मल्लले दिए देउवालाई चुनौती

मल्लले दिए देउवालाई चुनौती


प्रधानमन्त्री शेरबहादुर देउवाको निम्ति डडेल्धुराका युवा नेता कर्ण मल्ल एक्लै ठुलो चुनौती बनेका छन् । पार्टीको १२औँ महाधिवेशनसम्म काङ्ग्रेसको जिल्ला सभापति रहेका मल्ल प्रदेशसभाका निर्वाचित सांसद हुन् । विगतमा देउवालाई सहयोग गरेर प्रत्येक निर्वाचनमा विजयी बनाउँदै आएका सांसद मल्ललाई अहिले नेपाली काङ्ग्रेस पार्टीको साधारण सदस्यबाट समेत हटाइएको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले जिल्ला अधिवेशनमा मल्ललाई पन्छाएर एकलौटी निर्णय गर्न खोजेपछि मल्ल आक्रोशित बनेका थिए । नेपाली काङ्ग्रेसलाई प्रजातान्त्रिक मूल्य-मान्यताअनुरुप अगाडि बढाऔँ भनेर सोहीअनुरुप काम गरेकै आधारमा देउवाले उनलाई पार्टीबाट हटाएका थिए । आफूलाई पार्टीबाट हटाएपछि नेता मल्लले स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेस (बीपी) मार्फत उम्मेद्वारहरू परिचालन गरेका छन् ।

अहिले डडेल्धुरामा नेपाली काङ्ग्रेस (बीपी)ले १८ जना वडाध्यक्ष, एक मेयर, दुई जना गाउँपालिका अध्यक्ष र दुई जना उपाध्यक्षलाई प्रतिष्पर्धामा उतारेको छ । कर्ण मल्लको नेतृत्वमा स्थानीय निर्वाचनमा काङ्ग्रेसका स्थानीय नेताहरू बीपी काङ्ग्रेसमार्फत परिचालन भएपछि नेपाली काङ्ग्रेसलाई गम्भीर असर पर्ने देखिएको छ, जसका कारण शेरबहादुर देउवालाई आफ्नो गृहजिल्लामा आगामी संसदीय निर्वाचनमा ठुलो धक्का पुग्ने देखिएको छ । मल्ललाई देउवाले पार्टीबाट हटाएपछि डडेल्धुराका काँग्रेसीहरु आक्रोशित बनेका छन् । प्राप्त जानकारीअनुसार, डडेल्धुराका काङ्ग्रेस कार्यकर्ताहरू कर्ण मल्लसँगै नेपाली काङ्ग्रेस बीपीमा गएका छन् । काङ्ग्रेस बीपीले स्थानीय निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन गरिरहेको छ ।

घटना र विचारसँग कुरा गर्दै नेता मल्लले आफूलाई पार्टी विधानअनुरुप सामान्य स्पष्टीकरण समेत नसोधी निकालिएकोले आफूले विद्रोह गरेको बताए । मल्लले भने- ‘नेपाली काङ्ग्रेसप्रतिको मेरो आस्थामाथि प्रहार गर्दै शेरबहादुर देउवाले एकलौटी निर्णय गरेर हटाए । हामीलाई जिल्लामा राजनीति गर्नका लागि ‘ह्युमिलिएसन’ गर्ने नभइ आम काङ्ग्रेस नेता-कार्यकर्ताको आत्मविश्वास बढाउने नेताको आवश्यकता छ । देउवा अब डडेल्धुराका लागि नेता रहेनन् । जिल्लाका काङ्ग्रेस नेता तथा कार्यकर्तालाई हामी काङ्ग्रेस बीपीमार्फत एक गरेर अघि बढिरहेका छौँ । डडेल्धुराका जनताको जीवन परिवर्तनका लागि देउवाजस्तो अप्रजातान्त्रिक र राजनीतिक मूल्य-मान्यतारहित ब्यक्ति होइन इमान्दार नेताको आवश्यकता छ ।’