बेल्जियममा नेपाली खाना महोत्सव हुने

बेल्जियममा नेपाली खाना महोत्सव हुने


महोत्सवमा दिनभर साँस्कृतिक कार्यक्रमसमेत आयोजनाको तयार

  • सनत आचार्य, बेल्जियम

बेल्जियमको लुभेनस्थित ब्रुल पार्कमा नेपाली खाना महोत्सव आयोजना गरिने भएको छ । बेल्जियममा रहेका नेपाली व्यवसायीहरूको साझा संस्था नेपाली व्यवसायी संघ (बेल्जियम) र नेपाली राजदूतावासको संयुक्त आयोजनामा यही मे २८ का दिन महोत्सव आयोजना गरिन लागिएको हो ।

महोत्सवका बारेमा जानकारी दिँदै संघका अध्यक्ष यमु निरौलाले प्रवासमा रहेका नेपाली र विदेशीहरूलाई समेत नेपाली खानाका विभिन्न परिकारको स्वाद चखाउने र यसको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो ।

सन् २०१९ मा आफूहरूले पहिलो पटक यस्तो महोत्सव आयोजना गर्दा निकै उत्साहित र प्रेरित भएको स्मरण गर्दै अध्यक्ष निरौलाले सोही प्रेरणाबाट दोश्रो पटक महोत्सव आयोजना गर्न लागेको उल्लेख गर्नुभयो । तर गत दुई वर्ष कोभिड पेन्डामिकका कारण आयोजना गर्न नसकेकोमा अहिले यसको प्रभाव कम भएकोले सतर्कताका साथ पुनः नियमितता दिन लागेको उहाँको भनाइ थियो ।

अध्यक्ष निरौलाले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको, महोत्सवमा नेपाली खानाका परिकार, पेय पदार्थहरू राखिने र यसका लागि स्टल बुकिङ खुल्ला रहेको बताउनुभयो । उहाँले महोत्सवमा अन्य छिमेकी मुलुकबाट पनि पाहँनाहरू आउने र नेपाली स्वाद चाख्ने जानकारी गराउनुभयो ।

अध्यक्ष निरौलाका अनुसार यो महोत्सवको अर्को राम्रो पक्ष भनेको नेपाल कला–संस्कृतिमा धनी भएकोले त्यसको परिचय र पहिचान दिन महोत्सवमा नेपाली गीत, नाच, विभिन्न जातजातीको पहिचान झल्किने झाँकी तथा पञ्चेबाजा समेत प्रदर्शन गरिने र साँस्कृतिक कार्यक्रमबाट पाहुनाहरूले भरपुर मनोरञ्न लिन सक्ने दाबी गर्नुभयो । यसका लागि युरो नेपाल कलाकार संघलगायत अन्य संघसंस्थासंग समन्वय भैरहेको जानकारी उहाँले दिनुभयो ।

यस्तै, बेनेलुक्सका लागि नेपाली राजदूत गेहेन्द्रराज राजभण्डारीले महोत्सवले नेपालको खाना मात्र नभइ संस्कृतिसमेत प्रवर्द्धन गर्ने भएकोले दूतावास जोडिएको बताउँदै महोत्सवमा नेपालका बारेमा पूर्वपरिचित व्यक्तित्व र नेपालमा लगानी गरिरहेका अन्य बेल्जिकहरूलाई समेत सक्रियता र सहभागिताका लागि आग्रह गरेको बताउनुभयो ।

त्यस्तै, बेल्जियमस्थित विभिन्न कुटनीतिक तथा एसिया नियोग प्रमुखलगायत छिमेकी देशका नेपाली राजदुतहरूलाई समेत सहभागिताका लागि आग्रह गरेको राजदूत राजभण्डारीले जानकारी दिँदै आफूहरू यो महोत्सव पूर्णरूपले सफल हुनेमा विश्वस्त रहेको बताउनुभयो ।

महोत्सव कार्यक्रमका संयोजक चीरनकुमार खवासले आफूहरूले प्रवासमा नेपाली खाना तथा संस्कृतिको प्रवर्द्धन गर्न यो कार्यक्रम आयोजना गर्न पाउँदा अत्यन्त खुसी भएको भावना व्यक्त गर्दै बेल्जियम र यसको छिमेकी देशहरूमा बसोवास गर्ने नेपाली तथा विदेशीहरूलाई महोत्सवमा सहभागी भइ खानाको स्वाद र संस्कृति हेर्न अनुरोध गर्नुभयो ।

व्यवसायी संघका महासचिव मदन दवाडीले कार्यक्रममा झाँकीलगायत विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने भएकोले महोत्सवमा पाल्ने पाहुनाहरूले यसबाट भरपुर मनोरञ्जन लिन सक्ने बताउँदै यो पटक आफूहरूले महोत्सवमा सहभागी दुई जनालाई नेपाल भ्रमणका लागि आतेजाते टिकट दिने, चार जनालाई एक रात बस्नका लागि बेल्जियमका विभिन्न होटलहरूमा व्यवस्था गर्ने र अन्य केहीलाई विभिन्न रेष्टुरेण्टमा दिवा वा रात्रीभोजनका लागि कुपन समेत दिने बताउनुभयो ।

महासचिव दवाडीले यी सबै प्रक्रिया गोलाप्रथाद्वारा पारदर्शी तरिकाले उपलब्ध गराउने जानकारी दिनुभयो ।

बेल्जियमस्थित नेपाली दूतावास र नेपाली व्यवसायी संघ बेल्जियमको संयुक्त आयोजनामा हुन लागेको उक्त महोत्सवमा सांस्कृतिक कार्यक्रम, फेसन शो, पञ्चेबाजा, परम्परागत नेपाली नृत्यसमेत प्रदर्शन गरिने आयोजकहरूले बताएका छन भने सहयोग र सहभागिताका लागि सबैसँग आग्रह पनि गरेका छन् ।

स्मरण रहोस्, ‘नेपाली व्यवसायी संघ’ बेल्जियममा विभिन्न व्यवसाय गर्ने प्रवासी नेपालीहरूको साझा संगठन हो । यसमा करिब ६०० भन्दा बढी नेपाली व्यवसायीहरू आबद्ध छन् ।