नेपाललाई सिंगापुर हैन नेपाल नै बनाउने कसले ?

नेपाललाई सिंगापुर हैन नेपाल नै बनाउने कसले ?


नेपाललाई अमेरिका, सिंगापुर, जापान आदि बनाउने प्रयत्न गरेको पनि धेरै भयो, अब नेपाललाई नेपाल नै बनाउने प्रयत्न गर्नुपर्छ । यस्तो नेपाल जसमा प्रत्येक जनताको आधारभुत आवश्यकता पूरा भएको होस् । यस्तो नेपाल जसमा व्यापारघाटा नहोस् । यस्तो नेपाल जसका नागरिकले विदेश जाँदा सम्मानको दृष्टि नपाए पनि हेयदृष्टिको सामना गर्न नपरोस् ।
  • स्वयम्भूनाथ कार्की

यो संविधान अन्तर्गतको पहिलो निर्वाचनताका सबै कुरा स्मार्ट बनाउने अभियान चल्यो । कोही नेपाललाई सिंगापुर बनाउने बाचा गर्न थाले, कोही अमेरिका । धेरै स्थानीय तहका प्रमुखहरूको विदेश भ्रमण भयो, यस्ता विदेश भ्रमणमा खर्च कसको भयो ? यो कुरा गौण रह्यो । तर पैसा भए पनि समय भए पनि त्यो पालिकामा बस्नेहरूकै अपब्यय भयो । यो त जनताको पैसा, समय आदिको सानो अपब्यय मात्र थियो । यस्ता स्मार्ट शहर बनाउने, सिंगापुर बनाउने, सिक्किमको एमजी रोड बनाउने जस्ता नक्कले बाँदरको जस्तो प्रयत्नले जनतालाई राम्रेरी नै गिज्यायो । त्यो पनि त्यही जनताको रगत पसिनाबाट तिरेको राजश्व खर्च गरेर । त्यो राजश्वमा पसिनाको कमाइमा मात्र नभएर हरेक वर्ष कमाई नै नभए पनि तिर्नुपर्ने सम्पत्ति कर पनि छ । सम्पत्ति कर यस्तो दण्ड हो जो पहिले सम्पत्ति कमाएको कारणले हरेक वर्ष तिर्नैपर्छ चाहे त्यसबाट उपति होस् वा नहोस् ।

एकाएक जनताको पैसा अर्थात् करबाट बनेको कोषमा हालिमुहाली गर्न पुगेपछि ‘नपाउनेले केरा पायो बोक्रैसँग खायो’ चरितार्थ गर्न लागे हरेक तहका सरकारमा गएका जनप्रतिनिधि भनिने दल-प्रतिनिधिहरू ! ‘म तिमीहरूले बनाएको पदाधिकारी हैन’ भन्ने दम्भ पनि देखाए, कतै व्यवहारले कतै निर्लज्ज भएर बोलीले नै । बोलीले देखाएका कुराहरू सामाजिक सञ्जालभरी छताछुल्ल भए, व्यवहारमा देखाएको कुराचाहिँ भोग्नेहरूले मात्र थाहा पाए, अरुले थाहा नपाउन् भनेर प्रेस सल्लाहकारको टोली नै त्यही जनताको पैसा खर्चेर राखिएका छन् । नेपाललाई स्मार्ट बनाउने, अमेरिका सिंगापुर बनाउने ध्याउन्नमा विकासका प्रतीक भनेर ‘भ्यू टावर’हरू बनाउने होड चल्यो । ससुरालीमा चार्टर्ड हेलिकप्टर चढेर गइ प्रदेशको नाक उच्च बनाउने काम पनि भए । आफ्ना आराध्य नेतालाई खुशी राखे, चाकरी पुऱ्याए सात खुन माफ भयो ।

नेपाललाई सिंगापुर बनाउने ध्याउन्नमा जनताका आधारभूत आवश्यकताको निमित्त काम गर्न राजश्व अपुग भयो । उत्पादन प्रवद्र्धन गर्न गरिनुपर्ने आवश्यक खर्च गर्न राजश्वमा पैसा भएन । आवश्यकता अनि पर्याप्त अध्ययनबेगर ल्याइएका यस्ता ‘स्मार्ट’ विशेषण जोडेका कामहरू धमाधम असफल हुँदैछन् । त्यसमा खर्च भएको जनताले गाँस काटेर तिरेको राजश्व हानीको भरपाई कसले गर्ने ? यो प्रश्न अझ मार्मिक त्यसबेला हुन्छ जब यो खर्च जनताको अति आवश्यक पर्ने योजनाको गाँस काटेर गरिएको तथ्य अनुभूति गरिन्छ ।

भ्यू टावरहरूलाई उन्नति-प्रगतिको सूचक मान्ने नेताहरूलाई हालसम् मबनेका भ्यू टावरहरूले राष्ट्रिय उत्पादनमा कति योगदान दियो भनेर सोध्नैपर्ने भएको छ । यो प्रश्न गरेकोमा खनिन आउने दलहरूका दस्ताका सदस्यहरूले पनि बुझ्न आवश्यक छ कि यस्ता बहुलठ्ठी कामले घरमा लागेको आगोले उनीहरूलाई पनि समाप्त पार्छ । हो हाम्रो साझा घर भनेको नेपाल हो, र यसमा आगोको झिल्का देखिएको आधिकारिक घोषणा नै भएको छ । खर्च बचाउन हप्तामा दुई दिन बिदा दिएको उदाहरण नै पर्याप्त छ ।

आजको आवश्यकता नेपाललाई अमेरिका, सिंगापुर आदि बनाउने नेतृत्वको नभइ नेपाललाई नेपाल नै बनाउने नेतृत्वको हो । हो त्यो नेपाल भने विश्वमा पहिले कायम गरेको स्वाभिमानयुक्त नेपाल हुनु पर्दछ, नेपाली राहदानी देख्ने बित्तिकै हेयको दृष्टिले हेरिने नेपाल हैन । त्यो नेपाल पहिलेजस्तो खाद्यान्न निर्यात गर्न सक्ने अवस्थाको नभए पनि निगुरोसम्म पनि आयात गर्ने नेपाल हुनु हुँदैन । त्यो नेपाल श्रम सामर्थ्य भएका आधा युवा विदेशमा मेहनत गर्ने र बाँकी आधा दल तथा नेताहरूको पिछलग्गु भएर कमाइ गर्ने हुनु हुँदैन । वैदेशिक रोजगारीमा जाने हैन विदेशबाट पनि श्रमिक ल्याउनुपर्ने गरेर उत्पादन गर्ने नेपाल हुनु पर्दछ ।

हामीले नेपाललाई अमेरिका, सिंगापुर, जापान आदि बनाउने प्रयत्न गरेको पनि तीन दशकभन्दा धेरै भयो, अब नेपाललाई नेपाल नै बनाउने प्रयत्न गर्नुपर्छ । यस्तो नेपाल जसमा प्रत्येक जनताको आधारभुत आवश्यकता पूरा भएको होस् । यस्तो नेपाल जसमा व्यापारघाटा नहोस् । यस्तो नेपाल जसका नागरिकले विदेश जाँदा सम्मानको दृष्टि नपाए पनि हेयदृष्टिको सामना गर्न नपरोस् । भन्नुस् अब नेपाललाई सिंगापुर हैन ‘नेपाल’ नै बनाउने कसले ?