मजदुर : मालिक

मजदुर : मालिक


  • प्रथा

बदलिएको छ
यो धर्तीको अनुहार कयौँचोटि !

वायुमण्डल बदलियो
सागरहरू बदलिए
हिमालहरू बदलिए
मान्छेहरू बदलिए
पशु-पंक्षीहरू बदलिए
पहाड र वनस्पति बदलिए !

तर बदलिएनन्
दुईटा कुरा : ‘मजदुर’ र ‘मालिक’ !

मालिकहरू
कुरूक्षेत्र भिडाउँछन्
विश्वयुद्ध लडाउँछन्
धर्तीको दोहन गराउँछन्
र बिफर, प्लेग अनि कोरोना फैलाउँछन् !

मजदुरहरू
कथित अस्त्रको वेग छेकिदिन्छन्
लिटल ब्वाइको गर्जन रोकिदिन्छन्
श्रमको मूल्य लुटाउँछन्
र जुनीभर ईश्वरसँग गुनासो गरिरहन्छन् !

ठिक यो बेला,
मजदुरहरू
भोकै सडकमा हिँडिरहेछन्
र अघाएका मालिकहरू
कुसुम कुटीमा बसेर
मजदुरकै कविता लेखिरहेछन् !
बस् !
मालिकहरू
ईश्वर बनाउँछन्
र बस्तुको उपभोग गर्छन्
मजदुरहरू
बस्तु बनाउँछन्
र ईश्वरको भ्रम उपभोग गर्छन् !

हजारौँ वर्षदेखि
यसरी नै लुटिइरहेको छ- पसिनाको रङ !