आरजुमाथि अन्तर्घातको बात लागेर कारबाहीमा परेका पुस्करनाथ ओझाद्वारा देउवा भेट्न अस्वीकार

आरजुमाथि अन्तर्घातको बात लागेर कारबाहीमा परेका पुस्करनाथ ओझाद्वारा देउवा भेट्न अस्वीकार


  • मोहन जोशी, धनगढी

०७४ को प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री देउवाका पत्नी आरजु राणा देउवालाई कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा हराउन भूमिका खेलेर अन्तर्घातको आरोपमा कांग्रेसद्वारा कारबाहीमा परेका पुष्करनाथ ओझा स्थानीय तहको निर्वाचनमा पनि खुलेका छैनन् ।

त्यतिखेर आरजु एमाले नेता नारदमुनी रानासँग हारेकी थिइन् । अन्तर्घातको आरोपमा कांग्रेसले ओझालाई साधारण सदस्यबाट पनि निस्कासन गरेको थियो । अहिले पनि उनीमाथिको कारबाही फुकुवा भएको छैन ।

स्थानीय चुनावमा धनगढी उपमहानगर मेयरमा गठबन्धनबाट कांग्रेस नेता नृपबहादुर वड प्रतिस्पर्धामा रहेका बेला ओझा साइलेन्स छन् । जबकि, ०७४ को स्थानीय चुनावमा वडलाई मेयरमा जिताउन ओझा पनि मैदानमा उत्रिएका थिए । तर, अहिले वडलाई सहयोग गर्नु त परैको कुरा बरु आफूनिकटलाई स्वतन्त्र उम्मेदवारमा खडा गरेका छन् ।

आगामी प्रतिनिधिसभा निर्वाचनमा आरजु पुनः सोही क्षेत्रबाट चुनाव लड्ने सम्भावना रहेकाले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको ध्यान पनि धनगढीमा छ ।

आइतबार धनगढी पुगेका उनले सोमबार त्यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । चुनावी जोडघटाउ भइरहँदा देउवाले तिनै ओझालाई भेट्का लागि बोलाएका थिए । तर, कारबाही यथावत रहेको भन्दै ओझाले देउवालाई भेट्न मानेनन् ।

भेट्न आउन नमानेपछि देउवाले ओझासँग फोनमै भए पनि कुरा गर्न चाहेका थिए । फोनमा कुरा गर्न पनि ओझाले अस्वीकार गरेको उनी निकट स्रोतले जनाएको छ ।

ुचुनावअघि नै सल्लाह गरेर हाम्रा पक्षका केही नेतालाई पनि समेटेको भए र नृप (कांग्रेस उम्मेदवार)लाई मेयरमा सहयोग गर्न सकिन्थ्यो,ु ओझाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिले अन्तिम समयमा आएर बिग्रिसकेको माहोल बनाउन सम्भव हुँदैन । त्यसैले अहिले भेटेर पनि काम छैन ।’

ओझाले अब चुनावपछि भेट्न सकिने सन्देश देउवालाई पठाएका थिए ।

ओझा तिनै हुन् जो २०७० मा देउवाले तत्कालीन निर्वाचन क्षेत्र नम्बर ६ (हाल ५) छाड्दा उपनिर्वाचन जितेका थिए । त्यतिखेर देउवा धनगढी र डडेल्धुराबाट चुनाव लडेका थिए । दुव्रै ठाउँबाट विजयी भएपछि उनले डडेल्धुरा रोज्दा धनगढीमा उपचुनाव भएको थियो ।

कुनै बेला कोइराला पक्षधर रहेका ओझा देउवा क्याम्पमा आए पनि गुट निर्माण गरेको आरोप थियो । ०७४ को चुनावमा उनी धनगढीबाट चुनाव लड्न चाहान्थे । तर, देउवापत्नी आरजुले धनगढी रोजेपछि उनी असन्तुष्ट भएका थिए ।

चुनावमा आरजु हारेपछि अन्तर्घातको बात उनै ओझामाथि लागेको थियो ।