पाँच दलीय गठबन्धनले आज पोखरामा शक्ति प्रदर्शन गर्ने

पाँच दलीय गठबन्धनले आज पोखरामा शक्ति प्रदर्शन गर्ने


file photo

पाँचदलीय गठबन्धनले आज आइतबार पोखरामा चुनावी सभा गर्दैछ । महानगर र कास्कीलक्षित पालिकाहरुको चुनावका लागि आमसभा आयोजना गरिएको हो ।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरू पोखरा पुग्ने क्रम सुरु भएको छ ।

गठबन्धनले आइतबार पोखराको अमरसिंहचौरमा बृहद चुनावी आमसभा गर्न लागेको हो । चुनावी सभाअघि पोखराका विभिन्न चोकबाट र्‍याली निकालिने बताइएको छ । सभालाई पाँचदलीय गठबन्धनले शक्ति प्रदर्शनको रुपमा लिएको छ । एमालेको बर्चस्व रहेको पोखरामा सत्ता हातमा लिन गठबन्धनका निकै चुनौती छ ।

त्यसो त एमालेबाटै फुटेर बनेको पार्टी एकीकृत समाजवादीका अध्यक्ष धनराज आचार्य पोखराको मेयरका उम्मेद्वार छन् । एमालेबाट कृष्ण थापा चुनाव लड्दैछन् । गठबन्धनको उपमेयर उम्मेद्वारमा कांग्रेस नेतृ कोपिला रानाभाट छिन् ।

यसैबीच, गठबन्धनको सभामा जनता समाजवादी भने सहभागी नहुने भएको छ । जसपाका पोखरा अध्यक्ष राजु क्षेत्रीले गठबन्धनबाट आफ्नो पार्टी अलग भइसकेको बताए । उनले चुनावी सभामा आफ्नो दलको चुनाव चिह्न प्रयोग नगर्न पनि आग्रह गरेका छन् ।