काङ्ग्रेसले चुनाव नजिते बजेट रोकिने चेतावनी !

काङ्ग्रेसले चुनाव नजिते बजेट रोकिने चेतावनी !


  • डम्बर निदाल, डडेल्धुरा

नेपाली काङ्ग्रेस केन्द्रिय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी डा. आरजु राणा देउवाले देशमा समृद्धि नेपाली कांग्रेसले मात्रै ल्याउने बताएकी छन् । विकास गर्ने भनेको अहिले स्थानीय सरकार भएकाले स्थानीय तहमा काङ्ग्रेसलाई जिताउन उनले मतदातालाई आग्रह गरिन् ।

बुधबार डडेल्धुरा सदरमुकाम बागबजारको बसपार्कमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेतृ राणाले अबको निर्वाचनपछि पनि देउवाकै नेतृत्वमा सरकार गठन हुने दाबी गरिन् र, विकासका लागि स्थानीय तहमा काङ्ग्रेसका उम्मेदवारलाई जिताउन उनले आग्रह गरिन् ।

डडेल्धुरामा काङ्ग्रेस फुटेपछि काङ्ग्रेस डडेल्धुराका निवर्तमान जिल्ला सभापति कर्ण मल्लको समुहले बीपी कांग्रेसबाट स्थानीय तहको चुनावमा नेकपा एमालेसँग तालमेल गरी चुनावमा होमिएको प्रसङ्ग जोड्दै उनले एमालेलाई वैशाखी बनाएको आरोप लगाइन् । करुवा चिन्ह भएको कुनै राजनीतिक पार्टी नभई अराजक समुह भएको आरोप लगाउँदै आरजु राणाले उसको पछि नलागी काङ्ग्रेसलाई जिताउन आग्रह गरिन् ।

गत निर्वाचनमा निर्वाचित एमालेले जिल्लामा कुनै पनि काम गर्न नसकेको भन्दै उनले अन्य पार्टीका उम्मेदवार निर्वाचित भए डडेल्धुरामा बजेट अभाव हुने धम्की दिइन् ।

डडेलधुरामा देउवाले धेरै विकास गरेको दाबी गर्दै उनले डडेल्धुरा जिल्लाले आफूलाई माइतीघरले दिने भन्दा ज्यादा माया प्रदान गरेको भन्दै आरजु राणाले मत फकाउने चेष्टा गरिन् । भारतले पश्चिमसेती आयोजना निर्माण गर्न त्यहाँको एक कम्पनीले पत्र पठाइसकेको उल्लेख गर्दै परियोजना बने स्थानीयले रोजगार पाउने उनले बताइन् । प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला पञ्चेश्वर परियोजनाको कुरा पनि भएकाले उक्त परियोजनासमेत लागु हुने आरजुको भनाइ थियो ।

उक्त चुनावी सभालाई सम्बोधन गर्न जिल्ला पुगेका कांग्रेस केन्द्रिय सदस्य नैनसिंह महरले पनि कांग्रेसले जिते मात्रै देश विकास र विकास निर्माणको ढोका खुल्ने तर अन्यले आशा मात्रै देखाउने अनि आश्वासन मात्रै दिने गरेको आरोप लगाए । उनले पनि कांग्रेसले चुनाव नजिते डडेल्धुरा विकसित हुन अझै दशकौँ लाग्ने तर्क गरे ।