पाँच महानगरमा विजयी बन्ने एमालेको दाबी : गठबन्धनमा चिरैचिरा !

पाँच महानगरमा विजयी बन्ने एमालेको दाबी : गठबन्धनमा चिरैचिरा !


बागी उम्मेदवारीले चुनावलाई द्विपक्षीयबाट त्रिपक्षीय टक्करको अवस्थामा पुऱ्याइदिएको छ । यसअघिको निर्वाचनमा काङ्ग्रेसको बागी नहुँदा माओवादीसँगको प्रतिष्पर्धामा झण्डै विजयी बनेको एमालेले भरतपुरमा समेत यसपटक आफैं विजयी बन्ने ठानेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध मोर्चाबन्दी गर्न सत्ता गठबन्धनका केन्द्रीय नेताहरू सफल भए पनि स्थानीय तहमा नेतृत्वको योजना जस्ताको त्यस्तै कार्यान्वयन हुन नसक्ने देखिएको छ । माधवकुमार नेपाल, प्रचण्ड र उपेन्द्र यादवहरू एमालेलाई परास्त गरेर केपी शर्मा ओलीको ‘अहङ्कार’ चुर्ण बनाउने उद्देश्यले काङ्ग्रेस पार्टीसँग चुनावी गठबन्धन बनाउन अग्रसर भएको बुझिन्छ भने शेरबहादुर देउवाको उद्देश्य र नियत उनीहरूको भन्दा भिन्न देखिन्छ ।

आगामी, संसदीय निर्वाचनमा प्रचण्ड, माधव र उपेन्द्रलाई एमालेविरुद्ध उपयोग-प्रयोग गर्दै आफ्नो दललाई संसदको सबैभन्दा ठूलो दल बनाउने रणनीतिक योजनामा देउवा रहेका छन् । देउवाको यस्तो योजनामा काङ्ग्रेसभित्र उनका समर्थकहरूको साथ रहेको भए पनि कोइरालापक्षीय काङ्ग्रेस ‘विद्रोही मानसिकता’मा देखिएका छन् । देशैभर कोइराला पक्ष देउवाको सोच र योजनाभन्दा भिन्न भूमिका निर्वाह गर्ने तयारीमा देखापरेको छ । स्थानीय निर्वाचनमा देउवाको कार्ययोजना असफल तुल्याउन सक्दा मात्र काङ्ग्रेसमा आफूहरूका निम्ति अनुकुल परिस्थिति बन्ने ठहर कोइराला पक्षको छ । काङ्ग्रेसभित्र उत्पन्न चरम अन्तरविरोधको असर चुनावी परिणाममा पर्ने अब स्पष्ट भएको छ ।

देशका ६ महानगरको चुनावी परिणामले भोलिको राजनीतिक शक्ति सन्तुलनको सङ्केत गर्ने ठानिएको छ । काठमाडौं, ललितपुर, विराटनगर, वीरगन्ज, भरतपुर र पोखरा महानगरबाट नेकपा एमालेलाई पूरै बढार्ने योजना र तयारी सत्ता गठबन्धनको हो । त्यसनिम्ति काङ्ग्रेसले काठमाडौं ललितपुर र विराटनगरमा प्रस्तुत गरेका उम्मेदवार कमजोर पनि मानिएका छैनन् । राजधानी काठमाडौंको प्रमुखमा उम्मेदवार बनाइएकी सिर्जना सिंह अनेक दृष्टिले उपयुक्त मानिन्छिन् भने ललितपुरमा प्रमुखका उम्मेदवार चिरिबाबु महर्जन पनि सक्षम र बलिया ठानिन्छन् । तर यी दुवै महानगरमा नेकपा एमालेले आफ्नो विजय सुनिश्चित ठानेको छ । यी दुवै महानगरमा एमालेको प्रतिवद्ध मतदाताहरूको सङ्ख्या तुलनात्मक रूपमा अधिक रहेको, काङ्ग्रेसका उम्मेदवारलाई अन्तर्घात हुने निश्चित भएको र, स्वतन्त्र उम्मेदवारहरूले पनि सबैभन्दा बढी मत काङ्ग्रेसकै काट्ने भएकोले काठमाडौं र ललितपुरमा काङ्ग्रेस रक्षात्मक अवस्थामा पुगेको देखिन्छ ।

त्यसैगरी पोखरा महानगरमा पनि एमालेको पल्ला भारी देखिएको छ । सत्ता गठबन्धनका घटकहरूमध्ये माधव नेपाल समूहलाई कमजोर मानिन्छ तर, पोखराको प्रमुख पद नेपाल समूहको भागमा परेको छ । एमालेको धेरै राम्रो पकड क्षेत्रमध्ये मानिएको पोखरामा एमालेले लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाएकोले पनि उक्त महानगरमा एमालेको दाबीअनुरुपको सफलता मिल्ने ठानिएको छ ।

भरतपुर महानगरको चुनाव अनेक दृष्टिले सर्वाधिक महत्वपूर्ण मानिन्छ । माओवादी नेता प्रचण्डको संसदीय निर्वाचन क्षेत्र भएको र, प्रचण्डको आफ्नै छोरी उम्मेदवार बनेका कारणले मात्र उक्त महानगरको निर्वाचनलाई महत्वपूर्ण मानिएको होइन । भरतपुरको हार-जितले सत्ता गठबन्धनको भविष्य र आगामी संसदीय निर्वाचनमा बन्ने गठबन्धनलाई समेत असर गर्ने हुनाले भरतपुर महानगरको निर्वाचन ज्यादा अर्थपूर्ण हुने ठानिएको हो । काङ्ग्रेसको बागी उम्मेदवार नभएको र, काङ्ग्रेसका समर्थकहरूको मत माओवादी उम्मेदवारलाई जाने स्थिति भइदिएको भए भरतपुरमा अत्यधिक मतबाट माओवादी उम्मेदवारको विजय हुने निश्चित थियो । काङ्ग्रेसको बलियो बागी खडा भएपछि भरतपुरको चुनावी परिणाम अनपेक्षित हुन सक्ने देखिन्छ । बागी उम्मेदवारीले चुनावलाई द्विपक्षीयबाट त्रिपक्षीय टक्करको अवस्थामा पुऱ्याइदिएको छ । यसअघिको निर्वाचनमा काङ्ग्रेसको बागी नहुँदा माओवादीसँगको प्रतिष्पर्धामा झण्डै विजयी बनेको एमालेले भरतपुरमा समेत यसपटक आफैं विजयी बन्ने ठानेको छ ।

उता माओवादी पक्ष भने काङ्ग्रेस मतको ठूलो हिस्सा एमालेतर्फ मोडिन सक्ने कुराले चिन्तित थियो । काङ्ग्रेसको बागी खडा भएकोले आफूलाई नआउने तर एमालेतिर जान सक्ने सबै मत रोकिने र, त्यसले आफूलाई विजयी बन्न सहयोग पुऱ्याउने माओवादी पक्षको विश्वास र विश्लेषण छ । जबकि बाहिरी चर्चा र माहोलको मात्र आधारमा भन्नुपर्दा काङ्ग्रेसका बागी जगन्नाथ पौडेलले विजय हात पार्ने सम्भावना रहेको छ भन्नुपर्ने हुन्छ । तर बाह्य चर्चा अधिक भए पनि अहिलेसम्म जगन्नाथ तेस्रो स्थानमा रहेका छन्, कुनै चमत्कार भएको स्थितिमा मात्र उनको अवस्था बदलिन सक्ने विश्वास गर्न सकिन्छ । भरतपुरको स्थिति अध्ययन गर्दा त्यहाँ अहिलेसम्म एमाले उम्मेदवार सबैभन्दा अगाडि, त्यसपछि माओवादी र तेस्रोमा जगन्नाथ पौडेल देखिएका छन् । यही अवस्था वैशाख ३० सम्म कायम रह्यो भने यसपटकको चुनावी परिणाम एमालेको पक्षमा जाने प्रबल सम्भावना छ ।

जसपाको भागमा परेको वीरगञ्ज महानगर पनि आफ्नै हातमा आउने विश्वास र विश्लेषण एमाले नेतृत्वले गरेको छ । उम्मेदवार चयनका कारण जसपाभित्र असन्तुष्टि बढेको तथा काङ्ग्रेस र माओवादी समर्थकहरूको मत समेत आफूतिर आउने विश्वासका आधारमा एमाले आफू विजयी बन्ने निष्कर्शमा पुगेको हो । वीरगञ्जमा जसपाको साझा उम्मेदवारलाई पराजित गर्ने सफलता एमालेलाई मिल्ने विश्वास अन्य पक्षले गरेका छैनन्, यदि त्यहाँसमेत एमाले विजयी बन्यो भने त्यसले देशको राजनीति भिन्न स्थितिमा पुऱ्याउने निश्चित छ ।

एमालेले विराटनगर महानगरमा आफू विजयी बन्न सक्ने ठानेको छैन । विराटनगरमा गठबन्धनकै उम्मेदवार विजयी बन्ने ठहर एमाले स्वयम्ले गरेको बुझिन्छ ।

महानगरबाहेक बुटवल, सिद्धार्थनगर, घोराही, हेटौँडा, सुर्खेत (वीरेन्द्रनगर) र नेपालगञ्ज जस्ता नगर समेतमा आफू विजयी बन्ने दाबी एमालेको छ ।

चुनावी माहोलको अध्ययन गर्दा एमालेलाई बढार्ने योजनामा सत्ता गठबन्धन सफल हुने अवस्था अहिलेसम्म देखापरेको छैन । बरु स्थानीय निर्वाचन परिणामले नै एमालेलाई देशको सबैभन्दा ठूलो पार्टीका रूपमा स्थापित गरिदिने सङ्केतहरू देखिन थालेका छन् ।