेल, छलकपट हुने छैन- अपिलपत्रमा भनिएको छ ।

कार्यालय स्थापना कार्यक्रममा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस (वी.पी.)को चुनाव चिन्ह करुवाबाट नगरप्रमुख पदका उम्मेदवार हरिप्रसाद भट्ट र नेपाल कम्युनिष्ट पार्टी (एमाले) डडेल्धुराको चुनाव चिन्ह सुर्यबाट उपप्रमुखका उम्मेदवार रहेका यज्ञराज अवस्थी, पूर्व जिल्ला सभापति गजेन्द्र शाही, वर्तमान नगरप्रमुख विश्वेश्वरप्रसाद ओझा, नेपाली कांग्रेस बीपीका सभापति तथा केन्द्रीय सदस्य तिलक हमाल, नेता करुणाकर भट्ट, एमाले सचिव गजेन्द्र शाही, एमाले नेता शेरबहादुर ढाँट लगायत सयौँ नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।