काङ्ग्रेसबाट ‘हाइप्रोफाइल’ बागी !

काङ्ग्रेसबाट ‘हाइप्रोफाइल’ बागी !


काङ्ग्रेसको ‘हाइ प्रोफाइल’ बागी (विद्रोही) उम्मेदवारका रूपमा दुई जनाको नाम विशेष चर्चामा छ । भरतपुर महानगरपालिकामा बागी बनेका जगन्नाथ पौडेल उनको व्यक्तित्व र स्थानका कारण देशभर चर्चामा रहे पनि ओखलढुङ्गाको एक गाउँपालिकामा बागी उम्मेदवार बनेका काङ्ग्रेस नेता महेश कोर्मोचाका बारेमा धेरैलाई जानकारी हुन सकेको छैन ।

ओखलढुङ्गाको खिजीपेम्बा गाउँपालिकामा स्थायी बसोबास भएका महेश कोर्मोचा काङ्ग्रेसको देशैभरिका कार्यकर्ताका निम्ति चीरपरिचित नाम हो । गाउँ या नगरपालिकाको अध्यक्ष पदमा उम्मेदवार बन्न चाहँदा नेतृत्वले उनलाई खुशी-खुशी टिकट दिनुपर्ने थियो । उच्च हैसियतका नेता महेशले काङ्ग्रेसको टिकट नपाएपछि खिजी पेम्बा गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । कोर्मोचाको उम्मेदवारीले ओखलढुङ्गामा ठूलो चर्चा पाएको छ । कदाचित उनी विजयी बन्न सकेनन् भने त्यो आर्थिक कारणले मात्र हुने अनुमान त्यस क्षेत्रका पर्यवेक्षकहरूले गरेका छन् ।

जगन्नाथ पौडेल पनि महेश कोर्मोचा जस्तै काङ्ग्रेसका पुराना नेता हुन् । चितवनबाट काङ्ग्रेसको सांसद बन्न सक्ने हैसियतका पौडेललाई भरतपुरको मेयरमा टिकट दिएको भए उनको विजय सुनिश्चित थियो । बागी उम्मेदवार बन्दा पनि जगन्नाथ माओवादी काङ्ग्रेसको उम्मेदवार रेणु दाहाल र एमाले उम्मेदवार विजय सुवेदीमाथि निकै हाबी भएका छन् । एमाले र माओवादी काङ्ग्रेसबीच मात्र टक्करको स्थिति रहने भरतपुरमा जगन्नाथको उम्मेदवारीपश्चात त्रिपक्षीय टक्करको स्थिति बनेको छ । भरतपुर महानगरका निम्ति सुहाउँदो उम्मेदवारका रूपमा पौडेललाई लिइएको छ । तर माओवादी काङ्ग्रेस र एमालेको साङ्गठनिक आधार भएकोले मात्र पौडेलको विजयबारे यकीन गर्न नसकिएको हो । राजनीतिक दृष्टिले चितवन अलिक ‘गर्मी’ ठाउँ मानिन्छ, जगन्नाथले विजय प्राप्त गर्न सक्ने हुन् या होइनन् भन्ने थाहा पाउन अझै दश दिन प्रतीक्षा गर्नुपर्ने छ ।