विद्रोही उम्मेदवारलाई साधारण सदस्यसमेत नरहने गरी कांग्रेसको कारवाही

विद्रोही उम्मेदवारलाई साधारण सदस्यसमेत नरहने गरी कांग्रेसको कारवाही


स्थानीय तह निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारका विरुद्धमा उम्मेदवारी दर्ता गराउने आधा दर्जनभन्दा बढीलाई उम्मेदवारलाई नेपाली कांग्रेस उदयपुरले साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ । बागीको प्रस्ताव तथा सर्मथकसमेतलाई साधारण सदस्य नरहने गरी कारवाही गरिएको हो ।

पार्टीले आइतबार जारी गरेको विज्ञप्तिमा पार्टी केन्द्रीय कार्यालयबाट प्राप्त १६ वैशाखको पत्र र जिल्ला पार्टीको १४ वैशाखको विज्ञप्तिअनुसार आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेलाई कारबाही गरिएको उल्लेख छ ।

कारवाहीमा पर्नेमा दुई प्रमुख र चार उपप्रमुखका प्रत्यासी छन् । ‘केन्द्रीय समितिको १६ वैशाखमा प्राप्त पत्र र जिल्ला पार्टीले गत १४ वैशाखमा जारी गरेको अनुरोध प्रेस विज्ञप्तीअनुसार आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही बनेका विभिन्न पालिकाका प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी दिने नेता कार्यकर्तालाई तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा नमानेर असहयोग गरेको भन्दै नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४(१३) ग बमोजिम कारवाही गरिएको जनाइएको छ ।

पार्टी सभापति हिमाल कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार कारबाहीमा पर्नेहरू चौदण्डीगढी नगर प्रमुखका उम्मेदवार प्रशान्त राई, कटारी नगर उपप्रमुख प्रत्यासी कृष्ण थापा, ताप्ली गाउँपालिका अध्यक्ष उम्मेदवार माधव रास्कोटी तथा उपाध्यक्ष सुशीला मगर, लिमचुङबुङ गाउँ उपाध्यक्षकी प्रत्यासी रमिला राई र उदयपुरगढी उपाध्यक्ष उम्मेदवार तिलक खपाङ्गी मगर रहेका छन् । गठबन्धन गरेर उम्मेदवार उठाइएका ती पालिकाहरुमा कांग्रेसका असन्तुष्ट पक्षले आफ्नै पार्टीविरुद्ध बागी उम्मेदवारी दिएका थिए ।