रोल्पाको माडीमा दलहरुबीच झडप, कांग्रेस उम्मेदवार डाँगी घाइते

रोल्पाको माडीमा दलहरुबीच झडप, कांग्रेस उम्मेदवार डाँगी घाइते


रोल्पाको माडी गाउँपालिका-३ तालाबाङमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परेर कांग्रेसका वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइते भएका छन् ।

तालाबाङ बजारमा चुनावी सभा सकेर फर्कने क्रममा झडप भएको हो । डाँगीलाई रड प्रहार गरी सख्त घाइते बनाएको कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोपाल घर्तीले जानकारी दिएका छन् । उनलाई उपचारका लागि दाङ लगिएको छ ।

बाटोमा डाँगी चढेको गाडी नियन्त्रमा लिएर उनमाथि आक्रमण गरिएको घर्तीको आरोप छ । आफ्ना कार्यकर्तामाथि आक्रमण भएपछि प्रतिकार गरेको माओवादी केन्द्रका माडी गाउँपालिका सचिव वीरबहादुर घर्तीको भनाइ छ ।

झडपलगत्तै प्रहरी टोली घटनास्थल पुगेको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले अहिले अवस्था सामान्य रहेको बताए ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि माडी गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तथा कांग्रेस र एमालेबीच छुट्टाछुट्टै चुनावी तालमेल भएको छ ।