इनास बेल्जियमद्वारा सांगीतिक कार्यक्रमको आयोजना

इनास बेल्जियमद्वारा सांगीतिक कार्यक्रमको आयोजना


  • सनत आचार्य, बेल्जियम

अन्तर्राष्ट्रिय क्षेत्रमा कलाकार तथा नेपाली कला-संस्कृति उत्थानका लागि बेल्जियममा क्रियाशील संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले बेल्जियमको ब्रुज शहरमा ‘इनास साँस्कृतिक कार्यक्रम’ आयोजना गरेको छ ।

बेल्जियममा रहेका दोश्रो पुस्ताका नेपाली बालकालिकाहरूमा निहीत कला, संस्कृति र सीप प्रदर्शन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमको उद्घाटन गर्दै इनास ग्लोबलका उपाध्यक्ष मित्रलाल पार्देले सन् २०१२ मा स्थापित यो संस्था आजका मितिसम्म ७२ भन्दा बढी देशमा शाखा स्थापना गरी प्रवासमा नेपाली कला, संस्कृति र सीपको प्रचारप्रसार र प्रवर्द्धनमा क्रियाशील रहेको बताउनुभयो ।

अध्यक्ष पार्देले नेपाल कला संस्कृतिमा संसारकै धनी देश भएता पनि प्रवासमा कला संस्कृति जीवित राख्न सके यसले नेपाली समाजलाई बचाइराख्ने बताउनुभयो ।

उहाँले इनास आफूहरूलाई आवश्यक नभएको तर भोलिको पुस्ताका लागि यो संस्था आवश्यक रहेको बताउँदै प्रवासमा कला-संस्कृतिलाई प्रवर्धनका कलाकार र उहाँहरूको अभिभावकको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नुभयो । पार्देले संसारभरी आफ्नो कला संस्कृति देखाउन र संरक्षण गर्न पाइयोस् भने अपेक्षा समेत व्यक्त गर्नुभयो ।

इनास बेल्जियमकी अध्यक्ष विनिता रिमाल कँडेलले नेपालको कला, संस्कार र संस्कृतिलाई जीवन्त राख्ने हो भने प्रवासमा यसको व्यापक प्रचारप्रसार हुन आवश्यक रहेको बताउँदै नेपाली कला, संस्कृति दोश्रो पुस्तामा सार्नु नै यसलाई जीवित राख्नु हो भन्ने तर्क दिनुभयो ।

अध्यक्ष कँडेलले प्रवासमा नेपाली कला संस्कृतिलाई यदि बचाइराख्ने हो भने दोश्रो पुस्ताको सक्रियता आवश्यक रहेको अन्यथा यो क्षेत्रमा ठूलो संकट आउन सक्ने हुँदा आफूहरुले इनासलाई सक्रिय बनाउन चाहेको जिकिर गर्नुभयो ।

गैरआवासीय नेपाली संघ बेल्जियमका महासचिव रमेश कँडेलले इनासले नेपाली कला, संस्कृति र सीपको संरक्षणका लागि बालबालिकालाई लक्षित गरी संचालन गरेको कार्यक्रमको प्रशंसा गर्दै यसमा दोश्रो पुस्ताको सक्रियता र उपस्थितिले नेपाली कला संस्कृतिको संरक्षणमा ठुलो सहयोग पुग्ने धारणा राख्नुभयो ।

महासचिव कँडेलले कला-संस्कृतिले व्यक्तिको मात्र पहिचान नदिइ देशको समेत मौलिक पहिचान दिने भएकोले यसको निरन्तरताका लागि सकारात्मक भएर सोच्न सबैमा आग्रह गर्नुभयो ।

इनासका निवर्तमान अध्यक्ष श्याम श्रेष्ठले कोभिडको महामारीपश्चात आयोजना गरिएको यो पहिलो कार्यक्रम भएको जानकारी गराउँदै आगामी दिनमा आफुहरूले थप गतिविधि समाज समक्ष ल्याउन चाहेको बताउनुभयो ।

उक्त कार्यक्रममा इनास ग्लोबलका उपाध्यक्ष अर्जुन काफ्ले, इनास पोल्याण्डका योगीकृष्ण भण्डारीले प्रवासमा नेपाली कला संस्कृतिको आवश्यकता बारेमा प्रकाश पार्नुभएको थियो ।

वरिष्ठ कलाकार नरेन्द्र थापाले स-साना भाइबहिनीहरूलाई नेपाली कला संगीतको क्षेत्रमा मात्र नभई नेपाली भाषाको पनि ज्ञान दिन पनि आवश्यक रहेको बताउनुभयो । उहाँले प्रवासमा रहेका सबै दोश्रो पुस्तालाई नेपाली भाषा संस्कृति सिकाउन आवश्यक रहेको र यदि त्यसो नभएमा दोषी अभिभावक नै हुने तर्क गर्नुभयो ।

स-साना भाइबहिनीहरूले राष्ट्रिय गान गाएर शुभारम्भ गरिएको उक्त साँस्कृतिक कार्यक्रममा सय थरी बाजा एउटै ताल गीतमा मिसिता कँडेल, कायरा नेवार, स्मारिका पुन सुब्बा, प्रनिशा कँडेल र दिपशिखा पुन सुब्बाले सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।

गुराँस फुल्दा मनै रमाइलो गीतमा प्राची तिमल्सिना, हिजो राति सपनीमा त्यहीँ पर देखेको गीतमा कुसुम केसी, रिमिक्स गीतमा शिला सुवेदी, स्वेच्छा कँडेल र दीपशिखा पाण्डेको नृत्यले दर्शकहरूलाई छमछमी नचाएको थियो ।

कार्यक्रममा रस्बिन कँडेल, रेवन गुरुङ र रिदम गुरुङको छमछमी स्टकोट गीतको नाचले पनि दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गरेको थियो ।

त्यस्तै रस्बिन कँडेलको रेशम फिरिरी र फुलबुट्टे सारी गीतको एकल पियानो बादन अनि दिपशीखा पाण्डेद्वारा बनाइएको पेण्टिङले दर्शकहरुमा थप रोमान्चकता तथा उत्साह पैदा गरिदिएको अनुभूति गरियो ।

अतिथि कलाकार संगीत थापा र इसानका महासचिव अर्जुन शाही (लाहुरे कान्छा) ले प्रस्तुत गरेको एकल गीतले दर्शकहरूलाई निकै तताएको थियो ।

इनास बेल्जियमका महासचिव अर्जुन शाहीले स्वागत गरेको उक्त कार्यक्रमलाई कुशुम केसी, शुभम् अधिकारी, रचना कँडेल र स्मृति गिरीले संचालन गरेका थिए ।