बेल्जियमवासी नेपालीका घरमा किन बढ्यो चोरीका घटना ?

बेल्जियमवासी नेपालीका घरमा किन बढ्यो चोरीका घटना ?


  • सनत आचार्य, बेल्जियम

पछिल्लो समय बेल्जियमको आन्तरपेन क्षेत्र आसपासमा नेपालीहरूको घरमा चोरीका घटना हुन थालेका छन् ।

बिशेषगरी बिदा मनाउन घर गएका र दिउँसो काममा गएका नेपालीहरूको घरमा चोरी हुँदा सुनचाँदीका गरगहना, नगद तथा जिन्सीहरू चोरी भएको पीडितहरूले जनाएका छन् ।

परिचय खुलाउन नचाहने एक पीडितले भने- ‘हामी नेपाल गएको बेला घरमा चोरी भएछ । आएपछि मात्र थाहा पायौँ ।’

दुई महिनायता उक्त क्षेत्रमा बसोबास गर्ने पाँच नेपालीको सुनसान घरमा चोरी भएको बुझिएको गैरअवासीय नेपाली संघका महासचिव रमेश कँडेलले बताए ।

चोरीका घटना हुनु दुःखद भएको भन्दै कँडेलले चोरी भएका घरमा सुरक्षा प्रबन्ध एवम् सतर्कतामा कमजोरी भएको बुझिएको बताए । सुरक्षाका लागि अपनाउन सकिने उपाय अवलम्बन गर्न कसैले लापर्वाही गर्न नहुने उनको सुझाव छ ।

यस्तै, गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले पछिल्लो समयमा नेपालीहरूको घरमा चोरीको घटनामा वृद्धि भएको जानकारी आफूलाई मिलेको बताउँदै यस्ता घटना हुन नदिन मूलतः सजगता नै अपनाउनुपर्ने सुझाव दिए ।

अध्यक्ष केसीले केही वर्षअघि पनि लुभेन क्षेत्रमा चोरीका घटना भएको स्मरण गर्दै लामो समय बिदा मनाउन गएकाहरूले सामाजिक संजालमा फोटो पोष्ट गर्नाले पनि यस्ता घटनाहरू घट्न मद्दत पुगेको तर्क गरे । आफ्ना पारिवारिक तथा वैयक्तिक कुराहरू सामाजिक सञ्जालमा पोष्ट गरिदिँदा आपराधिक मनोवृत्तिका मानिसले गलत फाइदा उठाउन सक्नेतर्फ सबै सचेत हुनुपर्ने उनको भनाइ छ ।

घरको सुरक्षा व्यवस्था बलियो बनाउन सिसिटिभि जडान गरेर त्यसको जानकारी मोवाइलमा आउने बनाउने, लामो समयसम्म विदामा जाँदा नजिक आफन्त वा चिनजानका व्यक्तिलाई घरको जिम्मा दिएर जाने र चोर आएको संकेत गर्ने घण्टी जडान गरी यस्ता घटनाबाट जोगिन सकिने उनले सुझाव दिए ।