साँस्कृतिक भ्रमणमा मोदी : काठमाडौं नआइकन भारत फर्किनुहुने !

साँस्कृतिक भ्रमणमा मोदी : काठमाडौं नआइकन भारत फर्किनुहुने !


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको साँस्कृतिक भ्रमणमा आउनुहुने समाचार प्राप्त भएको छ । उहाँ बुद्धपूर्णिमाको अवसर पारेर आगामी जेठ २ गते लुम्बिनीमा आउन लाग्नुभएको हो । प्रधानमन्त्री मोदी भारतको कुशीनगरबाट हेलिकोप्टरमा लुम्बिनी पुग्नुहुने बताइएको छ । मोदीको स्वागतका निम्ति प्रधानमन्त्री शेरबहादुर देउवा, उहाँकी श्रीमती, परराष्ट्रमन्त्री डा. नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाण र पर्यटनमन्त्री प्रेम आलेलगायतका व्यक्तिहरू लुम्बिनी जाने तयारी भइरहेको बुझिएको छ । प्रधानमन्त्री देउवा र प्रधानमन्त्री मोदीबीच लुम्बिनीमै केहीबेर भलाकुसारी हुने सम्बद्ध सूत्रले जनाएको छ ।

प्रधानमन्त्री मोदीको यो भ्रमण विशुद्ध साँस्कृतिक हुने दाबी सम्वद्ध सुत्रहरूले गरेका छन् । उहाँको यसअघि तीन पटक नेपालको यात्रा भइसकेको छ । सन् २०१४ मा प्रधानमन्त्री चयन भएको केही सातापछि नै प्रधानमन्त्रीको हैसियतले मोदी पहिलोपटक नेपालको भ्रमणमा आउनुहुँदा उहाँबाट संसद् (संविधानसभा) लाई सम्बोधन भएको थियो । करिब पौने घण्टा लामो उहाँको सम्बोधनले नेपालीहरूमा भारतलाई हेर्ने दृष्टिकोणमै सकारात्मक परिवर्तन ल्याइदिएको थियो । तर ‘अदृष्य शक्ति’ले नेपालमा उहाँको लोकप्रियता धेरै दिनसम्म टिक्न दिएन । बलजफ्ती र रातारात संविधान जारी गराउने अदृष्य शक्तिले नै नेपाली जनता र मोदीबीचको सम्बन्ध धमिल्याउन मूख्य भूमिका निर्वाह गरेका थिए । पहिलो प्रधानमन्त्रीत्व कालमा जनकपुर हुँदै दोस्रो पटक नेपाल भ्रमणमा आउन लाग्नुभएका मोदीलाई जनकपुर भ्रमण गर्न नदिएर उहाँको मन दुःखाइएको थियो । त्यसबेला मोदीलाई जनकपुर भएर आउन नदिन पश्चिमी मिसनरीका साथ प्रचण्ड र विमलेन्द्र निधि विशेष रूपले सक्रिय भएर लागिपरेका थिए ।

तेस्रो पटक मोदी मुक्तिनाथ दर्शनलाई मूख्य उद्देश्य बनाएर नेपाल आउनुभएको थियो । यसपटक उहाँले लुम्बिनीलाई लक्षित गरेर नेपाल भ्रमणको कार्यक्रम बनाउनुभएको बताइएको छ । यसअघिका तीनवटै भ्रमणमा मोदी काठमाडौं आउनुभएको थियो, यसपटक उहाँको काठमाडौं आगमन नहुने बुझिएको छ । नेपालको वर्तमान राज्यसत्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति मैत्रीभाव राख्ने गर्दैन भन्ने ठानिन्छ । पश्चिमी इच्छा र योजनाअनुसार संविधान निर्माणमा संलग्न हुने सबै दलका नेताहरू नरेन्द्र मोदीप्रति अहिलेसम्म मित्रवत हुन सकेका छैनन् ।