पोखरामा ओलीले भने- ‘चुनावमा पाँचवटा बाँदर छन्, मतपेटिका खोस्न सक्छन्’

पोखरामा ओलीले भने- ‘चुनावमा पाँचवटा बाँदर छन्, मतपेटिका खोस्न सक्छन्’


एमाले अध्यक्ष केपी ओलीले पाँचदलीय गठबन्धनलाई पशुपतिको बाँदरसँग दाँजेर मतपेटिका लुट्न सक्ने आरोप लगाएका छन् ।

‘पशुपतिमा फूलपाती लिएर गयौँ भने फूलपातीको टोकरी बाँदरले खोजेर लान सक्छ,’ उनले भने, ‘त्यहाँ त एउटा बाँदर आउँछ । यहाँ (चुनावमा) पाँच वटा छन् । हामी सतर्क हुन जरुरी छ । धाँधलीबाट परिणामलाई तलमाथि हुन दिनुहुँदैन ।’

गठबन्धनले धाँधली गर्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन उनले कार्यकर्तालाई सुझाएका छन् । ‘पाँचदलीय गबठन्धन भोटले जित्ने होइन । भोटले हारेपछि मतपत्र च्यात्ने, चपाउने, निल्ने गर्छन् । के के गर्न सकिन्छ नचाहिँदो त्यही गर्छन्,’ उनी भन्छन्, ‘गठबन्धनमा आफ्ना मात्रै मान्छेलाई प्रवेश गर्न दिने नीति छ । एमालेलाई पार्टी मात्रै होइन लोकतन्त्र जित्ने कुरामा छौं । हामी जनताले दिएको मतबाट जित्ने पक्षमा छौँ । कसैले शान्ति सुब्यवस्थामा खलल पार्न खोज्छ भने, धाँधली गर्न खोज्छ भने हामीले रोक्नुपर्छ । बाकस एकछिन पनि आँखाबाट ओझेलिन दिनु हुँदैन ।’

उनले निर्वाचन आयोग र प्रशासनलाई भयरहित वातावरणमा तटस्थ भएर चुनाव गर्न सुझाए । ‘एमालेलाई प्रशासन र प्रहरीको सहयोग चाहिँदैन । मतदाताबाट सहयोग छ,’ ओलीले भने, ‘तपाईंका सहयोग एमालेलाई चाहिँदैन । तटस्थ निर्वाचन गराउनुस् ।’ उनले गठबन्धन झाडीमा जन्मिएको भन्दै कसैले साथ नदिने टिप्पणी गरेका छन् । ‘परमादेशबाट आएको गठबन्धन हो । कसले फालेको हो थाहा छैन । यस्तो गठबन्धनलाई कसैले साथ दिन्छ भन्ने लाग्दैन,’ उनले भने ।

किसुनजी र गणेशमानले हाँसेर पार्टी छाड्नु भएको थियो ?

यस्तै, फरक प्रसंगमा ओलीले कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले नेपाली कांग्रेस त्यसै नछाडेको बताए । उनले कांग्रेस बिग्रिएका कारण नेताद्वयले जीवनको अन्तिमकालमा पार्टी छाडेको बताए ।

गण्डकी प्रदेशको राजधानी पोखरामा सोमबार आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले दुवै नेता नाच्दै हाँसेर पार्टीबाट ननिस्किएको बताए ।

‘कृष्णप्रसाद भट्टराई (किसुनजी)ले यत्तिकै कांग्रेस पार्टी छाडेका होइनन् । जीवनको उत्तरार्द्धकालमा पार्टी छाड्नुभयो । नेता गणेशमान सिंहले पनि यत्तिकै पार्टी छाड्नु भएको होइन । २००३ सालमा भद्रगोल जेल तोडका नेताले यत्तिकै हाँस्दै हाँस्दै, नाच्दै नाच्दै पार्टी छाड्नुभयो होला ?’, ओलीले भने ।

उनले बिपी कोइराला अहिले भएको भए पनि पार्टी छाड्ने थिए भनेका छन् । यस्तै उनले देश बनाउने पार्टी रहेको बताए । एमाले नीति कार्यक्रम, योजना र देश विकासको संकल्प भएको पार्टी भन्दै उनले पोखरावासीसँग मत मागेका छन् ।