राजनीति पेशा बन्दा ब्यवस्थाकै उड्यो धज्जी !

राजनीति पेशा बन्दा ब्यवस्थाकै उड्यो धज्जी !


नेपालका अहिलेका राजनीतिजीवीबाट इमानपूर्ण र जनराहतकारी राजनीतिको आशा एउटा फगत मृगमरीचिका हो । यिनले आजपर्यन्त गरिरहेको राजनीति केवल ‘पेशा’ हो, जसको कारण नै यस देशमा लोकतन्त्र र गणतान्त्रिक व्यवस्थाको धज्जी उडिरहेको छ ।
  • राजबाबु शंकर

यसै पनि नेपालको राजनीतिमा इमान-जमान लिलामीमा चढाइए झैँ छ । जब राजनीति गर्ने हौं भन्नेहरूमा इमान नै छैन भने त्यो राजनीति कसरी भयो ? राजनीतिको आधारभूत प्राथमिकता त सिद्धान्त, विचार, दूरसोच, इमान, जमान र त्यागको हुन्छ, हुनुपर्ने हो । तर, केही दशकयता राजनीति गर्न ढाँट्न सिपालु, काइते, धूर्त र राष्ट्रको सम्पत्ति दोहन गर्न खप्पीस भए हुने जस्तो भइसकेको छ । विचार, सदाचार, इच्छाशक्ति र पुग्दो योग्यता हुनेहरू चाहिँ राजनीतिमा विफल हुनुपरेका उदाहरण कैयौँ छन् । बरू सम्पत्तिवाल चाहिँ हुनै पर्छ, नेता बन्नका लागि । जसले जसरी कमाएको भए पनि यदि रकम खर्च गर्न सक्छ भने उही नेता बन्छ, बनेको छ, बनाएका छन्- अनेकन् नामधारी दलहरूका मुखियाले ।

जनप्रतिनिधि बन्न वा कुनै पनि पदमा नियुक्ति लिन पदअनुसारको दाम दलका मुखियालाई भेटी राख्नसक्ने सफल बन्दै आएका उदाहरणहरू त विभिन्न प्रकरणहरूले जताएकै छन्, छिपेकै छैन । त्यसैले त अघिल्लो स्थानीय तहको चुनावमा स्थानीय तहका ४० प्रतिशत जति जनप्रतिनिधि निर्माण वा अन्य व्यवसायसँग सम्बन्धित थिए, भनिएको हो । अब पनि स्थानीय तहको आसन्न चुनावमा फेरि निर्माणसँग सम्बन्धितसँगै अन्यान्य व्यवसायीहरू जनप्रतिनिधि बन्न ताहुरमाहुर गरिरहेछन् । मुख्य काम अरू नै भएकाहरूले हाल आएर जनप्रतिनिधि समेत बन्ने चाहना राख्नुको अर्थ प्रकारान्तरले राजनीति-गराइ पनि अन्ततः रकम कमाउने एउटा सुरक्षित प्लेटफर्म हो भन्ने गमेरै हाम फाल्न कस्सिएका हुन् ।

कुनै पनि पेशा वा व्यवसाय गरिरहेकाहरू राजनीतिमा आउन हुने कि नहुने- बहसको विषय हो । विश्व राजनीतिक इतिहासमा अन्य पेशा वा व्यवसाय गरिरहेकाहरू राजनीतिमा पनि आएपछि एउटा सकारात्मक र कतिपय अर्थमा त अनुकरणीय छाप छोड्न समेत सफल भएका छन् । आफूले गरिरहेको कर्ममा सफल भएका व्यक्तिहरू कालान्तरमा राजनीतिमा प्रवेश गर्दा पनि सफल भएका अनेकौं नजीर छन् । तर, नेपालको सन्दर्भमा ती उदाहरण किन बेकामे हुन्छन् भने यहाँ अधिकांशतः ‘कमाउन’ नै राजनीतिलाई सिँढी बनाउन प्रवेश गरेका वा प्रवेश गर्न लालायित भएर आएका पाइन्छन् । यतिबेला कतिपय निर्माण व्यवसायीहरू स्थानीय तहमा जनप्रतिनिधि बन्न चाहनुको अन्तर्य पनि त्यही स्वार्थसँग गाँसिएको छ ।

कतिपय उद्योगी-व्यवसायीले चन्दा दिएर पछि निर्वाचित जनप्रतिनिधि मार्फत आफ्नो स्वार्थ साँध्ने गरेका छन् भने कतिपयचाहिँ आफैं जनप्रतिनिधि बन्न लालायित छन् । तिनको उद्देश्य गाउँ-समाजको विकास निर्माण, जनता र राष्ट्रको सेवा गर्नु नभएर पद र शक्ति हत्याएर अकुत कमाउनु हो । विकृत बनेको नेपाली राजनीतिमार्फत देशको दोहन गर्नु हो । यद्यपि कतिपयको तर्क यो पनि सुनिन्छ कि, उद्यमी-व्यवसायीले पहिल्यै कमाइसकेका हुनाले उनीहरूलाई मनग्गे पुग्दो हुन्छ; त्यसैले तिनले जनप्रतिनिधि भएपछि भ्रष्टाचार गर्दैनन् । तर, त्यो कुतर्क किन हो भने, भ्रष्टाचार धनीले नगरेका छैनन् । बरू झन् अधिक परिमाणमा गर्ने गर्छन्, किनकि तिनलाई सानोतिनो रकममा आँखै लाग्दैन । र, भ्रष्टाचार गरीबले मात्रै गर्छ भन्नु सोझै आरोप हुन्छ । त्यसो त नेपालमा कतिपय सम्पन्न प्रधानमन्त्री र मन्त्री वा सरकारी कर्मचारीहरूको पछिल्ला केही प्रकरणहरू दसी छन्, जसले कमाउनु नै पदको ध्येय बनाए, बनाएका छन् ।

अतएवः नेपालका अहिलेका राजनीतिजीवीबाट इमानपूर्ण र जनराहतकारी राजनीतिको आशा एउटा फगत मृगमरीचिका हो । यिनले आजपर्यन्त गरिरहेको राजनीति विशुद्ध रूपमा केवल ‘पेशा’ हो, जसको कारण नै यस देशमा लोकतन्त्र र गणतान्त्रिक व्यवस्थाको धज्जी उडिरहेको छ । जो बाहुबली छ, धनवान छ वा छलकपट र धूर्त विधामा पारंगत छ- अधिकांशतः त्यस्तै पात्रले राजनीतिलाई पेशा बनाएर ठगठाग गरिरहेका छन् । यद्यपि नेपाली इतिहासमा पञ्चायतकालदेखि हालसम्ममा औंलामा गन्न सकिने राजनेता नभएका होइनन्, तथापि ती महामनाको विरासत थाम्ने आज क्वै छैनन्, भएनन् ! त्यसउसले राजनीति पेशा नभएर सेवा हो भन्ने र तद्नुरुप कर्म नै गर्नेहरूको खोजी आम नागरिक तहमा उधुम बढेको छ ।