युक्रेन युद्धमा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु : राष्ट्रसंघ

युक्रेन युद्धमा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु : राष्ट्रसंघ


संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले २४ फेब्रुअरीदेखि भएको रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ । युद्धमा ३ हजार १५३ जनाको मृत्यु भएको ओएचसीएचआरको भनाइ छ । युद्धमा मृत्यु हुनेको संख्या योभन्दा अझै बढी हुने पनि सो संस्थाले आँकलन गरेको छ ।

अधिकांश पीडितहरू क्षेप्यास्त्र आक्रमण र हवाइ हमला जस्ता विस्फोटक हतियारहरूबाट मारिएका समाचारमा जनाइएको छ । रुसले युक्रेनमा आफ्नो कार्यलाई युक्रेनलाई निशस्त्रीकरण गर्न र फासीवादीहरूबाट जोगाउनको लागि ‘विशेष कारबाही’ भनेको छ, जसलाई युक्रेन र पश्चिमाहरूले निराधार भनेका छन् ।

युद्ध अन्त्यका लागि दुवै पक्षबीच पटक-पटक भएका वार्ता बिनानिस्कर्ष टुंगिएका छन् । युक्रेनले दुई देशका राष्ट्रपतिमा तहमा वार्ता हुनुपर्ने बताउँदै आएको छ । रुसले वार्ता र आक्रमण सँगसँगै गर्ने रणनीति लिएको पाइन्छ । एक साताअघि रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले तेस्रो युद्धको संकेत गरेका थिए ।

युक्रेन युद्ध दोस्रो चरणमा प्रवेश गरेको बताउँदै आएको रुसले पछिल्लो समयमा पूर्वी युक्रेनमा आक्रमण गरेको छ ।