अख्तियारको छानबिनमा रहेका अधिकारी भरतपुरको उपमेयर उम्मेदवार !

अख्तियारको छानबिनमा रहेका अधिकारी भरतपुरको उपमेयर उम्मेदवार !


अनियमितताको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका चित्रसेन अधिकारीलाई सत्ता गठबन्धनले भरतपुर महानगरपालिकाको उपमेयर उम्मेदवार बनाएको छ । अधिकारीमाथि भरतपुर-२१ को वडाध्यक्ष रहेका बेला वडाको विकास निर्माणमा अनियमिमता गरेको आरोपमा छानबिन चलिरहेको छ ।

अधिकारीले उपभोक्ता समिति र ठेकेदारसँग रकम लिई गुणस्तरहीन काम गरेको भन्दै हेटौंडा अख्तियारको टोलीले असोज २०७८ मा वडामा पुगेर आवश्यक कागजात जफत गरेको थियो । अधिकारी नेपाली कांग्रेस भरतपुर महानगर समितिका सभापतिसमेत हुन् ।

अझै पनि यो मुद्दा अख्तियारमा विचाराधीन नै रहेको अवस्थामा उनलाई सत्ता गठबन्धनले कांग्रेसका तर्फबाट उपमेयर उम्मेदवार बनाएको हो । उनको फाइल अख्तियार हेटौंडा कार्यालयले केन्द्रमा पठाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी ९उपसचिव० विष्णु सापकोटाले जानकारी दिए ।

‘उजुरीमाथि अनुसन्धान सकेर प्रतिवेदन तयार भएको छ । आवश्यक निर्णयका लागि केन्द्रमा पठाएका छौँ,’ उनले भने । अनियमितताको मुद्दा अदालतमा दर्ता भइनसकेकाले उम्मेदवार बन्न अप्ठ्यारो भने नहुने उनले बताए । कांग्रेसबाट जितेको वडाध्यक्ष भए पनि उनी भरतपुर महानगरमा तत्कालीन मेयर रेणु दाहालका निकट थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हैटौंडाको टोलीले गत वर्ष वडा अध्यक्ष चित्रसेन अधिकारी र उनका छोरा विवेकसेन अधिकारीको नाममा रहेको सिभिल बैंक भरतपुरको खातामा विकासको रकम हालेको भन्दै बैंक स्टेटमेन्ट नियन्त्रणमा लिएको थियो । उपभोक्ता समितिले अधिकारीको खातामा पहिलो पटक एक लाख ७६ हजार रुपैयाँ र दोस्रो पटक २६ हजार रुपैँया गरी दुई लाख ३ हजार रुपैयाँ विकास निर्माणको रकम जम्मा गरेको बैंक स्टेटमेन्टबाट देखिएको थियो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग हैटौँडाका जनकप्रसाद नेपालको टोलीले वडा नं २१ को केचन टोलको दुर्गाबहादुर भट्टराईको घरदेखि गणेश मन्दिरसम्म र गोपाल सापकोटाको घर हुँदै मगर समाजसम्मको बाटो ग्राभेल गरी स्तरान्नति गर्न वडा अध्यक्ष चित्रसेन अधिकारीले उपभोक्ता समितिलाई जिम्मा लगाएका थिए ।

उपभोक्ता समितिमार्फत नै वडा अध्यक्ष अधिकारीले पटकपटक पैसा लिई गुणस्तरहीन काम गरेको उजुरी परेपछि अख्तियारले छानबिनका लागि बाटोकै अनुगमन गरी आवश्यक कागजात नियन्त्रणमा लिई छानबिन अगाडि बढाएको हो । अधिकारीले विकास निर्माणका सबै साना ठूला आयोजनामा बजेटअनुसार कोटा तोकी रकम असुली गर्ने गरेको एक उपभोक्ता समितिका अध्यक्षले बताए ।

आफ्नै हार्डवेयरबाट समान लिन दबाब

अधिकारीले आफैंले डोजर र हार्डवेयर सञ्चालन गरेका छन् । वडाको निकास निर्माणको काममा उनकै डोजर प्रयोग गर्न दबाब दिने मात्रै हैन, उनको हार्डवेयरबाट रड, सिमेन्ट लगायतका सामाग्रीहरू खरिद गर्न उनले दबाब दिने गरेको एक उपभोक्ता समितिका सदस्यले बताए । उनको पसलबाट सामान लैजाने र उनको डोजर प्रयोग गर्ने शर्तमा मात्र उनले विकासका टुक्रे योजनाका लागि बजेट दिने नभए अनेक तरिकाले दुःख दिने गरेको उनको भनाइ छ ।

माओवादीसँग गठबन्धन गरेर उपमेयरको उम्मेदवार बनेका अधिकारीले कम्युनिष्टहरू बढी भएको क्षेत्रमा विकास लागि रकम दिँदैनन् । पुरानो पहारिलोटार, मनिपुर, कञ्चनवस्ती क्षेत्रमा उनले पाँच वर्षमा बजेट नदिएको गुनासो स्थानीयको छ । उनले शंकरचोक प्रावि रतनपुरलाई कक्षा ५ बाट घटुवा गरेर कक्षा ३ मा झारेको भन्दै स्थानीयहरु आक्रोसित बनेका छन् ।

उनी निजी विद्यालय प्याराडाइज इंग्लिस स्कुलका सञ्चालकसमेत हुन् । सरकारी विद्यालय फस्टाउन नदिने, दुःख दिने र नीजि विद्यालयमा आउन बाध्य पार्ने खेलमा अधिकारी लागेको उनीमाथि आरोप छ ।